
नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा चालु आर्थिक वर्षमा आलु खेती गरिने क्षेत्रफल र उत्पादन दुबैमा उल्लेख्य बृद्धि देखिएको छ । कृषि ज्ञान केन्द्र नवलपुरका अनुसार आर्थिक वर्ष २०८१र८२ मा जिल्लामा ३ हजार २१६ हेक्टर क्षेत्रफलमा आलु खेती गरिएको छ । यस क्षेत्रबाट कूल ५९ हजार १२० मेट्रिकटन आलु उत्पादन भएको केन्द्रका सूचना अधिकारी विश्वास काफ्लेले बताए ।
गत वर्षको तुलनामा यस वर्ष ११ हेक्टर बढी क्षेत्रफलमा खेती गरिएको छ भने ७०७ मेट्रिकटनले उत्पादन पनि बढेको छ । अधिकारी काफ्लेका अनुसार आर्थिक वर्ष २०८०र८१ मा ३ हजार २०५ हेक्टरमा आलु खेती गरिँदा ५८ हजार ४१३ मेट्रिकटन उत्पादन भएको थियो ।
कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीका अनुसार विगत चार वर्षमा आलु खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । केन्द्रको तथ्याङ्कअनुसार वर्ष २०७८र७९ मा ३ हजार ११५ हेक्टर क्षेत्रफलमा खेती भएको थियो, जुन १०१ हेक्टरले वृद्धि भई चालु वर्ष ३ हजार २१६ हेक्टर पुगेको छ । यस अवधिमा आलु उत्पादनमा पनि ८ हजार ९६८ मेट्रिकटनको बृद्धि भएको छ ।
कृषि बाली विज्ञ सञ्जय ढकालले नवलपरासी (बर्दघाट सुस्तापूर्व) आलु उत्पादनमा आत्मनिर्भर भइसकेको बताएका छन् । सरकारी तहबाट अनुदान तथा प्रवर्द्धन कार्यक्रम सञ्चालन हुँदा किसान आलु खेतीमा बढी आकर्षित भएको उनले बताए । चालु वर्षमा बीउको लागि ३१ समूह तथा सहकारीलाई ६५ प्रतिशत अनुदानमा ८० लाख बराबरको सहयोग प्रदान गरिएको थियो ।
मध्यविन्दु, कावासोती नगरपालिका र हुप्सेकोट गाउँपालिका क्षेत्र आलु उत्पादनको मुख्य केन्द्र बनेका छन् । यहाँबाट उत्पादित आलु बुटवल, नारायणगढ, काठमाडौँलगायतका सहरमा निर्यात हुने गरेको छ ।