काठमाडौँमा ४ स्याटेलाइट सिटीः १ लाख ३० हजार रोपनी जग्गा कहाँबाट जुट्यो ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 09, 2021 | 02:21:41 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ उपत्यकामा बन्ने ३ वटा स्याटेलाइट सिटीको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मन्त्रिपरिषद्मा पुगेको ६ महिना बित्यो । काठमाडौं उपत्यका विकास प्राधिकरणले ४ वटै स्याटेलाइट सिटीको डीपीआर तयार पारेको भएपनि ललितपूरले अस्वीकार गरेपछि मन्त्रिपरिषद्मा ३ वटाको मात्रै डीपीआर पेश भएको छ । तर ६ महिनासम्म कुनै निर्णय आएको छैन ।

प्राधिकरणले २०७४ साल बैशाख २५ गते नयाँ शहरको प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको थियो । मन्त्रिपरिषद्ले प्राधिकरणको प्रस्ताव स्वीकृतसँगै प्रस्तावित क्षेत्रको जग्गा ३ वर्षसम्म बेचविखन गर्न नपाईने निर्णय गरिदिएको थियो । क्याबिनेटबा स्वीकृति पाएपछि प्राधिकरण डीपीआर तयार गर्न जुटेको थियो । 

गत भदौमा भौतिक विकास समितिबाट पास गरी डीपीआरलाई मन्त्रिपरिषद्मा पठाउने कामको पहल भौतिक पूर्वाधार तथा यातायात बसन्तकुमार नेम्बाङले गरेका थिए । 

ललितपुरले किन अस्वीकार गर्यो ?

स्याटेलाइट सिटीको अवधारणा उपत्यकाका ३ जिल्लामध्ये ललितपूरले अस्वीकार गरेको छ । उपत्काका ३ वटै जिल्लामा एक एक वटा र अर्को ठूलो शहर भने ३ जिल्लाकै पायक पर्ने स्थानमा बनाउने भनिएको भएपनि ललितपूरले भने आयोजना नै अस्वीकार गरेको हो । सम्बन्धित जिल्लाले नै आयोजना अस्वीकार गरेपछि मन्त्रिपरिषद्मा ललितपूरमा बन्ने भनिएको शहरको डीपीआर लगिएको छैन ।

ललितपुरले आयोजना अस्वीकार गर्नुको मुख्य कारण स्थानीयले विरोध गर्छन् भन्ने डर नै हो । प्राधिकरणका एक अधिकारीका अनुसार काठमाडौँ–तराई द्रुतमार्ग जस्तो राष्ट्रिय गौरवको आयोजनामा स्थानीयको विरोध कायमै रहेको बेला पुनः अर्को परियोजना लिएर जाँदा थप विरोध हुने देखेरै ललितपूर महानगरपालिकाले आयोजना अस्वीकार गरेको हो ।

कहाँ कहाँ बन्दैछन् स्याटेलाइट सिटी ?

उपत्यका विकास प्राधिकरणले ४ वटा स्याटेलाइट सिटीको लागि १ लाख ३० हजार रोपनी क्षेत्रफल ओगट्ने गरी डीपीआर बनाएको छ । १ लाख रोपनी क्षेत्रफलमा एउटा ठूलो शहर र बाँकी ३० हजार रोपनीमा १०/१० रोपनीका दरले ३ शहर बन्ने छन् ।

इशानः बन्न लागेका शहरमध्ये सबैभन्दा ठूलो शहरको नाम हो इशान । काठमाडौँको पूर्वउत्तर क्षेत्रमा निर्माण हुन लागेको यो शहर १ लाख रोपनी क्षेत्रफलमा फैलने छ । यो शहर पूर्व भक्तपुरको नगरकोट जाने सडक, तेलकोट भन्ज्याङ, पश्चिममा जोरपाटी क्रिकेट मैदान, मुलपानी, गोठाटार हुँदै मनोहरा पुल, पुरानो बाटो र उत्तरतर्फ साँखुसम्म फैलने गरी डीपीआर बनेको छ । 

दक्षिणमा पुरानो बाटो, नेपाल सैनिक प्रतिष्ठान खरिपाटीसम्म फैलने छ । यो क्षेत्रमा पर्ने देकोमिबा इतापाके जग्गा एकीकरण योजना, सिन्टीटार जग्गा एकीकरण आयोजना र दिव्यश्वरी जग्गा एकीकरण आयोजना भने शहरले छुने छैन । 

यो परियोजनाको लागत २ खर्ब ८२ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।

आग्नेय (पूर्व–दक्षिण): १० हजार रोपनी क्षेत्रफलमा बन्न लागेको यो शहरले कटुन्जे, गुण्डु, दधिकोट, शिरुटार, बालकोटका क्षेत्रहरु ओगट्नेछ । पूर्वतर्फ अरनिको राजमार्गको सूर्यविनायक चोकदेखि सूर्यविनायक मन्दिर अगाडिको वनसम्म यो परियोजना पुग्नेछ । पश्चिमतर्फ खहरे खोला, बालकोट, बिरुवा सडक, पानी ट्यांकी, बालकोट, अमरनगर, थिमी हुँदै अरनिको राजमार्गसम्मलाई समेटेर डीपीआर तयार भएको छ । 

उत्तरतर्फ अरनिको राजमार्गसम्म र दक्षिणतर्फ सिलामखाल, रानीकोट जंगलछेउ, अनन्तलिंगेश्वर फेदी, तर्खगाल, पात्लेटार, बिरुवा हुँदै खहरेसम्म फैलने यो परियोजनाको लागत अनुमान ३० अर्ब छ ।

नैऋत्यः नैऋत्य शहर पनि १० हजार रोपनी क्षेत्रफलमा बन्नेछ । पूर्वमा छयासीकोटदेखि साविक सैंवुको सिमाना हुँदै फर्सिडोल, बागमतीको झोलुङ्गे पुलसम्म यो शहर फैलने परिकल्पना गरिएको छ । 

पश्चिममा बागमती, उत्तरमा साविकको सैँबुसम्म र दक्षिणमा बागमती नदीसम्म फैलने यो परियोजनाको लागत अनुमान ३० अर्ब छ ।

हरितः प्रस्तावित हरित शहर पूर्वमा सामाखुसी, टोखा रोड हुँदै बाइपाससम्म फैलने छ । पश्चिमतर्फ काभ्रेस्थलीदेखि बाइपासको मूल सडक, उत्तरमा सपनतीर्थ मालुङ हुँदै काभ्रेस्थलीसम्म र दक्षिणमा ग्रिनल्यान्डदेखि मनोरथ हुँदै महादेवखोला र काभ्रेस्थलीसम्म फैलने यो परियोजनाको लागत अनुमान २३ अर्ब छ ।

लागत अनुमान साढे ३ खर्ब 

उपत्यका विकास प्राधिकरणले मन्त्रिपरिषद्मा डीपीआर पठाएका परियोजनालाई काठमाडौँका ‘गेम चेन्जर’ परियोजनाका रुपमा लिइन्छ । यी शहरको निर्माण सक्न ३ खर्ब ५० अर्ब रुपैयाँको लागत अनुमान गरिएको छ । 

तर, सरकारले चालु आर्थिक वर्षमा यी परियोजनाका लागि २ करोड ५० लाख रुपैयाँ मात्रै बजेट विनियोजन गरेको छ । सरकारबाट पाएको बजेटमध्ये इशानले १ करोड र आग्नेय, नैऋत्य र उत्तरले ५०/५० लाख पाएका छन् । 

यी सबै परियोजना ५ देखि ६ वर्षमा सक्ने लक्ष्य छ । प्रस्तावित यी शहरमा साइकल लेन, अन्डरग्राउण्ड, आकाशे पुल, मनोरञ्जन पार्क, सपिङ मल, आवास, स्वीमिङ पुल, शिक्षालय, स्वास्थ्य केन्द्र, सडक, विजुलीलगायत सबै पूर्वाधार बनाईनेछ ।

यसअघिः

निर्माणाधिन ९ आयोजना, जसले फेर्न सक्छन् काठमाडौँको स्वरुप

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved