विश्वकपमा क्रोएसिया बन्यो तेस्रो, इतिहास रच्दै विदा भयो मोरोक्को

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2022 | 10:40:39 PM मा प्रकाशित

laxmi  sunrise bank

कतारमा जारी फिफा विश्वकप फुटबलमा क्रोएसिया तेस्रो भएको छ । आज तेस्रो स्थानको लागि भएको खेलमा क्रोएसियाले मोरोक्कोलाई पराजित गर्दै तेस्रो स्थान पक्का गरेको हो । मोरोक्को भने चौथो भएको छ । चौथो भए पनि मोरोक्कोले नयाँ इतिहास रचेको छ ।

आज भएको खेलमा क्रोएसियाले मोरोक्कोलाई २-१ गोल अन्तरले पराजित गरेको हो । खेलको ७ औ मिनेटको क्रोएसियाले गोल गर्दै अग्रता लिएको थियो । तर त्यसको २ मिनेटपछि अर्थात् ९ औ मिनेटमा मोरोक्कोले गोल फर्काउदै खेल बराबरीमा ल्याएको थियो । खेलको ४२ औ मिनेटमा क्रोएसियाले गोल गर्दै पुन: अग्रता लिएको थियो । त्यसपछि कुनै गोल हुन नसकेपछि क्रोएसिया २-१ गोल अन्तरले जित्दै विश्वकपमा तेस्रो भएको हो । सन् २०१८ मा क्रोएसिया फाइनलमा फ्रान्ससँग पराजित हुदै उपविजेता बनेको थियो ।

यस पटक क्रोएसिया र मोरोक्को दुवै समुह एफमा थिए । मोरोक्को २ खेलमा जित, र १ मा बराबरी खेल्दै ७ अंक सहित समुह बिजेता बनेर नकआउट पुगेको थियो । त्यस्तै क्रोएसिया १ खेलमा जित र २ खेल बराबरी खेलेर ५ अंक सहित उपविजेताको रुपमा नकआउट पुगेको थियो । समुह चरणमा क्रोएसिया र मोरोक्कोबीचको खेल गोल रहित बराबरीमा रोकिएको थियो । यी दुई टोलीले विश्वकपको पहिलो खेल जुन टोलीसँग खेलेका थिए, अन्तिम खेल पनि सोहि टोलीसँग खेलेर प्रतियोगिता अन्त्य गरेका छन् ।

क्रोएसियाले नक आउटमा जापानलाई पेनाल्टीमा हराउदै क्वाटरफाइनल पुगेको थियो । त्यस्तै मोरोक्कोले नक आउटमा स्पेनलाई पेनाल्टीमा हराउदै क्वाटरफाइनल पुगेको थियो । क्वाटरफाइनलमा क्रोएसियाले ब्राजिललाई पेनाल्टीमा हराउदै सेमिफाइनलमा पुगेको थियो। क्वाटरफाइनलमा मोरोक्कोले पोर्चुगललाई हराउदै सेमिफाइनल पुगेको थियो ।

कतारमा जारी विश्वकप २०२२ को उपाधिको दाबेदार मानिएको पोर्चुगललाई पराजित गर्दै मोरोक्को जारी प्रतियोगिताको सेमीफाईनल पुगेर इतिहास रचेको थियो। मोरोक्को विश्वकप फुटबल प्रतियोगितामा सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन अरब राष्ट्र बन्न सफल भएको थियो। यो नै मोरोक्कोले यस पटक रचेको नयाँ इतिहास हो ।

सेमिफाइनलमा भने क्रोएसिया अर्जेन्टिनासँग र मोरोक्को फ्रान्ससँग पराजित भएको थियो । प्रतियोगिता अन्तर्गत आइतबार उपाधिको लागि फ्रान्स र अर्जेन्टिना भिड्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved