१३ स्मार्ट सिटीको ‘मास्टर प्लान’ बन्यो, कहाँ कहाँ बन्दैछन् आधुनिक शहर ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 06, 2021 | 09:42:10 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आधुनिक शहरका रुपमा विकास गर्ने भनेर स्मार्ट सिटी बनाउन छानेका १३ ठाउँको गुरु योजना तयार भएको छ । शहरी विकास मन्त्रालय अन्तर्गतको नयाँ शहर आयोजना समन्वय कार्यलयले स्मार्ट सिटीका लागि छानिएका १३ ठाउँको गुरु योजना तयार पारेको हो । अब यो कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।

कहाँ कहाँ बन्दैछन् स्मार्ट सिटी ?

आर्थिक वर्ष २०७३/०७४ को बजेटमार्फत पहिलोपटक स्मार्ट सिटीको अवधारणा ल्याईएको थियो । सो वर्ष पहिलो चरणका रुपमा ‘पाइलट प्रोजेक्ट’ भनेर ३ ठाउँमा स्मार्ट सिटी बनाउने भनिएको थियो । निजगढ, पालुङटार र लुम्बिनीलाई स्मार्ट सिटी बनाउने घोषणा गरिएको उक्त वर्षबाट अन्य क्षेत्रमा पनि स्मार्ट सिटी बनाउनुपर्ने आवाज चर्कोसँग उठ्यो ।

विशेषगरी नेपाल जग्गा तथा आवास विकास संघले आवाज उठाईरह्यो । अपार्टमेन्टसँगै मझौला घरहरु निर्माण गर्ने व्यवसायीहरुले स्मार्ट सिटीको अवधारणा राम्रो रहेको भन्दै यसलाई बृहत बनाईनुपर्ने उनीहरुको आवाजमा सरकारले पनि साथ दियो । फलस्वरुप आर्थिक वर्ष २०७४÷०७५ मा स्मार्ट सिटीको संख्या थप गरियो ।

थपिएका स्मार्ट सिटीहरुमा गोरखाको पालुङटार, स्याङ्जाको वालिङ, चितवनको भरतपुर, सिरहाको मिर्चैया, रौतहटको चन्द्रपुर, दाङको तुल्सिपुर, काभ्रेपलाञ्चोकको काभ्रे, दैलेखको दुल्लु, डढेल्धुराको अमरगढी, कैलालीको टिकापुर र धनकुटा हुन् । हाल देशभर १३ वटा स्मार्ट सिटी बन्दैछन् ।

कस्तो हुन्छ स्मार्ट सिटी ?

विदेशमा स्मार्ट सिटीका थुप्रै उदाहरणहरु छन् । नेपालमा निर्माणाधिन १३ स्मार्ट शहर पनि विदेशबाटै सिकेर बनाउन लागिएका हुन् । अवधारणा आएपनि स्मार्ट सिटी कस्तो हुनुपर्छ त ? भौगोलिक वनावट, विकासको प्रारम्भमा रहेको मूलुक आदिका कारण विदेशका शहर जस्तो नसोचिएपनि आधारभूत सूचकहरु भने पूरा भएपछि मात्रै स्मार्ट सिटी बन्ने विज्ञहरुको भनाई छ ।

‘स्मार्ट सिटी नामले मात्रै हुँदैन, साँच्चिकै स्मार्ट सिटी हुनका लागि भवन, विद्युत, सडक, खानेपानी, स्वास्थ्य, यातायात, शिक्षा, फोहोर व्यवस्थापन, सञ्चारदेखि सरकार र नागरिक पनि स्मार्ट हुनुपर्छ’ विज्ञ भन्छन् ।

यी आधारभूत सूचकहरु भएपनि भूवनोट, नागरिकको जीवनस्तर र अर्थोपार्जनका सम्भावना अनुसार स्मार्ट सिटी फरक फरक हुने विज्ञहरुको भनाई छ । 

‘स्मार्ट सिटी भौगोलिक अवस्थिती, सो क्षेत्रका मानिसहरुको जीवनस्तर, अर्थोपार्जनका सम्भावना आदिका कारण फरक फरक हुन सक्छन्’ पूर्वाधारविद् इ. ठाकुर शर्मा भन्छन्, ‘पहिलो सर्त भनेको चाहिँ स्मार्ट सिटी प्रविधिमैत्री हुनुपर्छ । नागरिकले प्रविधिकै माध्यमबाट हरेक सेवा सुविधा उपभोग गर्न पाउने हुनुपर्छ । अर्को कुरा, ई–गभर्नेन्स स्मार्ट सिटीको महत्वपूर्ण सर्त हो ।’ 

सरकारी सूचक छुट्टै

राष्ट्रिय योजना आयोगले भने ४ वटा सूचक तोकेको छ । यद्यपी, राष्ट्रिय योजना आयोगले पूर्वाधारविद्हरुसँग नै छलफल गरेर सूचक तोकिएको बताएको छ । 

आयोगले आधार बनाएका सूचकहरुमा स्मार्ट जनता, स्मार्ट शासन, स्मार्ट अर्थव्यवस्था र स्मार्ट पूर्वाधार छन् । यी आधारहरुमा सडक, इन्टरनेट, यातायात, खानेपानी, विद्युत, स्वास्थ्य संस्था, पर्यटकीय पूर्वाधारहरु निर्माण गरिने नयाँ शहर आयोजना समन्वय कार्यालयले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved