कहिले बनिसक्लान् काठमाडौँमा निर्माणाधिन ५ भीआईपी भवन ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 27, 2021 | 10:46:47 AM मा प्रकाशित

laxmi  sunrise bank

तस्बिरः मन्त्री निवासको डिजाइन

काठमाडौँमा अहिले ५ वटा भीआईपी भवन निर्माणको काम भईरहेको छ । १० अर्ब ३६ करोड रुपैयाँ लागतमा संघीय संसद भवन, प्रधानमन्त्री निवास, मन्त्री निवास, प्रदेश प्रमुख र मुख्यमन्त्री निवास र अन्तराष्ट्रिय सम्मेलन केन्द्रको निर्माणको काम थालिएको छ ।

उपत्यकाका निर्माणाधिन ५ भीआईपी परियोजनामध्ये गोदावरीमा निर्माणाधीन ३ हजार सिट क्षमताको सम्मेलन केन्द्रले भने द्रुत गती लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफैँले उद्घाटन गर्ने भनेपछि निर्माणको कामले गीत लिएको हो । गत वर्षबाट निर्माण सुरु भएको यो परियोजनाको प्रगति शन्तोषजनक छ ।

कुन भवनको लागत कति ?

यी परियोजना निर्माणको रेखदेख, प्रगति विवरण संकलन र लागत अनुमान गर्ने शहरी विकास मन्त्रालयले ५ वटा भीआईपी भवनका लागि १० अर्ब ३६ करोड रुपैयाँ बजेट खर्च हुने बताएको छ । यसमध्ये सिंहदरबार भित्रै बनिरहेको संघीय संसद भवनका लागि ५ अर्ब ६८ करोड ३९ लाख रुपैयाँ खर्च हुने मन्त्रालयले जनाएको छ । 

हाल प्रधानमन्त्री निवास रहेकै क्षेत्र बालुवाटरभित्र बनिरहेको प्रधानमन्त्रीको नयाँ निवास भवनका लागि ४५ करोड २० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ । शहरी विकास मन्त्रालयका अनुसार ललितपुरस्थित भैँसेपाटीमा निर्माण सुरु भएको मन्त्री निवासका लागि २ अर्ब ८३ करोड, प्रदेश प्रमुख र मुख्य मन्त्रीहरूको निवासका लागि ७३ करोड ३८ लाख र ललितपूरकै गोदावरीमा निर्माण सुरु भएको अन्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्रका लागि ६६ करोड बजेट खर्च हुने छ । 

हाल अनुमान गरिएको बजेट निर्माण अवधि बढ्दै जाँदा बढ्न सक्ने भएकाले आवश्यक बजेट व्यवस्थापन गर्नका लागि अर्थ मन्त्रालयसँग अहिलेदेखि नै ‘अपडेट’ गराईराखिएको शहरी विकास मन्त्रालय स्रोतले बताएको छ ।

सिंहदरबारको संसद भवन

सिंहदरबार भित्रको १५३ रोपनी ८ आना क्षेत्रफलमा निर्माणाधिन संघीय संसदको भवनमा प्रतिनिधिसभा, राष्ट्रियसभा, अति विशिष्ट व्यक्तिको कार्यालय, संसदीय समिति, संसदीय सचिवालय रहने छन् । यसबाहेक राष्ट्रपति, प्रधानमन्त्री र विशिष्ट विदेशी पाहुनाबाट हुने सम्बोधनका लागि राष्ट्रियसभा र प्रतिनिधिसभाका सदस्यहरु अट्ने सभाहल, राजनीतिक पार्टीका संसदीय दलको कार्यालय, पुस्तकालय, संग्रहालय र ३५० वटा गाडी अट्ने पार्किङ क्षेत्र रहने छ ।

नयाँ बन्ने संसद भवनमा प्रवेशका लागि भीभीआईपी, सांसद र कर्मचारीका लागि छुट्टाछुट्टै गेटको प्रवन्ध हुनेछ । ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य थालिएको संसद भवनको अहिले १५ प्रतिशतको हाराहारीका काम सकिएको छ । कुल क्षेत्रफलमध्ये २७ प्रतिशतमा भवन, ४५ प्रतिशतमा खुला हरियाली र २८ प्रतिशतमा सडक पूर्वाधार निर्माण बनाईनेछ । 

‘स्टेट अफ आर्ट’ प्रोजेक्ट बनाउने लक्ष्य राखिएको संसद भवन निर्माणको जिम्मा एसएचईसी र टुन्डी कम्पनीले पाएका छन् । 

बालुवाटारको प्रधानमन्त्री निवास

हाल प्रधानमन्त्रीको सरकारी निवास रहेकै बालुवाटारमा नेपाली संस्कृति झल्किने गरी प्रधानमन्त्रीको नयाँ सरकारी आवास भवनको निर्माण भईरहेको छ । २ वटा भवनका लागि ३ रोपनी क्षेत्रफल जग्गा छुट्याईएको छ । यी भवन पूर्णरुपमा नेपाली संस्कृति र परम्परागत नेपाली शैलीमा निर्माण गर्न लागिएको हो । 

२ भवनमध्ये एउटामा प्रधानमन्त्रीको निजी निवास रहने छ भने  अर्को भवन सार्वजनिक प्रयोगका लागि खुला गरिने योजना छ ।सार्वजनिक भवनमा अतिविशिष्ट व्यक्तिहरुसँग भेटघाटका लागि भेटघाट कक्ष, मन्त्रिपरिषद् बैठक बस्नका लागि ‘क्याविनेट हल’, ४० जनासम्मका लागि ‘डाइनिङ हल’ आदि रहने छन् ।

प्रधानमन्त्रीको निजी निवासका लागि प्रयोग हुने एउटा भवनमा भने तल्लो तल्लामा पाहुना कक्ष, बस्ने कोठा, भान्छा र लन्ड्रीसहित सुरक्षा गार्डका कक्ष हुनेछन् । भवनको पहिलो तल्लामा भान्छा, अध्ययन कोठा, पूजा कोठा आदि बन्नेछन् ।

दोस्रो तल्लामा प्रधानमन्त्रीसँग भेटघाटका लागि आउने अतिविशिष्ट पाहुनाका लागि तीनवटा बेडरुम रहने छन् । बालुवाटारमा अत्याधुनिक हेलिप्याडको निर्माण सम्पन्न भईसकेको छ ।

भैँसेपाटीको मन्त्री निवास

ललितपूरको भैँसेपाटीमा मन्त्रीहरुको निवासका लागि अपार्टमेन्ट स्टाइलको अत्याधुनिक सुविधासम्पन्न भवन निर्माण भईरहेको छ । ९६ रोपनी १० आना क्षेत्रफलमा निर्माण भईरहेको यो परियोजनाको भौतिक प्रगति ३० प्रतिशतको हाराहारीमा पुगेको छ । 

यो परियोजनामा केन्द्र सरकारका मन्त्री, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष,  उपसभामुखका लागि गरी २७ वटा आवासीय भवन बन्नेछन् । कुल क्षेत्रफलको १२ रोपनीमा आवासीय भवन, ११ रोपनीमा हेल्थ क्लब, ३८ रोपनीमा ग्रिनरी र २१ रोपनीमा आन्तरिक सडक बनाउन लागिएको छ । ७ रोपनीमा कम्युनिटी हल र २ रोपनीमा ग्रोसरी स्टोर बन्नेछ । 

हेलिप्याड, स्विमिङ पुल, सुरक्षाकर्मीको आवास, सभाहल आदि रहने गरी डिजाइन गरिएको परियोजनाभित्र बन्ने २७ वटै भवन परम्परागत नेपाली शैलीमा निर्माण गरिने छ । यी सबै भवन २.५ तल्लाका हुनेछन् ।

प्रदेश प्रमुख र मुख्यमन्त्री निवास

ललितपूरको भैँसेपाटीमै सरकारले प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि आवास कोलोनीको निर्माण थालेको छ । २७ रोपनी १२ आना क्षेत्रफलमा सातै प्रदेशका प्रमुख र मुख्यमन्त्रीका लागि २/२ वटा भवन सहितका ७ वटा ब्लक निर्माण गर्न लागिएको हो । 

यीमध्ये १४ वटा २.५ तल्लाका भवन हुनेछन् । एउटा भवन मुख्यमन्त्री र अर्को प्रदेश प्रमुखको निवासका लागि प्रयोग गरिनेछ । 

अन्तराष्ट्रिय सम्मेलन केन्द्र

५ परियोजनामध्ये सबैभन्दा धेरै भौतिक प्रगति भएको परियोजना हो, ‘अन्तराष्ट्रिय सम्मेलन केन्द्र’ । हालसम्म ८० प्रतिशतको हाराहारीमा भौतिक प्रगति भएको सम्मेलन केन्द्र ललितपूरको गोदावरीमा ४४ रोपनी क्षेत्रफलमा निर्माणाधिन अवस्थामा छ । सम्मेलन केन्द्रमा ३ हजार सिट क्षमता रहने छ ।

सम्मेलन केन्द्रको भवनले १२ रोपनी क्षेत्रफल ओगट्नेछ । १६ रोपनी क्षेत्रफलमा हरियालीसहितको सुन्दर बगैँचा र १३ रोपनीमा पार्किङ क्षेत्र निर्माण गरिनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै कार्यकालमा निर्माण सम्पन्न गरी उद्घाटन गर्ने दाबी गर्दै आएको यो भवन आगामी वर्ष निर्माण सकिने लक्ष्य राखिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved