मर्जर (गाभ्ने/गाभिने) प्रस्ताव पारित गर्नको लागि नेपाल फाइनान्स Nepal Finance र ललितपुर फाइनान्स Lalitpur Finance ले विशेष साधारणसभा आह्वान गरेका छन् । दुवै संस्थाले जेठ २८ गते भर्चुअल माध्यमबाट सम्पन्न हुने गरि विशेष साधारणसभा आह्वान गरेका हुन् ।
नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई गाभ्ने सम्झौता गरेकोले गाभ्ने गाभिने प्रस्ताव पारित गर्न दुवै संस्थाले साधारणसभा आह्वान गरेका हुन् । १:१ को स्वाप रेसियोमा नेपाल फाइनान्सले ललितपुरलाई प्राप्ति गर्न लागेको हो । अर्थात् ललितपुर फाइनान्सको १०० कित्ता शेयर हुने शेयरधनीले मर्जर पश्चात बन्ने संस्थाको पनि १०० कित्ता नै शेयर पाउने छन् । दुई संस्थाबीच गत पुसमा गाभ्ने गाभिने सम्झौता भएको थियो ।
विशेष साधारणसभामा दुवै संस्थाको सभामा गाभ्ने गाभिनेबारे संचालक समितिले पेश गरेको प्रस्ताव पारित गर्ने, डिडिए प्रतिवेदन तथा स्वाप रेसियो पारित गर्ने, मर्जर कमिटिबाट भएकाकार्य अनुमोदन गर्ने, मर्जर तथा प्राप्तिको लागि यस अघि भएका सम्झौता अनुमोदन गर्ने र सम्झौतामा थप घट गर्नु परेमा संचालक समितिलाई अख्तियारी दिने , प्रबन्धकपत्र नियमावलीमा संशोधन गर्ने र थप संशोधन गर्न आवश्यक परेमा संचालक समितिलाई अख्तियारी दिने, तथा मर्जरपछि संस्थालाई आवश्यक पर्ने कार्य गर्न संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पेश हुने छ ।
मर्जर सम्झौता भएसंगै ललितपुर फाइनान्सको कारोबार रोक्का रहेकोले मर्जर सम्झौता अगाडी कायम शेयरधनीले साधारणसभामा भाग लिन सक्ने छन् । नेपाल फाइनान्सले भने जेठ १९ गते बुक क्लोज गर्ने निर्णय गरेकोएल जेठ १८ गतेसम्म कायम शेयरधनीले मात्र विशेष साधारणसभामा भाग लिन सक्ने छन् ।