लकडाउनमा पर्यटनः ४१ किलोमिटर पदमार्ग बन्यो, पदयात्री छैनन्

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2020 | 11:17:44 AM मा प्रकाशित

laxmi  sunrise bank

लकडाउनकै बीचमा मूलुकमा ४१ किलोमिटर पदमार्ग निर्माण भएको छ । मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार देशका विभिन्न क्षेत्रमा पर्यटकीय गन्तव्य विकास गर्ने उदेश्यका साथ ४१ किलोमिटर पदमार्ग निर्माण भएको हो ।

दोलखाको खारे–सोतली–च्छोरोल्पा १२ किलोमिटर पदमार्ग निर्माण सकिएको मन्त्रालयले जनाएको छ । कञ्चनजङ्घा आधार शिविर ११ किलोमिटर, मकालु हिमाल आधार शिविर ७ किलोमिटर पदमार्ग पनि लकडाउनकै अवधिमा निर्माण सकिएको छ । ५ किलोमिटर लम्बाइको ढोरपाटन–रुकुम–डोल्पा बोर्डर (यार्सा ट्रेल) को पनि निर्माण सकिएको छ । विश्रामस्थलसहित माईपोखरीदेखि सन्दकपुरसम्म जाने ३ किलोमिटर पदमार्ग पनि बनेको छ । विश्रामस्थलसहित गण्डकी प्रदेशको पञ्चासे क्षेत्रमा पनि ३ किलोमिटर पलमार्ग निर्माणको काम सकिएको पर्यटन मन्त्रालयले जनाएको छ । 

पदयात्री खै ?

सरकारले पदमार्ग निर्माण सम्पन्न गरेको भनेपनि पदयात्रामा जाने पर्यटकको लक्षित समूह भने निर्क्यौल गर्न सकेको छैन । निर्माण सम्पन्न भएपछि आन्तरिक र बाह्य दुवै थरीका पर्यटकलाई पदयात्रामा लैजान सकिने मन्त्रालयको भनाई छ । तर लकडाउनका कारण बाह्य पर्यटक अहिले नै नेपाल आउने सम्भावना कम छ । आन्तरिक घुमघामलाई बढवा दिन सरकारले बजेटमार्फत कर्मचारीलाई घुम्न पठाउने योजना ल्याएपनि सो कार्यक्रम कार्यान्वयन हुन कार्यविधि बन्न नै समय लाग्नेछ ।

कोरोना भाइरसको त्रास कम हुँदै गएपछि आगामी अगष्टबाट पर्यटकीय गन्तव्य खुल्ला गर्नुपर्ने र होटल तथा एयरलाइन्स पनि खुलाउनुपर्ने व्यवसायीको माग छ । सरकार यो मागमा केही सकारात्मक देखिएपनि तत्काल विदेशी पर्यटकका लागि खुल्ला गर्ने मनस्थितिमा भने देखिँदैन । 

पदमार्ग बिग्रिने डर

पर्यटन मन्त्रालयले लकडाउनको अवधिमा ४१ किलोमिटर पदमार्ग निर्माण भएको भनेपनि ती पदमार्ग अधिकांश हिमाली क्षेत्रमा छन् । वर्षात्को समय भएका कारण सरकारले लकडाउन केही खुकुलो बनाएपनि तत्काल पदयात्रामा जाने पर्यटक नहुने व्यवसायीको भनाई छ । 

‘वर्षामा पदमार्ग बनेर केही फाइदा छैन, यस्तो बेलामा पदयात्रामा जाने मान्छे नै हुँदैनन्’ एक जना पदयात्रा व्यवसायीले भने, ‘अब वर्षापछि हिउ पर्छ, त्यतिबेला मानिसहरु जान सक्थे । तर जहाँ जहाँ पदमार्ग बनेका छन्, त्यहाँ कतै माथिबाट कतै तलबाट मोटरबाटो बन्ने क्रम देखिन्छ, यसले भएका पदमार्ग बिग्रिने खतरा छ ।’ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved