काठमाडौँका भीआईपी एरियाः जहाँ बस्नु ‘स्ट्याण्डर्ड’ मानिन्छ

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 09, 2021 | 12:02:50 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ उपत्यका भित्रका ३ जिल्लामा मानिसहरुको बाक्लो उपस्थिती छ । शहरीकरण दिनानोदिन बढिरहेको उपत्यकाका केही स्थानमा भने सरकारले नै व्यवस्थित बस्ती विकासको अवधारणा अनुसार काम पनि गरेको छ । कतिपय स्थानमा भने व्यवसायीहरुले आफैँ योजना बनाएर बस्ती विकास गरी हस्तान्तरण पनि गर्दै आएका छन् । 

तर, व्यवस्थित रुपमा नभई आफूखुशी बढेमानका भवनहरु निर्माण गरेर पनि केही केही ठाउँहरु भने ‘भीआईपी’ आवासीय क्षेत्र बनेका छन् । शहरी विकास मन्त्रालयका पूर्वसचिव एवं आवास विज्ञ किशोर थापाका अनुसार प्लानिङ गरेर बस्ती गरिएको क्षेत्रमा खुला ठाउँ, चौडा सडक र अन्य पूर्वाधारहरु हुने भएपनि अव्यवस्थित रुपमा आफूखुशी बस्ती बसाल्दा खुला ठाउँको अभाव हुने गर्छ । तर, पनि उपत्यकामा यस्ता दर्जनौँ ठाउँहरुले भीआईपी आवास क्षेत्रको परिचय बनाएको थापा बताउँछन् ।

बुढानीलकण्ठ

बुढानीलकण्ठ व्यवस्थित प्लानिङ अनुसार बस्ती बसालिएको क्षेत्र होइन । तर, अहिले यो क्षेत्र आकर्षक आवासीय क्षेत्रका रुपमा परिचत भएको छ । 

उच्च तहका नेता, व्यवसायीक घरानाका मालिकहरु बस्न थालेपछि बुढानीलकण्ठ आवासीय क्षेत्रका रुपमा रुपान्तरण हुँदै गयो । राष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस महामन्त्री शशांक कोइराला र नेता रामशरण महत र राप्रपाका अध्यक्ष कमल थापाको घर बुढानीलकण्ठमै छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्य पनि बुढानीलकण्ठमै बस्दै आएका छन् । कांग्रेस नेतृ सुजाता कोइराला पनि बुढानीलकण्ठ नजिकै मण्डिखाटारमा बस्छिन् ।

यसरी उच्च तहका नेता र ठूला व्यापारीहरुको जक्सनका रुपमा विकास हुँदै गएकाले बुढानीलकण्ठ अहिले आवासीय क्षेत्रहरुमध्ये पहिलो रोजाइमा पर्न थालेको आवास विज्ञहरुको बुझाई छ । शिवपुरी राष्ट्रिय निकुञ्ज र बुढानीलकण्ठ मन्दिर यो क्षेत्रका चर्चित गन्तव्य हुन् । 

गल्फुटार

गल्फुटार व्यवस्थित आवास क्षेत्र हो । सानो क्षेत्रमा भएपनि गल्फुटारमा आकर्षक सुविधासहित व्यवस्थित बस्ती विकास परियोजना निर्माण गरिएको थियो । 

सरकारले कर्मचारीहरुका लागि मात्रै नभई सर्वसाधारणलाई समेत सो क्षेत्रमा घडेरी बिक्री गरेको थियो । नजिकै व्यवस्थित आवास परियोजना बनेको र परियोजनामा मान्छेको आकर्षण बढ्न थालेपछि नजिकैका जग्गाको भाउ पनि बढ्था थाल्यो । अहिले गल्फुटार क्षेत्र आकर्षक आवासीय गन्तव्य बन्न पुगेको छ । यहाँ भव्य सुविधा नभई व्यवस्थित बस्ती विकासले मानिसहरुलाई आकर्षण गरेको हो ।

बालुवाटार/महाराजगञ्ज

बालुवाटार पनि बुढानीलकण्ठ जस्तै अव्यवस्थित रुपमै अघि बढेको बस्ती विकास हो । प्रधानमन्त्री निवास, प्रधानन्यायाधीशको निवास, राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा छन् । महाराजगञ्जमा भने राष्ट्रपनि निवास, त्रिवि शिक्षण अस्पताल, अमेरिकन लगायत विभिन्न देशका राजदूतावास र निर्मल निवास भएकाले आकर्षण बढ्दो छ । राष्ट्रपति भवन अगाडी त एउटा अपार्टमेन्ट निर्माणको अन्तिम चरणमै पुगिसकेको छ । 

