
नेको इन्स्योरेन्स लिमिटेड (Neco Insurance Limited) ले आफ्नो अघिल्लो १ः०.२५ अनुपातको हकप्रद सेयर निष्कासनमा बाँकी रहेका २ लाख २५ हजार २६१ दशमलव ३५ युनिट सेयर लिलामीमार्फत बिक्री गर्न लागेको छ। लिलामी आवेदन वैशाख १२ गतेदेखि वैशाख २१ गते, २०८२ सम्म खुला रहनेछ।
कम्पनीले यसअघि फागुन ८ गतेदेखि चैत १४ गतेसम्म हकप्रद सेयर निष्कासन गरेको थियो। सो अवधिमा ५० लाख ३० हजार ९०१ दशमलव ५५ युनिट सेयर योग्य शेयरधनीहरूले आवेदन दिएर पाएका थिए। तर कुल हकप्रद सेयरमध्ये ४.४७ प्रतिशत अर्थात् २ लाख २५ हजार २६१ दशमलव ३५ युनिट सेयर भने योग्य लगानीकर्ताबाट नबिकेका थिए।
यसअघि बाँकी रहेका १७ लाख ९८ हजार ६५६ युनिट हकप्रद सेयरमध्ये अधिकांश बिक्री भइसकेको भए तापनि बाँकी रहेको भाग अहिले लिलामीमा ल्याइएको कम्पनीले जनाएको छ।
लिलामीमा व्यक्तिगत तथा संस्थागत दुवै लगानीकर्ताले आवेदन दिन सक्नेछन्। सामन्य हकप्रद सेयरको लागि न्यूनतम १०० युनिट र प्रवर्तक सेयरको लागि न्यूनतम १,००० युनिट आवेदन दिनुपर्नेछ। लिलामीको न्यूनतम बोलकबोल दर प्रति युनिट १०० रुपैयाँ तोकिएको छ।
यस लिलामीको निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मा सानिमा क्यापिटल लिमिटेडलाई दिइएको छ। इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डले तोकेको सीमाभित्र रहेर आवेदन दिनुपर्नेछ। पूर्ण लिलामीको लागि पनि आवेदन गर्न सकिने भए तापनि नियामकीय सर्तअनुसार युनिट संख्याको सीमा पार गर्न नपाइने व्यवस्था छ।