
भरतपुरस्थित सङ्घीय भरतपुर अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको ५० करोड रुपैयाँभन्दा बढी भुक्तानी नआएपछि २४ प्रकारका स्वास्थ्य परीक्षण सेवा बन्द गरेको छ। चालु आर्थिक वर्षको साउनयता बीमा बोर्डबाट रकम नआउँदा परीक्षणका लागि आवश्यक रिएजेन्ट तथा उपकरण खरिद गर्न नसकिएको अस्पताल प्रशासनले जनाएको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलका अनुसार वैशाख १ गतेदेखि बन्द गरिएका ती परीक्षण अत्यावश्यक सूचीमा नपर्ने भए पनि आर्थिक संकटको प्रत्यक्ष असरस्वरूप सेवा रोकिएको हो। भिटामिन डी, भिटामिन द्यज्ञद्द लगायतका परीक्षण खर्चिलो भएकाले रोकिएको उनले बताए।
बिमा बोर्डले हालसम्म फागुनयता करिब १२ करोड रुपैयाँको भुक्तानी नगरेको र तीन महिनामा एकपटकमात्रै परीक्षण गर्न दिने नीति अपनाएकाले अस्पतालमा परीक्षण सेवा निरन्तरता दिन चुनौती भएको पौडेलले जानकारी दिए। फार्मेसी र ल्याब सामग्री आपूर्तिकर्ताहरूले समयमै सामग्री दिन नसक्ने बताएपछि सेवाहरू बन्द गर्नुपरेको हो।
पौडेलका अनुसार तत्काल रु २५ करोड भुक्तानी भएमा अस्पतालको नियमित सेवा सञ्चालन सहज हुने देखिन्छ। बीमा दाबी भुक्तानीको ढिलाइका कारण कर्मचारीहरूको तलब खुवाउनसमेत समस्या भएको उनले बताए।
अस्पतालको बिमा कार्यक्रम संयोजक लिलाधर पौडेलले गत वर्ष ३७ करोड रुपैयाँ भुक्तानी भए पनि चालु आवमा अझै कुनै भुक्तानी नआएको बताए। हाल अस्पतालले मासिक छ करोडभन्दा बढीको स्वास्थ्य बीमा सेवा दिँदै आएको छ। स्वास्थ्य बीमामा देशकै नमूना मानिएको भरतपुर अस्पतालमा दैनिक १५ सयभन्दा बढी बीमाका बिरामी सेवा लिने गरेका छन्।
बिमा प्रणालीको कमजोरीले उत्कृष्ट स्वास्थ्य संस्था नै संकटमा पर्न थालेको यो घटनाले स्वास्थ्य बीमा कार्यान्वयनमा गम्भीर सुधार आवश्यक भएको संकेत दिएको छ।