सिजनमै सत प्रतिशतले बढाए डण्डीको मुल्य, होङ्सीका कारण सिमेन्टको मुल्यमा राहत

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 11, 2021 | 10:43:13 AM मा प्रकाशित

laxmi  sunrise bank

हरेक वर्ष निर्माणको सिजन हुने वितिक्कै निर्माण सामग्रीको मूल्य आकाशिँदै आएको छ । वर्षात्को सिजन पछि नेपालमा भौतिक निर्माणको सिजन सुरु हुन्छ । तर, वर्षासम्म चुपचाप बस्ने गरेका निर्माण सामग्रीका उत्पादक र बिक्रेताहरु निर्माणको सिजन सुरु हुनासाथ मूल्य बढाउन तीब्रताका साथ लागि पर्छन् । 

कोरोना भाइरसका कारण गत चैतदेखि विकास निर्माणका काम ठप्प प्रायः थिए । त्यसकारण ९ महिनामा निर्माण उद्योगमा मन्दी थियो । तर, मंसिरपछि भने निर्माण क्षेत्रमा केही चहलपहल सुरु भएपछि निर्माण सामग्रीको मूल्य आकाशियो । 

डण्डीको भाउमा भारी वृद्धि

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहका अनुसार उद्योगी र बिक्रेताले मिलेर डण्डीको भाउ अस्वभाविक रुपमा बढाएका छन् । 

‘केही महिनाअघि प्रतिकिलो ६० देखि ६२ रुपैयाँसम्म रहेको डण्डीको भाउ अहिले १०२ रुपैयाँसम्म पुगेको छ’ सिंह भन्छन्, ‘यो मूल्य अझै कति बढाउने हुन् भन्न सकिन्न ।’ 

स्टक रहेको डण्डीको मूल्य समेत नयाँ सूची अनुसार भर्खरै उत्पादन भएको जसरी बिक्रि गरिनु दुःखद भएको अध्यक्ष सिंहको भनाई छ ।

‘लकडाउन खुलेपनि कच्चा पदार्थ ल्याएर नयाँ डण्डी उत्पादन गरेर बजारमा पठाउने बेला नै भएको छैन, तर स्टक रहेको डण्डी पनि विदेशमा मूल्य बढ्यो भनेर नयाँ मूल्य कायम गरेर बेच्न थालेका छन्, यसले निर्माण क्षेत्रमा गम्भीर असर पारेको छ’ उनले भने ।

उत्पादक कम्पनीले भने भारतमै डण्डी उत्पादन गर्ने कच्चा पदार्थ एमएस ब्लडको मूल्य बढेको र त्यसको असर नेपाली बजारमा पनि देखिएको बताउँछन् । 

होङ्सी सिमेन्ट आएपछि राहत

निर्माणको सिजन सुरु भएपछि मूल्य बढ्ने अर्को निर्माण सामग्री हो, सिमेन्ट । तयार भएको सिमेन्ट दुई महिनाभन्दा बढी समय स्टोर गर्न नमिल्ने भएकाले यसवर्ष भने सिमेन्टको भाउ उकालो लागेको छैन । सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापाका अनुसार निर्माणका केही काम फाट्टफुट्ट चलेको भएपनि अहिले सिमेन्टको बजार माग गत वर्षहरुको तुलनामा जम्मा ३० देखि ३५ प्रतिशतको हाराहारीमा मात्रै छ ।

तर, यसवर्ष उधारोमा सामान नबेच्ने निर्णय गरेपछि भने आफूहरुले केही राहत महशुस गरेको उनको भनाई छ । सिमेन्टको मूल्य प्रतिबोरा ५५० देखि ६५० रुपैयाँसम्म छ । 

यो मूल्य बढ्ने हो की भन्ने आशंका पनि गरिएको थियो । तर, बजारमा होङ्सी सिमेन्टले दमदार उपस्थिती जनाएपछि नेपाली उद्योगीहरुले मूल्य बढाउन नपाएको निर्माण व्यवसायीहरुको अनुमान छ ।

‘सिमेन्टको भाउ पनि सिजनमा बढ्ने गरेका उदाहरणहरु प्रशस्त छन्, तर होङ्सी सिमेन्ट बजारमा आएदेखि बजारमा सिमेन्टको भाउ घट्न सुरु भयो’ महासंघका अध्यक्ष सिंहले भने, ‘यसले निर्माण क्षेत्रलाई केही हदसम्म भएपनि राहत महशुस गराएको छ ।’ 

डण्डी र सिमेन्ट मात्रै होइन, इँटा, गिट्टी र बालुवा जस्ता निर्माण सामग्रीको भाउ पनि आकाशिएको छ । 

कारण के ?

सरकारले अवैधानिक तवरबाट सञ्चालित क्रसर उद्योगलाई बन्द गर्ने भनेर गरेको परिपत्रका कारण गिट्टी र बालुवाको मूल्य बढ्दो छ । किनकी, कोरोनाका कारण अहिले ८० प्रतिशतभन्दा बढी उद्योग नविकरण नै नगरी सञ्चालनमा छन् । महामारीको समयमा पनि केही केही मात्रामा भएको निर्माणको कामलाई सघाएका उद्योगहरुलाई नविकरणको म्याद थप नगर्ने बरु अवैध भनेर चल्न नदिने नियतका कारण मूल्य बढेको महासंघका अध्यक्ष सिंहको भनाई छ ।

पहुँच हुनेले कमिसन दिएर क्रसर उद्योग सञ्चालन गर्ने सम्भावना रहेकाले त्यतिबेला पनि मूल्य झन बढ्ने व्यवसायीहरुको अनुमान छ । निर्माणको सिजन सुरु हुँदा हरेक वर्ष निर्माण सामाग्रीको मूल्य १० देखि २० प्रतिशतसम्म बढ्ने गरेको थियो । तर, यसवर्ष भने ६० रुपैयाँको डण्डी १०० रुपैयाँभन्दा बढी पुग्नु उत्पादकहरुको मिलिमतो नै भएको निर्माण व्यवसायीहरुको ठहर छ ।

‘जहिल्यै निर्माणको सिजन सुरु हुने वित्तिकै व्यापारीले मूल्य बढाउने गरेकै थिए, यसवर्ष त सोच्दै नसोचिएको बिन्दुमा भाउ पुगिसक्यो’ एक जना निर्माण व्यवसायीले भने, ‘यसको मूल कारण भनेको बजार अनुगमन नहुनु हो ।’

वाणिज्य  विभागले भने निर्माण सामग्रीको मूल्य बढ्नुको कारणसहित उपस्थित हुन उद्योगीहरुलाई पत्र काटेको जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved