सम्झौता अवधिमा उखु किसानले पाएनन् पैसा, फेरी आन्दोलनको तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2021 | 12:44:21 PM मा प्रकाशित

laxmi  sunrise bank

२१ दिनभित्र बाँकी सबै बक्यौता रकम भुक्तानी गर्ने सहमति अनुसार आन्दोलन स्थगीत गरेका उखु किसानहरुले सरकारले फेरी धोका दिएको बताएका छन् । आन्दोलनरत उखु किसान र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच २१ दिनभित्र बक्यौता रकम भुक्तानीको गर्नेभन्दै पुस १३ गते चार बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको थियो । तर अन्तिम दिनसम्म पनि सबै भुक्तानी नपाएपछि किसानहरुले धोका भएको बताएका हुन् । 

 सहमति भएको २१ दिनको अवधिमा ३ वटा चिनी उद्योगले जम्मा १४ करोड बक्यौता रकम भुक्तानी गरेको पाइएको छ । किसानहरुले आन्दोलन गर्दा सरासर रकम भुक्तानी गरेका चिनी मिलले आन्दोलन स्थगीत गरेसँगै रकम भुक्तानीमा आलटाल गरेको किसानहरु बताउँछन् । सरकारसँग सम्झौता हुँदा ३३ करोड रकम भुक्तानी भइसकेको थियो, आन्दोलन स्थगीत भएको २१ दिनको अबधिमा जम्मा १४ करोड भुक्तानी गरेर पुनः उखु किसानलाई सरकारले धोका दिन खोजेको उखु किसान संघर्ष समितिका सलार्हीका संरक्षक राकेश मिश्र बताउँछन् । 

चार वटा चिनी उद्योग मध्येमा इन्दिरा चिनी उद्योगले रकम भुक्तानीको सुरु नै नगरेको र भुक्तानी सुरु गरेका उद्योगले पनि भुक्तानीमा ढिलाइ गरेको उनी बताउँछन् । ति चिनी मिलले किसानलाई भुक्तानी गर्नुपर्ने ६५ करोड बढी बक्यौता रकम मध्येमा हालसम्म साढे ४७ करोड मात्र भुक्तानी भएको उनी बताउँछन् । 

सरकारसँग भएको चार बुँदे सहमति अनुसार तोकिएको २१ दिनको अवधि आज सकिदैछ । धेरै बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेतापनि आज बेलुकासम्म सबै रकम भुक्तानी गरिसक्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको उनी बताउँछन् । 

‘किसानलाई भुक्तानी गरेको तथ्यांक मात्र उद्योगीसँग छ, तर अब कुन किसानलाई कति भुक्तानी रकम भुक्तानी गर्न बाँकी छ सोको तथ्यांक अझै उद्योगले हामीलाई दिएको छैन’, उनले भने, ‘२१ दिनभित्र सबै रकम भुक्तानी गरिसक्ने भन्दै हामीसँग सम्झौता गरियो, तर गत सालको गल्ती दोहोरीने सम्भावना देखियो । आज बेलुका सम्म सबै रकम भुक्तानी भएन भने हामी भोली बिहान बैठक बसेर थप आन्दोलनका कार्यक्रम घोषणा गछौँ ।’

कुन उद्योगले कति भुक्तानी गरे ?

उद्योग मन्त्रालयको तथ्यांक अनुसार चार वटा चिनी उद्योगले किसालाई ६५ करोड ३१ लाख बक्यौता रकम भुक्तानी गर्नुपर्ने थियो । किसानले आन्दोलन थालेपछि अर्थात गत मंसिर २८ गतेदेखि हालसम्म तीन वटा उद्योगले ४८ करोड रकम भुक्तानी गरेको जानकारी आएको गृह मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछाने सबैभन्दा धेरै बक्यौता रकम रहेको श्रीराम सुगर मिलले हालसम्म ३१ करोड ८१ लाख बक्यौता रकम भुक्तानी गरेको जानकारी आएको बताउँछन् । 

उद्योग मन्त्रालयले दिएको जानकारी अनुसार ३५ करोड बक्यौता रकम रहेको उक्त मिलले विस्तारै रकम भुक्तानी गर्ने जनाएको उनी बताउँछन् । उक्त मिलको खातामा ४० करोड भन्दा बढी रकम जम्मा भएको छ, केही उखु किसानसँग उखु खरिदको प्रमाण नहुँदा रकम भुक्तानीमा ढिलाई भएको र छिट्टै बक्यौता रकम भुक्तानी गर्ने जनाईएको छ । 

यसैगरी अन्नपूर्ण सुगर मिलको १७ करोड बक्यौतामध्ये हालसम्म ११ करोड ४७ लाख रुपैयाँ किसानलाई भुक्तानी गरिसकेको छ ।

अन्नपूर्ण र इन्दिरा सुगर मिललका सञ्चालक एकै भएपनि उनले हालसम्म अन्नपूर्णको मिलले मात्र बक्यौता रकम भुक्तानी गरेको उनी बताउँछन् । ४ करोड ७० लाख बक्यौता रकम रहेको इन्दिरा सुगर मिलको खातामा १ करोड ५० लाख रकम देखिएपनि भुक्तानी सुरु नभएको उनी बताउँछन् । दुबै मिलले अझैँ ११ करोड बढी बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ । 

८ करोड ४१ लाख बक्यौता रकम रहेको लुम्बिनी सुगर मिलले ४ करोड १६ लाख बक्यौता रकम भुक्तानी गरेको जानकारी आएको उनी बताउँछन् । उनका अनुसार उक्त मिलले ५० प्रतिशतको हाराहारीमा बक्यौता रकम भुक्तानी गरिसकेको छ । किसान र सरकारबीच सहमति हुँदा श्रीराम सुगर मिलले २६ करोड ११ लाख, अन्नपूर्ण तथा इन्दिराले पाँच करोड २६ लाख र लुम्बिनी सुगर मिलले दुई करोड बक्यौता रकम भुक्तानी गरिसकेका थिए ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved