तराईमा ६ वटा मेगा सिटीः कहाँ कहाँ बन्दैछन् ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 10, 2021 | 10:31:07 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ उपत्यका भित्र व्यवस्थित शहरीकरणका दर्जनौ योजना अलपत्र भईरहेका बेला सरकारले तराईमा ‘मेगा सिटी’ को अवधारणा ल्याएको छ । यो अवधारणा नयाँ नभएपनि एकैपटक आधा दर्जन मेगा सिटी निर्माणको घोषणा भएको भने पहिलो पटक हो ।

यसअघि चर्चामा रहेको बुटवल–भैरहवा मेगा सिटीसहित अरु ५ वटा मेगा सिटी घोषणा भएका छन् । बुटवल र भैरहवालाई जोडेर मेगा सिटी निर्माण गर्ने विषय भने यसअघि पनि पटक पटक चर्चामा आएकै विषय हो । यति मात्रै नभई, स्थानीय तह बनाउँदा (सिमा छुट्याउँदा) बुटवल र भैरहवालाई जोडेर महानगरपालिका बनाउने कसरत पनि भएको थियो । तर, स्थानीय नेताहरुले यो कुरा मानेनन् । 

कहाँ कहाँ बन्दैछन् मेगा सिटी ?

आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत उपप्रधानमन्त्रीसमेत रहेका अर्थमन्त्री विष्णु पौडेलले तराईका ६ स्थानमा मेगा सिटी बनाउने घोषणा गरेका छन् । तर, मेगा सिटीमा निकै ठूलो क्षेत्रफल समेटिने गरी घोषणा भएको छ ।

विर्तामोड–चन्द्रगढी, धरान–इटहरी, जनकपुर–ढल्केवर, बुटवल–भैरहवा, कोहलपुर–नेपालगञ्ज र अत्तरिया–धनगढीलाई समेटेर मेगा सिटी निर्माणको घोषणा भएको छ । यसका लागि अन्तराष्ट्रिय शहरी योजनाविद्सँग परामर्श सेवा लिइने बताईएको छ ।

आवश्यकता र महत्व कति ?

यो तत्कालै पूरा हुने योजना भने नभएको शहरी पूर्वाधार विज्ञहरु बताउँछन् । ठूला शहरको रुपमा विकास हुँदै गएका क्षेत्रलाई समेटेर नयाँ मेगा सिटी बनाउने घोषणा हुनु खासै महत्वको विषय पनि नभएको उनीहरुको भनाई छ ।

‘धरान–इटहरी समेटेर मेगा सिटी बनाउने भनिएको छ, यी दुबै क्षेत्र ठूला शहरको रुपमा विकास हुँदैछन्’ एक जना शहरी विकास विज्ञले भने, ‘कोहलपूर आफैँ सबै पूर्वाधारयुक्त शहर हो, नेपालगञ्ज त हब नै भईहाल्यो । त्यसैले यो खासै महत्व राख्ने विषय होइन । मेगा सिटी बनाउने घोषणा होइन, कि मेगा सिटी नै भयो भनेर घोषणा गर्दा पनि हुने थियो ।’

काठमाडौँ उपत्यकाका ३ जिल्लाका विभिन्न क्षेत्र समेटेर बनाउने भनिएका शहर नबन्ने लगभग पक्कापक्की भएको अवस्थामा तराई तिर सरकारको आँखा जानु जनमत तान्ने कसरत भएको कतिपयको बुझाई छ । तर, तराईमा विकासे आयोजना देखाएर भोट पाउने अवस्था बनि नसकेको राजनीतिक विश्लेषकहरुको भनाई छ । 

निर्माण व्यवसायी भने खुशी

मेगा सिटी निर्माणको अवधारणालाई निर्माण व्यवसायीले भने स्वागत गरेका छन् । निर्माण व्यवसायी महासंघले पूर्वाधार निर्माणले प्राथमिकता पाउने गरी मेगा सिटीको अवधारणा आउनु सकारात्मक भएको बताएको छ । 

महासंघका अध्यक्ष रवि सिंहले मेगा सिटी निर्माणसहित अन्य पूर्वाधार निर्माणका क्षेत्रमा आफूहरुले दिएका सुझाव बजेटले समेटेको बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved