युनाइटेड अजोड इन्स्योरेन्सले चालू आर्थिक वर्ष २०८०/ ०८१ को नौ महिनामा २७ करोड ४२ लाख खुद मुनाफा आर्जन गरेको छ।
कम्पनीले चालू आवको उक्त अवधिमा हासिल गरेको उपलब्धि बारे जानकारी दिने क्रममा यसबारे जानकारी दिएको हो। दुई महत्त्वपूर्ण प्रस्ताव पारित गर्नलाई डाकिएको बिशेष साधारणसभालाई संस्थाको उपलब्धि सुनाउने क्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रवन रावलले खुद मुनाफाबारे पनि जानकारी दिएका छन्।
त्यस्तै कम्पनीले जेठ २९ गतेसम्मको अवधिमा बीमालेख जारी संख्या २ लाख २ हजार ६१८, बीमाशुल्क वापत २ अर्ब ३६ करोड ७८ लाख ७७ हजार ९३९ रुपैयाँ आर्जन गरेको छ।
कम्पनीले विगतको वर्षहरुमा भुक्तानी गर्न बाँकी दाबी संख्या पनि घटाएको छ। सो अवधिसम्ममा ८ हजार १८१ वटा दाबीको रकम १ अर्ब २६ करोड ६४ लाख ९४ हजार ५६८ रुपैयाँ दाबी भुक्तानी भएको पनि कम्पनीले बताएको छ।
साथै उसले कोभिड बीमा दाबी बाहेक भुक्तानी गर्न ३ हजार ७३७ वटा बाँकी दाबी संख्या रहेको बताएको छ । यसैगरी, पुनर्बीमा कम्पनीहरुसँगको पुराना हिसाब किताब राफसाफ गरि व्यवसायिक सम्बन्ध सुधार गर्ने कार्यहरु भइरहेको पनि कम्पनीले बताएको छ ।
त्यस्तै, कम्पनीको बिहीबार सम्पन्न बिशेष साधारणसभाले १५ प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव पारित गरेको छ। १५ प्रतिशत हकप्रद बिक्रि पश्चात कम्पनीको चुक्तापूँजी २ अर्ब ४१ करोड ५० लाख पुग्नेछ। निर्जीवन बीमा कम्पनीले चुक्तापूँजी २ अर्ब ५० करोड पुर्याउनु पर्नेछ।
हाल कम्पनीको चुक्तापूँजी २ अर्ब १० करोड छ। त्यस्तै बिशेष साधारणसभाले सञ्चालक समितिमा महिला सञ्चालक ल्याउने प्रस्ताव समेत पारित गरेको छ।