एकाएक कसरी बढे अपार्टमेन्टमा बस्नेहरु ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2021 | 11:45:32 AM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो

नेपाली निर्माण क्षेत्रमा भूकम्पपछि थलिएको अपार्टमेन्ट निर्माणको कामले पुनः गति लिन थालेको छ । भूकम्पपछि काठमाडौँ लगायतका शहरमा साना घरहरु नै बढी सुरक्षित हुँदा रहेछन् भन्ने चेतना विकास भएको थियो । तर, अहिले त्यतिबेलाको मनोवैज्ञानिक त्रास क्रमशः हट्दै गएपछि मानिसहरु गगनचुम्बी भवनमा बस्ने क्रम पनि बढेको छ ।

यसैको फाइदा उठाउँदै डेभलपर कम्पनीहरु नयाँ परियोजना विकास गर्न तम्सिएका हुन् । नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य मीनमान श्रेष्ठ अहिले मानिसहरुले बस्नको लागि अपार्टमेन्ट खोज्न थालेको बताउँछन् । भूकम्पपछि आवास विकास कम्पनीहरु अपार्टमेन्ट बनाउन छोडेर साना घरहरु निर्माणमा केन्द्रित थिए । तर, मानिसहरुले पुनः अपार्टमेन्टको बसाई रोज्न थालेपछि बिक्रि हुने आशमा व्यवसायीहरु पुनः अपार्टमेन्टमै फर्किएका हुन् ।

भूकम्पअघि ४ हजार ७ सय युनिट अपार्टमेन्ट बिक्री हुन बाँकी थिए । तर, अहिले अपार्टमेन्टको स्टक सकिने क्रममा छ । त्यही भएर नयाँ योजनाहरु ल्याउन थालिएको अध्यक्ष श्रेष्ठको भनाई छ । 

कहाँ कहाँ बन्दैछन् अपार्टमेन्ट ?

गुण समूहले लाजिम्पाटमा कमर्सियल र सुकेधारामा रेसिडेन्सियल अपार्टमेन्ट बनाउँदैछ । दुई र तीन बेडरुम भएका ८८ युनिट अपार्टमेन्ट बिक्रीका लागि तयारी हुने क्रममा रहेको गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यको भनाई छ । 

लामो समय अपार्टमेन्टको बजारबाट बाहिर रहेको गुण समूह एकाएक पुनः बजार प्रवेश गरेको हो । यो समूहले सुपर बिल्डरले तयार पारेको तर बिक्रि गर्न नसकेको सनसाइन अपार्टमेन्ट ३ वर्ष अघि खरिद गरेको थियो । यति मात्र नभई आजभन्दा करिब १० वर्ष अघि तयार पारेको २ वटा व्यवसायीक अपार्टमेन्ट आर्थिक संकटका कारण बिक्रि गरेको यो समूहले अहिले लाजिम्पाटमा ४० युनिट अपार्टमेन्ट बिक्री गर्दैछ ।

त्यतिबेला बिक्रि गरेको २ वटै अपार्टमेन्ट गुण समूहले पुनः आफैले किनेको हो । नेकपा युवा नेता एवम् प्रतिनिधिसभा सदस्य किसान श्रेष्ठबाट प्रभु समूहको पोल्टामा पुगेका यी १० तल्ले २ टावर ४० युनिट छन् ।

सीई समूहले निर्माण गरिरहेको राष्ट्रपति भवन शितलनिवास अगाडीको भव्य अपार्टमेन्ट निर्माणको अन्तिम चरणमा पुगेको छ । उक्त अपार्टमेन्टका ५० ईकाई बुकिङ भईसकेका छन् । भूकम्पपछि काठमाडौँमा बनेको अपार्टमेन्ट यो नै एउटा मात्रै हो ।

यो समूहका अध्यक्ष विजय राजभण्डारीले आफ्नो समूहले थापाथलीमा पनि अपार्टमेन्ट बनाउन लागेको जानकारी दिएका छन् । कोरोनाका कारण समयमा नै काम सुरु हुन नसकेको यो परियोजनाबाट ४० इकाइ अपार्टमेन्ट उपलब्ध हुने विश्वास लिईएको छ । निर्माण नै सुरु नभएको यो परियोजनाका सबै इकाई बिक्रि भईसकेका छन् ।

डाउनटाउन हाउजिङ कम्पनीले पनि यसै वर्षबाट निर्माणको थालनी गर्नेगरी ललितपूरको चाकुपाटमा भव्य अपार्टमेन्ट टावर उभ्याउँदैछ । ८० इकाई रहने यो अपार्टमेन्टमा डाण्नटाउन हाउजिङको एकल लगानी रहने बुझिएको छ ।

यस्तै कुपण्डोल हाइटमा पनि लक्जरियस अपार्टमेन्ट बन्दैछ । चौधरी समूहले सञ्चालन गरिरहेको समिट होटलमा सुपर लक्जरियस अपार्टमेन्ट बन्ने भएको हो ।चौधरी समूह र एनई समूहले काठमाडौँको कान्तिपथमा अर्को सुपर लक्जरियस सर्भिस अपार्टमेन्ट र रेसिडेन्सियल अपार्टमेन्ट बनाउने भएका छन् । 

काठमाडौँ बाहिर पनि अपार्टमेन्टमा लगानी बढ्दो

काठमाडौँ बाहिर पोखरामा अझ ठूला क्षमताका अपार्टमेन्ट बन्दैछन् । कम्फर्ट गुडविल डेभलपर्सले पोखरा रेसिडेन्सी नामक अपार्टमेन्ट तयार गर्दैछ । महेन्द्र पुल नजिकै ६ रोपनी क्षेत्रफलमा फैलिएको यो अपार्टमेन्छ १० तले बन्नेछ ।

१ अर्ब ५० करोड रुपैयाँ लगानी हुने गरी परियोजनाको निर्माण थालनी भएको झण्डै ३ वर्ष पुग्न लाग्यो । यसमा १०७ इकाई रहनेछन् । हाल निर्माणकै चरणमा रहेको यो अपार्टमेन्टका सबै इकाई बुकिङ भइसकेका छन् । कम्फर्ट गुडविल डेभलपर्स कम्पनीका निर्देशक गुडाखर सापकोटाका अनुसार यो अपार्टमेन्टमा १० जनाको लगानी छ ।

यस्तै पर्यटकीय नगरीका रुपमा विकास हुँदै आएको भैरहवामा पनि अपार्टमेन्ट बन्दैछ । मिनी शरहको अवधारणा अनुसार ‘द हब लुम्बिनी’ परियोजनाभित्र सीई समूहले अपार्टमेन्ट बनाउन लागेको हो । यो समूहले सोही ठाउँमा एस होटल समूहसँगको सहकार्यमा होटल पनि बनाउने भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved