
शिवम् सिमेन्ट्स लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीका सञ्चालक समितिका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८०/८१ का लागि विभिन्न महत्वपूर्ण प्रस्तावहरू पारित गरेको कम्पनीले जनाएको छ।
सभाले संचालक समीतिले प्रस्ताव गरेको गत आर्थिक वर्षको ९ प्रतिशत लाभांश पारित गरेको छ। जसमा चुक्ता पूँजी रु. ५ अर्ब २ करोड ७० लाखको ८.५५ प्रतिशत अर्थात् रु. ४२ करोड ९८ लाख ८ हजार ५ सय बराबरका ४२,९८,०८५ थान बोनस शेयर रहेको छ भने कर प्रयोजनार्थ ०.४५ प्रतिशतले हुन् आउने नगद लाभांश २ करोड २६ लाख २१ हजार ५ सय नगद लाभांश रहेको छ।
बोनस शेयर वितरणपछि कम्पनीको जारी तथा चुक्ता पूँजी वृद्धि भई रु. ५ अर्ब ४५ करोड ६८ लाख ८ हजार ५ सय पुग्नेछ। त्यस्तै सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति प्रतिवेदन र लेखापरीक्षक प्रतिवेदन पारित गरेको भने आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरेको छ।
शिवम् सिमेन्ट्सले वार्षिक साधारण सभामा पारित निर्णयहरूमार्फत वित्तीय स्थायित्वलाई थप मजबुत बनाउँदै शेयरधनीहरूको हित सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। लाभांश वितरणसँगै कम्पनीको स्थायित्व र लगानीकर्ताको विश्वासलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ।