डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २३औं वार्षिक साधारणसभा २०८१ पौष २६ गते चितवनको सौराहामा सम्पन्न गरेको छ। सभामा सञ्चालक समितिका अध्यक्ष दीपक खनालको अध्यक्षतामा वार्षिक प्रतिवेदन तथा अन्य महत्वपूर्ण प्रस्तावहरु पारित गरिएको लघुवित्तले जनाएको छ।
सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनलाई अनुमोदन गर्नुका साथै शेयरधनीलाई ९.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यस निर्णयसँगै संस्थाको चुक्ता पूँजी १ अर्ब ८६ करोड ८२ लाख ८५ हजार पुगेको छ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत शेषरमण आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभयो भने कम्पनी सचिव ज्ञानेन्द्र अर्यालले कार्यक्रम सञ्चालन गरेका थिए। सभामा सहभागी शेयरधनीहरूले राखेका जिज्ञासाहरूको अध्यक्ष दीपक खनालले स्पष्टिकरण दिए।
साधारण सभाले संस्थापक तर्फका तीन जना सञ्चालकहरूको निर्विरोध चयन गरेको छ। कृषि विकास बैंकको तर्फबाट हिमलाल पौडेल, डिप्रोक्स–नेपालको तर्फबाट कैलाश रिजाल, र लुम्बिनी विकास बैंकको तर्फबाट दीपक खनाल निर्विरोध निर्वाचित भएका हुन्।
डिप्रोक्स लघुवित्तले आफ्नो वित्तीय सुदृढता र शेयरधनीको प्रतिफल वृद्धि गर्दै आएको छ। सभामा पारित निर्णयहरूको प्रभावकारी कार्यान्वयनले संस्थाको आर्थिक वृद्धि र विश्वसनीयता थप बलियो हुने विश्वास लिइएको छ।