यी बाहेक नजिकै राजदबार नारायणहिटी, नेपाल प्रहरी हेडक्वार्टर (नक्साल) आदिले बालुवाटार र महाराजगञ्ज क्षेत्र निकै आकर्षणको केन्द्रमा पर्छन् । 

विशालनगर

विशालनगर पनि व्यवस्थित योजना बनाएर बस्ती विकास गरिएको क्षेत्र भने होइन । तर पनि सो क्षेत्रमा बसोबास गर्न चाहने मानिसहरुको संख्या अत्याधिक नै छ । 

राजाको पालामा दरबारबाट नजिक पर्ने भएकाले सुरक्षाका दृष्टिकोणले मानिसहरु विशालनगरमा बस्न रुचाउँथे भने अहिले चक्रपथबाट नजिकै भएकाले आकर्षक आवासीय क्षेत्रका रुपमा परिणत भयो ।

भैँसेपाटी

भैँसेपाटीमा सर्वसाधारणको जग्गा अधिग्रहण गरी व्यवस्थित बस्ती विकास गरिएको छ । भैँसेपाटी र सैँबु क्षेत्रमा बस्न चाहाने मानिसहरुको संख्या अत्याधिक छ । काठमाडौँ उपत्यकाकै सबैभन्दा आकर्षक आवासीय क्षेत्रका रुपमा लिईने भैँसेपाटीमा नेता, उच्चपदस्थ सरकारी कर्मचारी, व्यापारी लगायत बस्दै आएका छन् । 

भैँसेपाटीको आवास विकास परियोजना पञ्चायतकालमा सुरु भएर बहुदल आएपछि निर्माण सकिएको हो । चक्रपथबाट केही भित्र र राम्रा सडक भएकाले सैँबु र भैँसेपाटी क्षेत्र बसोबासका लागि रोजाईमा पर्दै आएको छ । 

सानेपा/झम्सिखेल

सानेपा र झम्सिखेल बेला बेलामा खुब चर्चामा आउने भीआईपी एरिया हुन् । कूटनीतिक नियोगमा काम गर्ने विदेशी कर्मचारी पनि बसोबास गर्ने भएकाले यो क्षेत्र रेष्टुरेन्टको हब क्षेत्रका रुपमा विकास भईरहेको छ । 

नेपालकै ठूलो व्यवसायिक घराना चौधरी ग्रुपको मुख्यालय, पुल्चोकमा लबिम मल आदिले सानेपा र झम्सिखेललाई प्रमुख आवासीय क्षेत्रका रुपमा विकास गरिदिएका छन् । 

ज्वागल 

ज्वागल व्यवस्थित आवासीय क्षेत्र हो । बागमती नदी किनारमा जग्गा अधिग्रहण गरेर योजनावद्ध रुपमा विकास गरिएको यो आवासीय क्षेत्र अन्य क्षेत्रको तुलनामा सबै किसिमका मानिसहरुका लागि सुहाउँदो थियो । 

२०४७ सालपछि व्यवस्थित आवास क्षेत्रका रुपमा विकास गरिएको यो क्षेत्रमा पाटन र पुल्चोक इन्जिनियरिङ कलेजका प्राध्यापकहरु र मध्यम स्तरका व्यापारीहरु बसोबास गर्दै आएका छन् । 

कुलेश्वर 

पञ्चायतकालमा सुविधायुक्त घडेरी तयार पारी तत्कालिन सरकारले आफ्ना कर्मचारीलाई बिक्री गरेको क्षेत्र हो कुलेश्वर । त्यसपछि कुलेश्वरले व्यवस्थित आवास विकासको रुप धारण गरी अहिले पनि व्यवस्थित बसोबासको आकर्षणको केन्द्रमा रुपमा आफूलाई उभ्याउँदै आएको छ ।

अहिले कुलेश्वरमा बाक्लो बस्ती बसिसकेको  छ । आवास क्षेत्रभित्र सडक पूर्वाधार, खुला ठाउँ आदि भएकाले आकर्षण बढ्दो रहेको बताउँछन् सोही आवास क्षेत्रमा बस्दै आएका पूर्व अर्थसचिव कृष्णहरि बाँस्कोटा ।

डल्लु 

पञ्चायत कालमै प्लानिङ गरिएको व्यवस्थित आवास विकास परियोजना हो डल्लु आवास क्षेत्र । बस्ती हो । पञ्चायत कालमै योजना बनेको भएपनि काम सम्पन्न भने बहुदल आएपछि मात्रै भयो ।

व्यवस्थित अवासीय क्षेत्र भएकै कारण डल्लुमा अहिले पनि मानिसहरुको आकर्षण घटेको छैन, बरु बढिरहेको छ ।

वनस्थली

इचङ्गु टाउन प्लानिङका कारण यो क्षेत्र विकास भएको हो । चक्रपथबाट नजिकै, बसपार्क पनि नजिकै र बालाजु आद्योगिक क्षेत्र पनि सँगै भएकाले रानीवन र वनस्थली क्षेत्रमा मानिसहरुको आकर्षण छ ।

काठमाडौँ बाहिरबाट आएका बासिन्दाको बढी बसोबास रहेकाले वनस्थली र रानीवन क्षेत्रमा पानीको अभाव कहिल्यै भएको रेकर्ड छैन । बस्ती नजिकै घनाजंगल छ त्यसैले पनि मानिसहरु यो क्षेत्रमा बस्न रुचाउँछन् ।

ताहाचल

ताहाचल नेपाली राजनीतिको केन्द्रका रुपमा चिनिन्छ । ताहाचल क्याम्पसको विद्यार्थी राजनीति जुर्मुराउनुभन्दा पहिले नै ताहाचलमा राजा महेन्द्रका भाइहरूका लागि भव्य बंगला बनाइएका थिए । पञ्चायतकालदेखि नै आकर्षक आवासीय क्षेत्रका रुपमा रहेको यो ठाउँमा राजपरिवारका नातेदारले समेत घर बनाए । 

व्यवस्थित बस्ती विकास नभएपनि यो ठाउँ उच्च व्यक्तिहरुको बसोबासका कारण अहिलेसम्म चर्चित र रोजाईको आवास क्षेत्रभित्र पर्छ । त्यहाँ १९६० को दशकमै पाँचतारे सोल्टी होटल सञ्चालनमा आएको थियो । 

इमाडोल

इमाडोल क्षेत्रमा आवास बढ्दो छ । अन्य क्षेत्रको तुलनामा इमाडोलमा जग्गाको भाउ केही सस्तो पनि छ । मध्यम र निम्नमध्यम वर्गीय परिवारको बसोबास बढी भएकाले पनि इमाडोलमा बसोबास गर्नेहरुको संख्या धेरै छ ।

सुविधाका हिसाबमा सडक पूर्वाधारबाहेक अन्य सुविधा खासै नभएपनि मानिसहरु इमाडोलमा बस्न रुचाउँछन् । यसको कारण हो सस्तो घरभाडा र सस्तो जग्गा । 

पेप्सीकोला/काँडाघारी 

१० वर्षे माओवादी द्वन्द्वपछि बसेको बस्ती हो पेप्सीकोला र काँडाघारी । द्वन्द्वको चेपेटामा परेकाहरु गाउँबाट भागेर काठमाडौँ आएर गोठाटार, पेप्सीकोला र काँडाघारी क्षेत्रमा बसेका थिए । 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ठ्याक्कै पछाडी पर्ने यो क्षेत्रमा विकास भएको बस्ती अहिले मूलपानीतिर फैलिँदै छ । ठूला अपार्टमेन्ट पनि बनिसकेकाले पेप्सी र काँडाघारी क्षेत्र आवासीय क्षेत्रको रुपमा विकास हुँदैछ । तर, पेप्सिकोला ‘टाउन प्लानिङ’ ले भने अझै बस्तीको आकार दिन सकेको छैन । 

बालकोट 

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको नीजि निवास हो बालकोट । त्यसैले पनि यो ठाउँ चर्चित छ । कुनै व्यवस्थित बस्ती विकासको योजना अनुसार नभई प्रधानमन्त्रीको बसोबास क्षेत्र भएकाले चाँडै विकास भएको बालकोट अहिले धेरै मानिसको रोजाइमा पर्छ ।

सरकारी तवरबाट नभएपनि  निजी क्षेत्रबाट भने बालकोटमा व्यवस्थित आवास परियोजनाको विकास भएको हो । बालकोट, कौशलटार हुँदै मानव बस्ती अहिले सिरुटारसम्म फैलिईसकेको छ । 

यी बाहेक दुवाकोट, दधीकोट, ठिमी, हात्तीवन, खुमलटारलगायत क्षेत्रले पनि आवासीय क्षेत्रको रुप लिँदै छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved