निर्माणाधिन ९ आयोजना, जसले फेर्न सक्छन् काठमाडौँको स्वरुप

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 23, 2020 | 03:23:34 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले काठमाडौँ उपत्यकालाई विश्वस्तरीय शहरको रुपमा विकास गर्न अघि सारेका दर्जनौ आयोजना अलपत्र प्राय छन् । धार्मिक सम्पदाको शहरका रुपमा चिनिने काठमाडौँ विश्वका घुम्न लायक शहरको सूचीमा पनि पर्दै आएको छ । तर, विश्वस्तरीय शहर बनाउन परिकल्पना गरिएका विकासे आयोजनाहरु सबैजसो अलपत्र छन् । 

उपत्यकाका २ वटा महानगरपालिका काठमाडौँ र ललितपूर तथा केन्द्र सरकारले संयुक्त रुपमा काम गर्ने भनिएका विकास आयोजनाहरुमा कुनै तहको आँखा नपर्दा कतिपय घोषित आयोजनाहरुको कामसुरु हुन सकेको छैन । सडकलाई चौडा गर्ने, जाम हुने ठाउँमा फ्लाईओभर निर्माण गर्ने, मेट्रो र मोनोरेल चलाउने, उपत्यकाभित्र ४ वटा आधुनिक शहर निर्माण गर्ने र मनोरञ्ज पार्क निर्माण गर्ने जस्ता योजनाहरु अहिले कागजमा मात्रै सिमित भएका छन् । 

१) ४ आधुनिक शहर

सरकारले उपत्यकाका ३ जिल्लामा ४ वटा नयाँ आधुनिक शहर बनाउने उद्घोष गरेको धेरै पहिल्यै नै हो । भक्तपुरमा २ वटा, काठमाडौँ र ललितपुरमा १/१ वटा आधुनिक शहर निर्माण गर्ने जिम्मा उपत्यका विकास प्राधिकरणले पाएको छ । प्राधिकरणले तयार पारेको ४ वटै शहरको विस्तृत परियोजना अध्ययन (डीपीआर) अनुसार यी ४ शहरको निर्माण लागत ४ खर्ब ८२ अर्ब रुपैयाँ देखिएको छ ।

प्राधिकरणले ६ महिना अघि नै ४ मध्ये  ३ वटा शहरको डीपीआर स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाएको छ । काठमाडौँ इशान (भक्तपुर), काठमाडौँ आग्नेय (भक्तपुर) र काठमाडौँ हरि (काठमाडौँ) को डीपीआर मन्त्रिपरिषद्मा पुगेको भएपनि अहिलेसम्म स्वीकृति नपाएको प्राधिकरणले जनाएको छ । काठमाडौँ नैऋत्यको डीपीआर भने तयार भएपनि मन्त्रिपरिषद्मा पुगेको छैन ।

डीपीआरमा इशानको लागत ३ खर्ब ८२ अर्ब, आग्नेयको ४० अर्ब र नैऋत्य र हरित शहर निर्माणमा ३०/३० अर्ब रुपैयाँ खर्च हुने देखिएको छ । प्रस्तावित यी शहरमा साइकल लेन, अन्डरग्राउन्ड, आकाशे पुल, मनोरञ्जन पार्क, सपिङ मल, आवास, स्वीमिङ पुल, शिक्षालय, स्वास्थ्य पूर्वाधार आदि बन्ने छन् ।

२) २९ तले भ्यू टावर

उपराष्ट्रपति नन्दबहादुर पुनले २०७२ कात्तिक २५ गते पुरानो बसपार्कमा २९ तले काठमाडौँ भ्यू टावरको शिलान्यास गरेका थिए । २०७५ भदौमा निर्माण सम्पन्न गरिसक्नुपर्ने भएपनि बल्ल जमिनमाथिको काम थालिएको छ । निर्माण सम्पन्न गर्नुपर्ने अवधिको २ वर्ष गुज्रिएपनि निर्माणको जिम्मा पाएको जलेश्वर, स्वच्छन्द र बिकोइ विल्ड्र्सले बल्ल जमिनमाथिको काम थालेका छन् ।

२०६८ असार २६ मा नगरपरिषद् बैठकले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा बस टर्मिनल, होटल, रेस्टुरेन्ट, फिटनेस हल, सेमिनार हल, स्वीमिङ पुल, सपिङ सेन्टर लगायत पूर्वाधार रहने गरी बहुउद्देश्यीय टावर निर्माण गर्ने निर्णय गरेको थियो ।

३) तीनकुनेमा बुद्ध पार्क 

काठमाडौँ महानगरपालिकाले तीनकुनेमा बुद्धपार्क (शान्ति मण्डल) निर्माण गर्ने योजना बनाएको छ । महानगरको चालु आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा शान्ति मण्डल बनाउने भनेपनि जग्गाको मुआब्जा विवाद कायम रहँदा निर्माणको सुरुवात हुन सकेको छैन ।

महानगरका अनुसार डिजाइन तयारी अवस्थामा छ । मुआब्जा वितरणको काम सकिनासाथ निर्माणको काम सुरु हुने बताईएको छ । अहिले निर्माणको काम सुरु हुन नसकेपनि यो बुद्ध पार्क निर्माणको काम प्राथमिकतामा नै रहेको महानगर स्रोत बताउँछ ।

तीनकुनेमा पार्क बनाउने योजना भने २०३२ सालकै हो । ५० रोपनी खाली जमिनमा हिन्दू र बौद्ध धर्मको मर्म ‘फ्युजन’ हुने गरी पार्कका तीन कुनामा ब्रह्मा, विष्णु र महेशको प्रतीक राखिने गरि डिजाइन तयार पारिएको छ ।

१ अर्ब २५ करोड रुपैयाँ निर्माण लागत लाग्ने अनुमान गरिएको यो पार्क निर्माण गर्न चीनको छेन्दु महानगरपालिकाले पनि चासो देखाएको छ । 

४) अर्वान केवलकार

काठमाडौँको शहरमाथि केवलकार बनाउने योजना पनि नयाँ होइन । उपत्यकामा उपत्यकामा सिटी अर्वान केवलकार बनाउने सम्बन्धमा प्रारम्भिक रिपोर्ट पनि सार्वजनिक भईसकेको छ । लगानीकर्ता नभेटिएका कारण काम अघि बढ्न सकेको छैन ।

फ्रान्सका दुई वटा कम्पनीले लगनखेल–जमल, टंकेश्वर–गोंगबु, कलंकी–रत्नपार्क र बौद्ध–विष्णुमतीमा केवलकार सञ्चालन गर्न सकिने रिपोर्ट निकालेका थिए ।

५) ३ स्थानमा बहुतले पार्किङ

काठमाडौँ महानगरपालिकाले ३ स्थानमा बहुतले पार्किङ निर्माण गर्ने घोषणा गरेको थियो । खुल्लामञ्च र लैनचौरमा भूमिगत बहुतले र धर्मपथमा जमिनमाथि बहुतले पार्किङ बनाउने घोषणा भएपनि खुल्लामञ्च र लैनचौरमा पार्किङ स्थल निर्माण गर्दा खुला ठाउँ मासिने भनेर आलोचना पनि भईरहेको छ ।

यस्तो पार्किङ बनाउन खुल्लामञ्चमा ३ अर्ब र लैनचौरमा ७५ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अध्ययनले देखाएको छ । 

६) मेट्रो र मोनोरेल

उपत्यकाका २ वटा महानगरपालिका काठमाडौँ र ललितपुर महानगरपालिकाले मेट्रोरेल र मोनोरेल चलाउने योजना बनाएका छन् । निर्वाचनको दौडमा नागरिकसँग भोट माग्ने बेलामा नै काठमाडौँका मेयर विद्यासुन्दर शाक्य र ललितपूरका मेयर चिरिबाबु महर्जनले मोनेरेल र मेट्रो रेलको सपना बाँडेका थिए । तर, निर्वाचन भएको ४ वर्ष बितिसक्दा पनि विस्तृत परियोजना अध्ययन (डीपीआर) तयार पार्ने प्रक्रिया पनि अघि बढेको छैन । 

चिनियाँ कम्पनीले काठमाडौँको चक्रपथ (रिङरोड) मा रेल कुदाउन सकिने निष्कर्ष निकालेको पनि थियो । तर, अहिलेसम्म चक्रपथ विस्तारको काम नै लथालिङ्ग छ ।

७) आधुनिक धरहरा

भूकम्पका बेला भत्किएको ९ तले धरहरा अहिले तीव्र गतिमा नवनिर्माण भईरहेको छ । १५ तल्लाको ढलानको काम सकिएको यो अत्याधुनिक धरहराको निर्माण लागत ३ अर्ब ४५ करोड रुपैयाँ तोकिएको छ । 

जीआईईटीसी रमन जेभीले पुरानै डिजाइनमा धरहरा बनाइरहेको छ । निर्माण सम्पन्न भएपछि यो धरहरा बाहिरबाट ११ तलाको देखिनेछ । तर, यसको भित्री संरचना भने २२ तलाको हुनेछ । यसको परिसरमा वाटर फाउन्टेन, म्युजियम, थिएटर, बगँैचा, भूमिगत पार्किङलगायत सुविधा हुनेछ । 

८) भित्री र बाहिरी चक्रपथ 

काठमाडौँ उपत्यकाको भित्री चक्रपथ विस्तार गरेर आठ लेनको बनाउने र चार लेनको बाहिरी चक्रपथ बनाउने भनिएको २ दशक नाघिसक्यो । तर बल्ल कलंकी–कोटेश्वर खण्ड ८ लेनको बनेको छ । तर, यही चक्रपथको कलंकीदेखि नयाँ बसपार्क, चाबहिल हुँदै कोटेश्वरसम्मको खण्ड विस्तार भने कहिले हुने हो टुंगो छैन । 

२७ किमी भित्री चक्रपथ १० वर्षभित्र विस्तार गर्ने लक्ष्य थियो । भित्रि चक्रपथको १६.१ किमी खण्ड विस्तार हुन बाँकी छ । सडकको दायाँबायाँ सर्भिस लेन, बगैँचा, नौ वटा आकाशे पुलसहित भित्रि चक्रपथ आठ लेनमा विस्तार गर्न १३ अर्ब रुपैयाँ लाग्ने अनुमान थियो । तर, चीन सरकारको सहयोगमा एक खण्ड विस्तार भएपनि दोस्रो खण्ड भने अझै अन्यौल छ ।

काठमाडौँ उपत्यकाको स्वरुप नै परिवर्तन गर्ने भनेर दाबी गरिएको बाहिरी चक्रपथ निर्माणको काम अहिले आएर सरकारको प्राथमिकतामा पर्न छोडेको छ । यसअघि नक्साङ्न गरिएका क्षेत्रमा धमाधम बस्ति विकास भईरहेका छन् । २०५८ सालदेखि यो परियोजना निर्माण हुने चर्चा चलेपनि हालसम्म लगानीकै अत्तोपत्तो छैन ।

६ अर्ब बढीको लागत लगानी बोर्डबाट स्वीकृति गर्नुपर्ने हुन्छ । बोर्डमा प्रस्ताव गएपछि प्राथमिकतामा परेको छैन । यसअघि ७२ किमी लामो बाहिरी चक्रपथको निर्माणको जिम्मा चिनियाँ कम्युनिकेसन पूर्वाधार कम्पनी (सीसीसीसी) लाई दिने निर्णय गरिसकेको छ । 

९) बाग्मती सम्पदा मार्ग

सरकारले सम्पदाको शहरको रुपमा रहेको काठमाडौँमा अझ बढी पर्यटकको बसाई अवधि लम्ब्याउन सम्पदा मार्गको अवधारणा ल्याएको छ । सोही अनुसार अहिले थापाथलीदेखि टेकु दोभानसम्म २.५ किमी लम्बाईको सम्पदा मार्ग निर्माण भईरहेको छ ।

हनुमान ढोकादेखि स्वयम्भूसम्म पनि सम्पदा मार्ग विस्तारको काम अगाडि बढेको छ । यसले काठमाडौँ नजिकै घुमफिरको गन्तव्य विकास हुने र नेपाल घुम्न आउने विदेशी पर्यटकको बसाइ अवधि लम्बिने विश्वास लिईएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved