कंक्रिट सडकका फाइदाः वर्षौ टिकाउ, अर्बौ रकम बचत

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 02, 2021 | 01:42:28 PM मा प्रकाशित

laxmi  sunrise bank

पक्की सडक निर्माण गर्दा अलकत्राको सट्टा नेपालकै सिमेन्ट प्रयोग गर्नेबारे निकै लामो छलफल भएको थियो । सडक विभागका अधिकारीसहित मन्त्रीसमेतलाई राखेर सिमेन्ट उद्योगीले छलफल चलाएका थिए । सुरुमा सकारात्मक नै नतिजा आउने अपेक्षा गरिएपनि अहिलेसम्म सडक विभागले यसबारे एउटा काम गर्न सकेको छैन ।

विकास तथा पूर्वाधार विज्ञहरु भने अब ढिलो नगरी सडकहरु कंक्रिट प्रविधिकै बन्नुपर्ने बताउन थालेका छन् । डिजाइन, निर्माण र मर्मतबारे स्पष्ट निर्देशिकाहरु बनाएर कंक्रिट सडकलाई प्रोत्साहनको नीति लिन ढिला गर्न नहुने विज्ञहरुको सुझाव छ ।

‘कंक्रिट प्रविधिमा जान ढिला भयो’

सवारी साधन गुड्न सक्ने बाटोलाई सडक र अलि उच्चस्तरको सडकलाई राजमार्ग भन्ने गरिन्छ । सतहको बनोटका आधारमा सडकलाई माटे, ग्राभेल र पक्कीका रुपमा वर्गीकरण गरिन्छ । रोडा बालुवालाई बिटुमिन, अलकत्र वा सिमेन्ट जस्ता जोड्ने सामग्रीहरुसँग मिसाएर जोडेर बनाइने सडकलाई पक्की सडक भन्ने गरिन्छ । 

कंक्रिट सडक बनाउने योजनाबाट किन पछि हट्यो सरकार ?

बिटुमिन वा अलकत्रा प्रयोग गरेर बनाइने सडकको सतह लचिलो हुन्छ । कालो रंगको हुने भएकाले यस्तो सडकलाई कालोपत्रे सडक पनि भन्ने गरिन्छ ।

सिमेन्टबाट ढलान गरेर पनि सडक बनाउने अभ्यास विश्वका विभिन्न देशमा सफल भइसकेको छ । यस्तो सडक सतहले ठूलो क्षेत्रमा भार फैलाउँछ । अलकत्रा वा बिटुमिन प्रयोग गरिएको सडकभन्दा तुलनात्मक रूपमा कमजोर माटो वा जग भएको ठाउँमा ढलान गरेर यस्तो सडक बनाउन सकिने विज्ञहरुको भनाई छ ।

तुलनात्मक रूपमा केही महँगो हुने भएपनि वर्षौसम्म टिक्के भएकाले अब सडक निर्माण गर्दा कंक्रिट प्रविधिमा जान विज्ञहरुले पटकपटक सुझाएका छन् । राजमार्ग र पुल इन्जिनियरिङका विज्ञहरुका अनुसार सडक सतह निर्माणमा सिमेन्ट र कंक्रिट प्रयोगको इतिहास सय वर्ष लामो भइसक्यो । तर, हाम्रोमा प्रयोग हुन ढिला भईरहेको छ । 

राष्ट्रिय राजमार्ग, प्रादेशिक राजमार्ग र स्थानीय सडकहरु गरी करिब १ लाख किलोमिटर सडक छ । यी मध्ये ०.००४ प्रतिशत मात्रै कंक्रिट प्रयोग गरेर बनाईएको छ ।

व्यापार घाटा घट्छ

नेपालमा आफ्नै कच्चा तेल उत्पादन हुँदैन । कच्चा तेल प्रशोधन पनि नहुने भएकाले सडक निर्माणमा प्रयोग हुने सबै बिटुमिन आयात गर्नुपर्ने बाध्यता नेपाललाई छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७६/७७ मा ७.६१ अर्बको १ लाख ८५ हजार ३४५ मेट्रिक टन बिटुमिन आयात भएको छ । भारत, साउदी, यूएई, इरान, सिंगापुर र कतारबाट बिटुमिन आयात हुन्छ ।

यो पनिः 
कंक्रिट सडक बनाउन सिमेन्ट बाधक

तर, स्वदेशमै उत्पादन हुने सिमेन्ट प्रयोग गरेर सडक निर्माण गर्ने हो भने यो व्यापार घाटा पनि पूर्ति हुने सिमेन्ट उद्योगीहरुको दाबी छ । सिमेन्टको खपत बढ्ने अवस्था आए उत्पादन लागत पनि घट्ने र बिटुमिन किन्ने नपर्ने अवस्था आउने भएकाले व्यापार घाटाको आकार धेरै हदसम्म घट्ने उद्योगीहरुको भनाई छ । 

अन्य फाइदा

चुनढुंगा नेपालमा जति पनि उपलब्ध छ । अहिले सिमेन्ट उद्योगमा लगानी पनि बढिरहेकाले आवश्यकता अनुसार जतिपनि सिमेन्ट उत्पादन गर्न सकिने अवस्था छ ।

आ.व. २०७६/०७७ मा नेपालका सिमेन्ट प्लान्टहरुबाट ८७ लाख ७५ हजार मेट्रिक टन सिमेन्ट उत्पादन भएको देखिन्छ । ठूला आयोजना निर्माणका लागि भन्दै ६ लाख २३ हजार २८० मेट्रिक टन सिमेन्ट नेपालले गत वर्ष किनेको छ । तर, कंक्रिट प्रविधिमा जाने वित्तिक्कै विदेशबाट सिमेन्ट ल्याउनै नपर्ने र ठूला आयोजनाले पनि नेपालकै सिमेन्ट प्रयोग गर्ने विज्ञहरु नै बताउँछन् ।

सवारी साधनहरुको भार बढेसँगै मजबुत र टिकाउ सडक बनाउनुपर्ने दबाब छ । त्यसैले यसका लागि पनि कंक्रिट सडक नै अपरीहार्य देखिएको बताउन थालिएको छ । 

यसअघिः
अलकत्राको सट्टा कंक्रिट सडकः व्यवसायी खुशी, सरकार भन्छ,‘मूल्य घटाउ’

कालोपत्रे सडकको आयु १० देखि २० वर्षको हुन्छ । तर, नेपालमा कतिपय कालोपत्रे सडक बनाएको एक दुई वर्षमै भत्किने, खाल्डा पर्ने हुने गरेका छन् । तर, सिमेन्ट कंक्रिटले बनाएका सडकहरु भने बिना कुनै मर्मत ३० देखि ४० वर्षसम्म सजिलै टिक्न सक्छन् । 

सुरुमा निर्माण खर्च केही बढी देखिएपनि सडकको आयु र बेला बेला गरिरहनु पर्ने मर्मतसम्भार खर्चको विश्लेषण गर्दा कालोपत्रे सडकभन्दा कंक्रिट सडक कयौँ गुणा सस्तो पर्न आउने देखिएकाले यसलाई जतिसक्दो छिटो कार्यान्वयनमा ल्याउनुपर्ने उद्योगी र विज्ञहरुको सुझाव छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved