तीनकुनेमा बुद्धपार्कः हल्लै हल्लामा बित्यो विद्यासुन्दरको ४ वर्ष

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2021 | 12:46:33 PM मा प्रकाशित

laxmi  sunrise bank

तीनकुनेमा बुद्धपार्क बनाउन तम्सिएको काठमाडौँ महानगरपालिका आफैँ अन्यौलमा परेको छ । महानगरको वडा नम्बर ३२ स्थित तीनकुने चौरमा अत्याधुनिक बुद्धपार्क निर्माण गर्ने योजना ब्यूँताएको महानगरपालिका १ वर्षसम्म आफैँ रुमल्लिएको हो ।

चालु आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा शान्ति पार्कका रुपमा तीनकुनेमा बुद्धपार्क बनाउने योजना ल्याएको महानगरपालिकाले १ वर्षको अवधिमा सो सम्बन्धि एउटा पनि देखिने काम गर्न सकेन । मुख्य विवाद मुआब्जा वितरणमा रहेकाले मुआब्जा सम्बन्धि काम केन्द्र सरकारले गर्नुपर्ने भएकाले महानगरले बुद्धपार्क सम्बन्धि कुनै उपलब्धि हाँसिल गर्न नसकेको महानगरका प्रवक्तासमेत रहेका वडा नम्बर १५ का वडाध्यक्ष इश्वरमान डंगोलको स्वीकारोक्ति छ ।

महानगरपालिकाले नीति तथा कार्यक्रममा नेपाल सरकार, प्रदेश सरकारसँग मिलेर तीनकुनेमा  बुद्धपार्क निर्माण गर्ने उल्लेख गरेको थियो ।

किन जारी छ विवाद ?

डिजाइ तयार भएर थन्किएको लामो समय भईसकेको छ । तर, मुआब्जाको विवाद भने टुंगिने संकेत अझै देखिएको छैन । 

गत वर्ष नै मेयर विद्यासुन्दर शाक्यले मुआब्जा वितरणको विवाद सुल्झाउन आफूले महानगरको तर्फबाट एक जना अधिकारी नै खटाएको दाबी गरेका थिए । आफूले खटाएको अधिकारीले निरन्तर काम गरिरहेको र आर्थिक वर्ष २०७७/०७८ भित्रै मुआब्जा विवाद सकेर निर्माणको काम नै सुरु गर्ने दाबी मेयर शाक्यको थियो । तर, उनको दाबी अनुसार विवाद सुल्झिनुको सट्टा झन बल्झिएको छ ।

जग्गाधनीले चल्तीको मुल्यअनुसार मुआब्जा पाउनुपर्ने माग गरेपछि विवाद टुंगोमा पुग्न नसकेको हो । तत्कालीन नेपाल सरकारले २०३२ साल जेठ १४ मा जग्गाप्राप्ति ऐन अनुसार तीनकुनेको जग्गा अधिग्रह गरेपछि धेरै जग्गाधनीले पहिले नै मुआब्जा पाइसकेका छन् । तर, करिब २२ रोपनी जग्गाको मुआब्जा दिन बाँकी रहेको र उनीहरुले हाल चनलचल्तीको मूल्य अनुसार मुआब्जा पाउनुपर्ने माग गर्दा पहिला लिएकाहरुले पनि हालको मूल्य अनुसारको मुआब्जा दाबी गरेको महानगरको भनाई छ ।

‘अहिले करिब १४ रोपनी जति जग्गाको मुआब्जा चनलचल्तीको भाउ अनुसार दिँदा पहिला मुआब्जा बुझेकाहरुले पनि अहिलेको भाउ अनुसार हामीलाई पनि थप मुआब्जा चाहिन्छ भन्नु भएको छ’ महानगरका प्रवक्ता डंगोल भन्छन्, ‘यो स्वभाविक पनि हो, जनताले नै हामीलाई मर्का पर्यो भनेपछि उनीहरुको समस्या सम्बोधन गर्ने दायित्व जनप्रतिनिधिको हुन्छ । जनताले अन्याय भयो भन्दाभन्दै जबरजस्ती गर्ने कुरा आउँदैन । अब महानगरले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटबाट यी समस्या समाधान गर्न थप कार्यक्रम ल्याउँछ ।’

कति भयो मुआब्जा वितरणमा खर्च ?

मुर्तिबाहेक करीब १ अर्ब ५० को लगानी अनुमान गरिएको बुद्धपार्क निर्माणमा लामो समयदेखि मुआब्जा विवाद जारी छ । विवाद रहेको ३५ रोपनीमध्ये २१ रोपनीको मुअब्जा दिईसकिएको मेयर शाक्यले तोकेका प्रारम्भिक अधिकारीले गतवर्षै बताएका थिए । सरकारले पठाएको १५ करोडमध्ये १० करोड ८० लाख वितरण भएको र बाँकी रकम फिर्ता भएको थियो । 

तत्कालीन नेपाल सरकारले २०३२ साल जेठ १४ मा जग्गा प्राप्ति ऐन अनुसार तीनकुनेको जग्गा अधिग्रह गरेपनि २०५९ असार ३२ मा मुआब्जाको रकम तोकियो । त्यतिबेला प्रतिरोपनी ५१ लाख २० हजार रकम तोकेर सोही अनुसार रकम निकासा गरेको थियो । 

महानगरपालिकाको तथ्यांक अनुसार ३५ कित्ता जग्गाको मुआब्जा वितरणका लागि १५ करोड निकासा भए अनुसार २०६४ माघ १४ देखि २०६६ माघ मसान्तसम्म २१ रोपनी ११ आना २ पैसा जग्गाको मुआब्जा वितरण भएको छ । 

बाँकी जग्गा धनीले मुआब्जा बुझ्न नमानेपछि २०७० साउन २४ गते महानगरपालिकाले बाँकी रकम फिर्ता पठाएको थियो । त्यसयता जग्गाको भाउ आकाशिने क्रम जारी रहेकाले सरकारले मूल्यांक गरेर तोकेको भाउ जग्गा धनीले मानेका छैनन् । २०७० को तुलनामा अहिले जग्गाको भाउ तेब्बरभन्दा बढी बढिसकेको छ ।

कस्तो छ पार्कको डिजाइन ?

तीनकुनेमा ५० रोपनी क्षेत्रफल जग्गामा शान्तिपार्क बनाउन महानगर तम्सिएको थियो । हिन्दु र बौद्ध धर्मको मर्म बुझाउने गरी पार्क निर्माण गरिने भन्दै डिजाइन पनि तयार पारिएको थियो । 

हिन्दु र बौद्ध धर्मको मर्मको फ्युजन गरेर पार्कको तीन कुनामा ब्रह्मा, विष्णु र महेश्वरको प्रतीक र बुद्ध, धर्म र संघ (म बुद्धको शरणमा जान्छु, म धर्मको शरणमा जान्छु, म संघको शरणमा जान्छु) लाई आधार मानेर डिजाइन गरिएको छ । 

पार्कमा अण्डरग्राउन्ड पार्किङ, माथिल्लो तलामा २ सय मानिस अटाउने ध्यानकेन्द्र, पहिलो तलामा पसल, सार्वजनिक सौचालय, प्रदर्शनी कक्षहरु रहने छन् । अपाङ्गमैत्री, बालबालिकाका खेल्ने ठाउँ, जेष्ठ नागरिक आराम गर्ने ठाउँ डिजाइनमा समेटिएको छ । 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको नजिकै पर्ने र जहाज ल्याण्ड हुने क्रममा जहाजबाटै सुन्दर दृश्य देखिने भएकाले यो पार्क बनेपछि पर्यटकलाई आकर्षित गर्ने र काठमाडौँको सौदर्य बढाउने दाबी गरिएको छ । 

१६ मिटर अग्लो बुद्धको मुर्ति

तीनकुनेको बीचमा १३ मिटर अग्लो र ९६ मिटर व्यासको गुम्बज आकारको संरचना बन्नेछ । गुम्बज आकारमा १६ मिटर अग्लो बुद्धको मुर्ति राखिनेछ । १२ मिटर व्यासको बेस रहेको बुद्ध मुर्तिको तल ६ मिटर चौडाईको धर्मपरिक्रमा चक्र रहने छ । 

तीनकुनेको तीन ओटा कुनामा शंख आकारका पार्क हुनेछन् । बुद्ध मुर्ति भएको ठाउँसम्म पुग्न १२ ओटा प्रवेशद्वार पार गर्नुपर्नेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved