बङ्गलादेशबाट मल आउन ढिलाइ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2021 | 01:44:46 PM मा प्रकाशित

laxmi  sunrise bank

बङ्गलादेशबाट खरीद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल ल्याउन ढिलाइ भएको छ । यही पुस २ गते सरकार–सरकारबीच (जिटुजी) मार्फत रासायनिक मल खरीदको सम्झौता भएको १८ दिन बितिसक्दा समेत प्रक्रिया शुरु हुन सकेको छैन । 

सम्झौता गरेर फर्किएको नेपाली टोलीले मल ल्याउने तयारीस्वरुप एलसी (प्रतीतपत्र) खोलेर बङ्गलादेश पठाइसकेको जनाइएको छ । नेपालका तर्फबाट गर्नुपर्ने सबै प्रक्रिया सकिए पनि बङ्गलादेशबाट ढिलाइ भएको कृषि सामग्री कम्पनीले जनाएको छ । 

कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी एलसी खोल्ने प्रक्रिया नसकिएका कारण मल ल्याउन अझै केही समय लाग्ने देखिएको बताउँछन् । उनका अनुसार कम्पनीले सिद्धार्थ बैठकमा एलसी खोलेको ड्राफ्ट बङ्गलादेशलाई पठाइसकिएको छ । बंगलादेशले गरेको ढिलाइका कारण तोकिएको समयमा मल ल्याउन नसकिएको उनी बताउँछन् । 

‘हामीले जति सक्दो छिटो मल ल्याउने तयारीअनुसार काम गरेका छौँ तर उताबाट धेरै ढिलाइ हुँदै आएको छ । सरकारी प्रक्रिया सकिएको दश दिनमा रेल र सडकमार्ग हुँदै मल खरीदको काम सुरु गछौँ’, उनले भने । 

यसअघि नै बङ्गलादेशसँग प्रतिमेट्रिक टन २५९.१९५ अमेरिकी डलरमा मल खरीदको सम्झौता भैसकेको छ । 

जिटुजीमार्फत मल ल्याउन गत कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई स्वीकृति दिएको थियो । मन्त्रालयको निर्देशनअनुसार कम्पनीले मल खरीदको तयारी गरेको थियो ।

तयारीस्वरुप पुस २ गते जिटुजी प्रक्रियामार्फत मल खरीदका लागि कम्पनीका प्रबन्ध सञ्चालक भण्डारी र बङ्गलादेश केमिकल इन्ड्रष्ट्रिज कर्पोरेशनका अध्यक्ष महम्मद एमिन उल अहसनबीच सम्झौता भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved