
एनआइसी एसिया बैंकले आफ्नो २७औं वार्षिक साधारणसभा आगामी फागुन २२ गते आर्मी अफिसर्स क्लब, भद्रकालीमा आयोजना गर्ने भएको छ। माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा बोलाउने निर्णय गरेको हो।
बैंकले सभामा ५ अर्ब रुपैयाँ बराबरको एनआइसी एसिया अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पेश गर्ने जनाएको छ। साथै, आवश्यक नियामक स्वीकृति प्राप्त गर्ने क्रममा कुनै परिवर्तन, संशोधन वा थपघट गर्न निर्देशन प्राप्त भएमा सोहीअनुसार कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि लैजानेछ।
साधारणसभामा बैंकको अधिकृत पुँजीलाई १४ अर्ब ९२ करोड रुपैयाँबाट बढाएर १९ अर्ब ९२ करोड रुपैयाँ पुर्याउने प्रस्ताव समेत पेश गरिनेछ।
साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, तथा सहायक कम्पनीहरू एनआइसी एसिया लघुवित्त वित्तीय संस्था र एनआइसी एसिया क्यापिटलको वित्तीय विवरण पारित गर्ने प्रस्ताव लैजानेछ।
साधारणसभा प्रयोजनका लागि बैंकले फागुन ८ गतेदेखि २२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। फागुन ७ गतेसम्म कायम रहेका शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुने बैंकले जनाएको छ।
एनआइसी एसिया बैंकको यस निर्णयले लगानीकर्ताहरूको ध्यान आकर्षित गरेको छ भने बैंकको वित्तीय सुदृढीकरण रणनीति थप स्पष्ट भएको छ।