बाराको
निजगढ नगरपालिकामा हावाहुरीले क्षति पुगेको केराको विवरण संकलन गर्न भनेर आएका बिमा
कम्पनीका कर्मचारीहरू विवरण नलिई काठमाडौं फर्किने तयारी गरेपछि निजगढका पीडित किसान
चिन्तित बनेका छन् ।
केरा
बिमा गरेका किसानको क्षति पुगेको केराको विवरण संकलन गर्न भनेर हिमालयन जनरल इन्स्योरेन्स
कम्पनी लिमिटेड काठमाडौं र सिमरा शाखाबाट खटिएका कर्मचारीहरूले केही किसानहरूलाई मात्र
भेटेर अन्य किसानलाई चार पाँच घण्टाभित्र विवरण पेस गर्न खबर गरेपछि क्षतिको विवरण
टिपाउन नपाएर किसानहरू चिन्तित बनेका हुन् ।
हुरीले
क्षति गरेको केराको विवरण संकलन गर्न बिमा कम्पनीका कर्मचारीहरू बुधबार निजगढ आएका
हुन् । ‘किसानलाई जानकारी नै नदिई कर्मचारीहरू आएका रहेछन्,’ किसान गोविन्द खरेलले भने, धेरैको विवरण टिपोट
गर्न छुटेको छ ।’
उनका
अनुसार कर्मचारीले बिमा गरेका निजढका करिब २४२ किसानमध्ये ४०/५० जनाको मात्रै विवरण
लिएका छन् । बाँकी किसानको हकमा भने बुधबार साँझभित्र क्षतिको विवरण पेस गर्नु पर्ने
भनेर खबर छोडेर कर्मचारीहरू फर्किएको उनले बताए । गत १६ बैशाखमा पानीसँगै आएको
हुरीले केराको बोट ढालेर पाँच करोडभन्दा बढी मूल्यको केरा खेती नष्ट भएको उनले बताए
।
स्थानीय
किसानका निजगढमा करिब १२ सय बिगा केरा खेती गरिएकोमा करिव १२० बिघा जमिनमा लगाइएको
केराको बोट ढलेर पूर्णरुपमा क्षति भएको छ । हुरीले भर्खर पसाएको र पाक्ने बेला भएको
केरा सबैभन्दा बढी ढालेको किसानहरूले बताएका छन । केरा पकेट क्षेत्रको रुपमा रहेको
निजगढमा एक बिघा जमिनमा किसानले एक सिजनमा चार देखि ६ लाखसम्म आम्दानी लिँदै आएका थिए
।
निजगढमा केरा खेती गर्ने करिब सात सय किसानमध्ये थोरैले मात्र बिमा गरेको र बिमाबापतको रकम लिन उनीहरूले समस्या व्यहोर्नु परेको किसानहरूको गुनासो छ । गत वर्ष हावाहुरीले क्षति गरेको केराको रकम कम्पनीले अझै भुक्तानी नदिएको किसानले बताएका छन् ।