चिसो मौसमसँग बढ्यो कुखुराको मासु र अण्डाको मूल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2021 | 11:12:52 AM मा प्रकाशित

laxmi  sunrise bank

चिसो मौषम लागेसगैँ बजारमा कुखुराको मासु र अण्डाको मूल्य बढ्न थालेको छ । चिसोको समयमा उत्पादन कम हुने र खपत बढ्दा कुखुराको मासु र अण्डाको मूल्य बढ्नु स्वाभाविक रहेको व्यवसायीहरु बताउँछन् । 

चाडपर्वको समयमा प्रति किलो २ सयदेखि २४० रुपैयाँसम्म बिक्री भएको मासुको मूल्य हाल दोब्बरले बृद्धि भएको हो । चिसोको मौषमा कुखुरा उत्पादनमा कमी हुने र मागमा बृद्धि हुँदा कुखुराको मासुको मूल्यमा बृद्धि भएको नेपाल ह्याचरी संघका अध्यक्ष टिकाराम पोखरेल बताउँछन् । 

‘पहाडी क्षेत्रमा चिसोको समयमा कुखुरा उत्पादन बन्द जस्तै हो, तराई क्षेत्रमा केही व्यवसायीले उत्पादन गरेपनि चिसोमा खासै राम्रो उत्पादन हुँदैनन्, चिसोमा कुखुरा छिटो बढ्दैन भने धेरै मर्ने हुन्छ’, उनले भने, ‘चिसोको समयमा कम उत्पादन हुँदा मूल्य बढेको हो, बजारमा माग धेरै छ, माग अनुसारको कुखुरा दिन नसक्दा प्रत्यक वर्ष चिसो समयमा मूल्य बढ्ने गर्छ ।’

हाल बजारमा कुखुराको मासुको मूल्य ३९० देखि ४ सयसम्म बिक्री वितरण हुँदै आएको छ । स्थान र पसल अनुसार कुखुराको मासुको मूल्य फरक/फरक रहेको पाइन्छ । यसैगरी, बजारमा कुखुराको मासु सगैँ अण्डाको मूल्यमा समेत बृद्धि भएको पाइएको छ । अण्डा उत्पादनमा कमी आएको भन्दै व्यवसायीहरुले आफूखुशी मूल्य लिने गरेको पाइएको छ । 

एक महिनाअघि प्रतिक्रेट ३ सय ९० रुपैयाँसम्म बिक्रीवितरण भएको अण्डाको मूल्य हाल ४ सयदेखि ४२० रुपैयाँसम्म पुगेको छ । पोल्टी व्यवसायीहरु पर्याप्त मात्रामा खण्डा उत्पादन भएको भन्दै खुद्रा व्यापारीहरुले आफूखुशी मूल्य राख्दा मूल्य बढेको देखिएको बताएका छन् ।

‘बजारमा धेरै व्यवसायीहरुले पर्याप्त मात्रामा अण्डा उत्पादन भइरहेको बताएका छन, चिसोको समयमा माग धेरै छ, तर माग धेरै हुँदा अभाव भएको छैन, व्यवसायीहरु आफैले मूल्य बढाएर उत्पादन कम भएको भन्दै आएका छन्’, एक व्यवसायीले भने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved