अस्तित्व गुमाएका ९ अपार्टमेन्टः केही होटल बने, केही महँगा अस्पताल (सूचीसहित)

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 07, 2021 | 10:48:23 AM मा प्रकाशित

laxmi  sunrise bank

तस्बिरः होटल भिभान्ता, झम्सिखेल

भूकम्पपछि मानिसहरु अग्ला भवनमा नभई साना र होचा घरमा बस्न पुगे । किनकी ठूला भवनहरुमा भूकम्पले बढी क्षति गर्ने डरका मानिसहरु साना घरमै रुचाउँथे । तर, विस्तारै भूकम्पको त्रास हट्दै गएपछि मानिसहरु पुनः अग्ला र गगनचुम्बी भवनहरुमा बस्न थालेका छन् ।

काठमाडौँ उपत्यकामा अहिले अपार्टमेन्टको बिक्रि शन्तोषजनक भईरहेको छ । अग्ला भवनमा बस्न रुचाउनेहरुको संख्या बढेसँगै भूकम्पपछिको स्टकका रुपमा रहेका अपार्टमेन्टका ४ हजार बढी इकाई बिक्रि भईसकेको नेपाल जग्गा तथा आवास विकास संघको तथ्यांक छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार पनि अपार्टमेन्टको बिक्री राम्रो देखिएको छ । तर, भूकम्पपछि नयाँ भवनहरु नबन्दा व्यवसायीसँग स्टकको समस्या छ ।

अहिले यस्तो अभावको छनक देखिएपनि एक जमानामा काठमाडौँका अपार्टमेन्ट बिक्रि नै नहुने अवस्था थियो । हजारौँ इकाई अपार्टमेन्ट खाली थिए, तर खरिद गर्ने ग्राहक थिएनन् । फलस्वरुप झण्डै दर्जन अपार्टमेन्टले आफ्नो अस्तित्व नै गुमाए । अपार्टमेन्टबाट अधिकांश गगनचुम्बी भवनहरु होटल बने भने केही अस्पतालमा परिणत भए ।

सानेपाको एल्लो हाउस होटल

सानेपाको विशाल भवनमा रहेको एल्लो हाउस होटल कुनै समयको अपार्टमेन्ट हो । उक्त हाउजिङ होटल संघ नेपाल (हान) का पूर्वअध्यक्ष श्यामसुन्दरलाल कक्षपतिले बनाएका हुन् । तर, व्यवसाय सोचे जस्तो नभएपछि उनले उक्त अपार्टमेन्टलाई एल्लो हाउस होटलमा परिणत गरिदिएका हुन् ।

झम्सिखेलको भिभान्ता होटल

अहिलेको चर्चित मध्येको एक झम्सिखेलको होटल भिभान्ता सुरुमा भिबोर अपार्टमेन्टको भवन हो । हाल चौधरी समूहले सञ्चालन गरेको भिभान्ता होटल बसेको उक्त भवन भिबोर विकास बैंकले निर्माण गरेको हो ।

उपत्यका विकास प्राधिकरणबाट १३ आना क्षेत्रफलमा २७ इकाईको अपार्टमेन्ट बनाउने स्वीकृति पाएको तत्कालिन भिबोर विकास बैंकले अपार्टमेन्ट बिक्रि गरेको हो । अहिले त्यहाँ तारे होटल छ । 

भिबोर विकास बैंक अहिले लुम्बिनी विकास बैंक बनेको छ ।

रबिभवनको होटल क्राउन इम्पेरियल

रविभवनको भव्य भवन, जहाँ अहिले चार तारे स्तरको होटल क्राउन इम्पेरियल बसेको छ । उक्त भवन पनि सुरुमा अपार्टमेन्टकै रुपमा तयार भएको थियो । सो अपार्टमेन्टको नाम सुरुमा अर्किड टावर राखिएको थियो । 

व्यवसायी सुधीरमान मास्केले ४ रोपनी ४ आना क्षेत्रफलमा ४८ इकाई अपार्टमेन्टका लागि स्वीकृति लिएर बनाएको भएपनि पछि डिजाइन फेरेर होटल सञ्चालनमा ल्याइएको हो । 

धुम्बाराहीको होटल आकामा

अहिले तीन तारे स्तरको होटल आकामा रहेको धुम्बाराहीको भवन सुरुमा हेभन्स भिलेज अपार्टमेन्टका रुपमा चिनिन्थ्यो । व्यवसायी हरि श्रेष्ठले बनाउने जिम्मा पाएपनि परियोजना पुरा गर्न नसकेपछि उनले सानिमा समूहलाई बिक्रि गरे । 

गैह्र आवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष जीवा लामिछाने प्रवद्र्धक भएको सानिमा समूहले निर्माणाधिन सो अपार्टमेन्ट खरिद गरेर होटल सञ्चालनमा ल्याएको हो । 

सिल्भरसिटी टावरमा होटल बन्दै

व्यवसायी दीपक मल्होत्राले काठमाडौँको कालिकास्थानमा तयार पार्दै गरेको अपार्टमेन्टलाई होटलमा परिणत गर्दैछन् । सिल्भरसिटी अपार्टमेन्ट छेउको एउटा टावरलाई उनले स्तरीय होटलमा परिणत गर्ने सोच बनाएका हुन् । 

अपार्टमेन्टको माथिल्लो भागमा प्रिमियम रेष्टुरेन्ट एड्रेस लाउञ्ज बार सञ्चालन भईसकेको छ । 

गोल्यान समूहको अपार्टमेन्ट होटल बन्दै

गोल्यान समूहले सोल्टीमोडमा बनाइरहेको ‘द रेसिडेन्सेस’ अपार्टमेन्टमा पाँचतारे होटल बनाउने भएको छ । उक्त अपार्टमेन्टमा रहने २ वटा विशाल भवनमध्ये एउटा भवनमा ‘होटल हायात प्यालेस’ सञ्चालन गर्ने गरी तयारी अघि बढेको बताइन्छ ।

गोल्यान समूहका अध्यक्ष एवम् एनएमबी बैंकका अध्यक्ष पवन गोल्यानका अनुसार पाँचतारे होटल सञ्चालन गरेर गोल्यान समूह हस्पिटालिटी बिजनेशमा प्रवेश गर्न लागेको हो । दुई मध्ये एक टावरमा मात्रै होटल ुञ्चालन हुने भएकाले होटलमा १५६ कोठाहरु हुने छन् ।

सुमार्गी परिवार पनि सुन्धारामा होटल खोल्दै

अपार्टमेन्टकै अवधारणामा निर्माण थालिएको सुन्धारास्थित सिभिल होम्स अपार्टमेन्ट व्यवसायी अजेयराज सुमार्गीले खरिद गरेका छन् । व्यवसायी इच्छाराज तामाङले पाँच वर्षअघि निर्माण सुरु गरेको उक्त अपार्टमेन्ट परियोजना गत साउनमा सुमार्गीलाई बिक्रि गरेका हुन् ।

सिभिल समूहले २३९ युनिट विलासी अपार्टमेन्ट सञ्चालनमा ल्याउने गरी ६ रोपनी क्षेत्रफलमा ११ तलाका तीनवटा टावर निर्माण गर्दै थियो । सो परियोजना नै खरिद गरेपछि सुमार्गीले होटलमा परिणत गर्ने योजना बनाएका हुन् । 

घट्टेकुलोको मेडिकल कलेज

घट्टेकुलोस्थित विशाल अपार्टमेन्टमा मेडिकल कलेज सञ्चालन गर्ने तयारी थालिएको छ । मेडिकल कलेज खोल्ने भनिएपछि डा. गोविन्द केसीको आमरण अनसनका समयमा सरकारसँग आगामी १० वर्ष काठमाडौँ उपत्यकामा कुनै पनि मेडिकल कलेज खोल्न नपाउने भन्ने सहमति भएपछि अहिले उक्त अपार्टमेन्टमा मेडिकल कलेज खुल्ने वा नखुल्ने अन्यौल छ ।

ग्रान्डी अपार्टमेन्टमा ग्राण्डी हस्पिटल

चर्चित ग्राण्डी इन्टरनेशनल हस्पिटल कुनै समय अपार्टमेन्ट थियो । काठमाडौँको टोखास्थित ग्राण्डी हस्पिटल भएको उक्त भवन सुरुमा अपार्टमेन्टका लागि स्वीकृति लिएर बनाईएका थिए । 

परियोजना भित्रको एउटा टावरलाई ग्राण्डी हस्पिटल बनाईएको हो । बाँकी टावर भने अपार्टमेन्टकै अस्तित्वमा छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved