सिद्धबाबामा सुरुङ निर्माणको लागि टेण्डर आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2021 | 09:03:44 AM मा प्रकाशित

laxmi  sunrise bank

हरेक बर्ष पहिरोले सताईरहने बुटवल-पाल्पा सडकखण्डमा पर्ने सिद्धबाबामा सुरुङ निर्माण गर्नको लागि टेण्डर आह्वान भएको छ  । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत रहेको सडक विभागले आज ठेक्का आह्वान गरेको हो । 

 चालु आर्थिक वर्षको बजेटमा बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबामा सुरुङमार्गको निमार्ण कार्य सुरु गरिने उल्लेख थियो ।   सिद्धबाबा खण्डको समस्या समाधान गर्ने लक्ष्यसहित सरकारले २ वर्ष अगाडी नै सुरुङमार्ग निर्माणका लागि स्रोतको सुनिश्चितता गरेको थियो । अर्थमन्त्रालयले सिद्धबाबा सडक खण्डमा सुरुङमार्ग निर्माणका लागि रु १० अर्ब १५ करोड बराबरको स्रोत सुनिश्चितता गरेको थियो ।

डा युवराज खतिवडाले मन्त्रिस्तरीय निर्णय गरी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई स्रोतको सुनिश्चितता गरिदिएका थिए।  अर्थले भौतिकको प्रस्तावअनुसार नै सिद्धबाबामा सुरुङमार्ग निर्माणकार्य ‘डिजाइन एण्ड विल्ड’ ढाँचामा निर्माणका लागि स्रोतको सुनिश्चितता गरिदिएको थियो ।  उक्त सुरुङमार्ग निर्माणका लागि राष्ट्रिय योजना आयोगबाट स्वीकृत ‘बहुवर्षीय ठेक्का मापदण्ड २०७६’ बमोजिमको प्रक्रिया पूरा गरी काम अघि बढाउन अर्थले स्वीकृति दिएको  थियो ।

 अर्थ मन्त्रालयले डिपिआरबमोजिम हुने गरी डिजाइन, निर्माण तथा सञ्चालन र मर्मत गर्ने कार्यमा प्राविधिक सेवाको सुनिश्चितता गरी लागत अनुमानबमोजिम खर्च हुने गरी अनुमानित रकम मध्यकालीन खर्च संरचनामा समावेश गरेको छ । सोही संरचनाअनुसार नै बहुवर्षीय ठेक्काबाट खरीद प्रक्रिया अघि बढाउन सहमति प्रदान गरिएको छ । 

सिद्धार्थ राजमार्गअन्तर्गत माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको करीब चार किलोमिटर क्षेत्र पहिराको अत्याधिक जोखिममा छ । त्यसैलाई मध्यनजर गरी माथिल्लो सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्मको एक हजार ३०० मिटर क्षेत्रमा स्वीस सरकारको विकास सहयोगमार्फत सुरुङमार्ग निर्माणका लागि भौगर्भिक अध्ययन गरिएको थियो ।

सो सडकखण्डलाई पहिराबाट सुरक्षित बनाउनेबारे यसअघि विभिन्न अध्ययन तथा जैविक प्रयोग गरिए पनि सफल भने हुन सकेको थिएन । त्यसको विकल्पमा सुरुङ नै उत्तम विकल्प भएको जानकारको भनाइ रहँदै आएको थियो । त्यसखण्डको भौगर्र्भिक अध्ययनका लागि स्वीस डेभलेपमेन्ट कोअपरेसनले नेपाल सरकारलाई आर्थिक सहयोग उपलब्ध गराएको थियो । सोही सहयोगबाट प्राविधिकले त्यस क्षेत्रको भौगर्भिक अध्ययन गरी सरकारलाई सुझाव दिएको छ ।  

सडक विभागका अनुसार चिडियाखोला छेउबाट शुरु भएको सुरुङमार्ग दोभान नजिकैको रामापिथेकस पार्कको उत्तरतर्फ पुग्नेछ । स्थानीय दोभान सडकखण्डमा वर्षायाममा मात्र नभई हिउँदमा समेत खस्ने सुक्खा र ढुङ्गे पहिराका कारण उक्त सडकखण्ड भएर यात्रा गर्नेले दैनिक सास्ती भोग्दै आएका छन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved