काठमाडौं महानगरपालिकाले सडकको ६० किलोमिटर क्षेत्रमा आधुनिक सडक बत्ति जडान गर्ने भएको छ । मंसिर २५ मा काठमाडौं महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच सहमति पत्रमा हस्ताक्षर गरेसँगै महानगरपालिकाले यो प्रक्रिया अघि बढाएको हो । उज्यालो महानगर बनाउनुका साथै उज्यालो संघीय राजधानीको चिनारी दिने तथा मेयर उज्यालो अभियान अन्तर्गत आधुनिक सडक बत्ति जडान कार्य अघि बढाएको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले जानकारी दिए ।
‘काठमाडौँ महागरपालिकाले आफ्नो क्षेत्र भित्रका करीब ८० स्थानमा उच्च मात्रामा प्रकाश दिनसक्ने बत्ती ९हाइमास्ट लाइट० जडान गर्नेलगायतका केही महत्वपूर्ण कामलाई द्रत गतिमा अघि बढाउने कार्य गरिरहेको छ’ नगर कार्यपालिकाको ५५ औँ बैठकलाई सम्वोधन गर्दै प्रमुख शाक्यले भने, ‘यातायात व्यवस्थापन, शान्ति सुरक्षा कायम गर्न तथा सामाजिक सुरक्षा लगायतका सेवा सुविधाहरुलाई चुस्त दुरुस्त राख्न र सहरी सौन्दर्य अभिवृद्धि गर्न काठमाडौं महानगरपालिका मुख्य–मुख्य सडकमा करीब १७ सय ५० वटा आधुनिक बत्ती जडान गर्न टेण्डर प्रक्रिया छिट्टै जाँदैछ ।’
शाक्यले महानगरपालिका क्षेत्रभित्रका मुख्य–मुख्य सडकहरुमा जडान गरिने आधुनिक सडक बत्तीहरुमा काठमाडौं महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानी रहने जानकारी दिए ।
‘सहमति अनुसार सडक बत्ती जडानमा काठमाडौं महानगरपालिकाको ६० प्रतिशत र नेपाल विद्युत प्राधिकरणको ४० प्रतिशत लगानी रहने छ,’ शाक्यले भने, ‘योसँगै हामी महानगर क्षेत्र भित्रका अन्य ठाउँमा पनि बत्ती जडानको कार्यलाई अघि बढाउँदै आएका छौँ ।’
महानगरपालिका शहरी पूर्वाधार विकास विभाग प्रमुख राम थापाले पहिलो चरणमा विमानस्थलदेखि त्रिपुरेश्वर हुँदै कलंकीसम्म, त्रिपुरेश्वरदेखि महाराजागञ्जसम्म र सिंहदरबार वरीपरी आधुनिक सडक बत्ती जडान गरिने जानकारी दिए ।
‘पुतली सडकदेखि बालुवाटारसम्म र त्रिभूवन विमानस्थलदेखि हायत होटलसम्म पनि पहिलो चरणमै जडान गर्छौ,’ थापाले भने, ‘पहिलो चरणमा ६० किलोमिटर क्षेत्रमा करीब १७ सय ५० बटा बत्ती जडान गर्ने तयारी भएको छ ।’
सहमतिपत्रमा काठमाडौँ महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, नेपाल विद्यूत प्राधिकरणका तर्फबाट कामु कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य र सडक विभागको तर्फबाट महानिर्देशक केशवकुमार शर्माले हस्ताक्षर गरेका थिए ।