कसले बढायो फलामे डण्डीको भाउ ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 28, 2020 | 11:41:50 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्माण व्यवसायीहरुले विकास निर्माणका काम हुने सिजनामा नै डण्डीको मूल्य बढेको प्रति आपत्ति जनाएका छन् । तयारी डण्डी आयात गर्दा ३० प्रतिशत भन्सार शुल्क तिर्नुपर्ने र ब्लेट मात्रै आयात गर्दा ५ प्रतिशत भन्सार तिर्नुपर्ने भएपनि नेपालका उद्योगी र व्यवसायीले गलत नियत राखेर डण्डीको भाउ बढाएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह बताउँछन् ।

‘डेढ महिना अघिसम्म ५७ देखि ६२ रुपैयाँ प्रति किलो पर्ने डण्डीको भाउ अहिले बढाएर ८२ रुपैयाँ पुर्याइएको छ’ अध्यक्ष सिंह भन्छन्, ‘अन्तराष्ट्रिय बजारलाई देखाएर यहाँका उद्योगीहरुले मनलाग्दी मूल्य बढाए । जबकी अहिले बिक्रि भईरहेको डण्डी लकडाउनको बेलामा बिक्रि नभएको स्टक डण्डी हो, पूरानै डण्डीको पनि नयाँ मूल्य लिएर बिक्रि भईरहेको छ ।’

लकडाउन पछि कच्चा पदार्थ पगालेर, ब्लेड तयार गरेर डण्डी तयार हुने बेला नै नभएको तर ‘एलसी’ को घोषित मूल्य परिवर्तन गरेर पूराना डण्डीलाई नयाँ मूल्यमा बिक्रि गरिएको निर्माण व्यवसायीको आरोप छ ।

‘गुनासो गर्दैमा अन्तराष्ट्रिय बजारको भाउ घट्दैन’

डण्डी उद्योगीहरुले भने फलामे छडको भाउ पनि सुनको भाउ जस्तै भएको बताएका छन् । अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढ्दा नेपालमा पनि बढ्ने र घट्दा यहाँ पनि घट्ने भएकाले डण्डीको मूल्य पनि यस्तै भएको उद्योगीहरुको भनाई छ ।

‘डण्डीको भाउ पनि सुनको भाउ जस्तै हो, यहाँ स्टक हुनु र नहुनुले कुनै अर्थ राख्दैन’ नेपाल स्टिल तथा रोलिङ मिल एसोसिएसनका वरिष्ठ उपाध्यक्ष किरण साख भन्छन्, ‘गुनासो पनि रियालिटी वेशमा हुनुपर्यो, यहाँ गुनासो गरेको भरमा अन्तराष्ट्रिय बजारको भाउ त घट्दैन । विदेशी बजारमा मूल्य कति आकाशिएको छ भनेर हेरे सबै थाहा हुन्छ ।’

उनले अन्तराष्ट्रिय बजारमा पेट्रोकेमिकल लगायत सबै कच्चा पदार्थको मूल्य बढिरहेकाले त्यसको प्रत्यक्ष असर नेपालमा पनि परेको बताए । हिजो मूल्य घटेको समयमा लागत धेरै लगाएर उत्पादन गरेको स्टक डण्डीहरु लागतभन्दा कम मूल्यमा बिक्रि गरेको स्मरण गर्दै उनले विदेशबाट कच्चा पदार्थ आयात गरेर सञ्चालन हुने उद्योगहरु विदेशी बजारको प्रभावमा स्वतः पर्ने बताए । यसलाई नेपाली उद्योगीको बदमासीका रुपमा चित्रण गरिए गलत हुने साखको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved