कंक्रिट सडक बनाउन सिमेन्ट बाधक

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 29, 2020 | 04:01:51 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सडकमा कालोपत्रे गर्नुको सट्टा कंक्रिट सडक निर्माणलाई प्रथमिकता दिने भनेपनि कार्यान्वयन भने फीतलो देखिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आर्थिक वर्ष २०७६÷०७७ को पहिलो महिना (साउन) को अन्तिम हप्ता नै कंक्रिट सडक बनाउने योजना अघि बढाएको थियो ।

नेपालमा अहिले भएको सडकको कुल लम्बाई ९० हजार किलोमिटर छ । तर केन्द्र सरकारको मातहतमा भने जम्मा १५ हजार किलोमिटर मात्रै छ । बाँकी ७५ हजार किलोमिटर सडक प्रदेश र स्थानीय तह मातहत छन् । 

किन सुरु भएन कंक्रिट सडकको काम ?

विदेशी अलकत्रा प्रयोग गरेर कालोपत्रे गरिएका सडक भत्किन थालेपछि त्यसको विकल्पमा कंक्रिट सडक बनाउने योजना अघि सारिएको थियो । सडक विभागले सडकको अवस्था अध्ययन गरेर सडकमा कंक्रिट प्रयोग गर्नेबारे टुंगो लगाउने भनेको भएपनि आर्थिक वर्षको ६ महिना बितिसक्दा समेत यसको प्रक्रिया सुरु समेत भएको छैन । 

विभागका प्रवक्ता समेत रहेका उपमहानिर्देशक शिवहरि सापकोटा आन्तरिक बजारमा उत्पादन हुने सिमेन्टको अपत बढाउन यो योजनाको परिकल्पना गरिएपनि महँगो हुने भएकाले ‘एक्सन’मा जान समस्या आएको बताउँछन् । ‘कालोपत्रेभन्दा निकै मँहगो हुने रहेछन्, पूल र वालहरुमा सिमेन्ट नै प्रयोग भईरहेको छ’ उनले भने, ‘अन्यत्र उकालो र अफ्ट्यारो स्थानका सडकमा पनि कंक्रिट नै प्रयोग गरिएको छ ।’ 

भूगोल र मौसमलाई केन्द्रमा राखेर विभागले अध्ययन गर्ने उपर्युक्त ठहरिए कंक्रिट प्रयोग सुरु गरिने उनको भनाई छ । विदेशका सडकमा सट्टा सिमेन्ट प्रयोग हुने गरेको भएपनि नेपालमा भने पुल बाहेक करिब ४ किलोमिटर सडक मात्रै कंक्रिटले बनेका छन् । यो कुल सडकको जम्मा ०.००४ प्रतिशत मात्रै हो । 

खर्च बढी, आयु दोब्बर

कंक्रिट सडक निर्माण गर्दा प्रति घनमिटर २५ देखि ३० हजार रुपैयाँ लाग्ने विभागको भनाई छ । विभागका उपमहानिर्देशक सापकोटा हालकै जस्तो कालोपत्रे गर्दा प्रति घनमिटर १२ देखि १५ हजार रुपैयाँ लाग्ने तर कंक्रिट प्रयोग गर्दा दोब्बर खर्च बढ्ने बताउँछन् । १ किलोमिटर कालोपत्रे सडक बनाउन अधिकतम ५ करोड रुपैयाँसम्म लाग्ने तर १ किलोमिटर कंक्रिट सडक बनाउँदा ७ करोडसम्म खर्च हुने विभागका इन्जिनियरहरुको भनाई छ । 

सडक विज्ञहरु भने पहाडी भेगका सडकमा अलकत्राको ठाउँमा कंक्रिट उपर्युक्त हुने बताउँछन् । कंक्रिट सडक केही महङ्गो पर्ने भएपनि कालोपत्रे सडकको आयुको तुलनामा यसको आयु लामो हुने उनीहरुको बुझाई छ । विभागकै सडक सुरक्षा शाखाका इन्जिनियर दीप बाराही कालोपत्रे सडकको आयु अधिकतम १५ वर्ष हुने तर कंक्रिट सडक ४० वर्षसम्म टिक्ने बताउँछन् । 

हर्षीत उद्योगी एकाएक निराश

सरकारले कंक्रिट सडक निर्माणलाई प्रोत्साहन गर्ने भन्दा खुशी भएका सिमेन्ट उद्योगीहरु अहिले निराश बनेका छन् । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा सडकमा कंक्रिट प्रयोग गर्दा महँगो हुने भनेर सरकारले अर्बौ रुपैयाँ विदेश पठाएको आरोप लगाउँछन् । कंक्रिट सडक बनाउन सके विदेशबाट अलकत्रा ल्याउदा विदेशीने अर्बौ रुपैयाँ बच्छ भनेर सरकारले नसोचेको उनको भनाई छ । 

सरकारकै कारण सिमेन्ट महँगो भएको भन्दै उद्योगीहरुले कहिले कंक्रिट सडक बनाउने, कहिले सिमेन्ट निर्यात गर्ने लगायतका हल्ला पिटेर नीतिगत सुधार भने नगरेर राज्यलाई योगदान दिने उद्योगीलाई निराश बनाएको बताउँछन् । करको भार कम गरे सिमेन्ट आफैँ सस्तो हुने भन्दै उनीहरुले लागत कम पर्ने वातावरण सरकारले बनाइदिनुपर्ने बताएका छन् । 

हाल नेपालमा सञ्चालित सिमेन्ट उद्योगसँग वार्षिक १४० लाख टन सिमेन्ट उत्पादन गर्ने क्षमता छ । तर १२० लाख टन मात्रै उत्पादन भईरहेको छ । 

यसअघिः

अलकत्राको सट्टा कंक्रिट सडकः व्यवसायी खुशी, सरकार भन्छ,‘मूल्य घटाउ’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved