बसपार्क नहुँदा हजारौँ बस सडकमै अलपत्र, ठेकेदारको ‘रोयल्टी’मा महानगर मख्ख

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2021 | 10:51:07 AM मा प्रकाशित

laxmi  sunrise bank

पूरानो बसपार्कमा सपिङ कम्प्लेक्ससहितको टावर बन्ने भएपछि अहिले बसपार्कको वैकल्पिक व्यवस्था गरिएको छ । तर, यत्रतत्र छरिएका अपायक स्थानका बसपार्कका कारण यात्रुलाई सास्ती छ । मध्यम दूरीमा भल्ने सवारीसाधनलाई अस्थायी बसपार्कको व्यवस्था मिलाइएको छ भने काठमाडौँ उपत्यकाभित्र चल्ने सवारीलाई यात्रु चढाउने र ओराल्ने मात्रै व्यवस्था छ ।

खुलामञ्चमा ६ वर्षसम्म चलेको अस्थायी बसपार्क महानगरले गत वैशाखमा हटाएपछि अहिले सवारी साधनले बसपार्क पाएका छैनन् । भक्तपूरको सल्लाघारीस्थित खाली ठाउँलाई अस्थायी बसपार्क बनाउन सकिने भन्दै काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी नेतृत्वको कार्यदलले सुझाव दिएपछि मध्यपूरथिमी नगरपालिकाले आपत्ति जनाएपछि उक्त प्रक्रिया नै अगाडी बढ्न सकेको छैन ।

ठेकेदारले तिर्ने ‘रोयल्टी’मै खुशी महानगर

२०७३ मा बहुतल्ले सपिङ कम्प्लेक्ससहितको बस टर्मिनलका लागि ‘काठमाडौं टावर परियोजना’ बनाउन पुरानो बसपार्क खाली गरियो । २०७८ साउनमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ बनाउन थालिएको भ्यू टावरको काम बल्ल ७० प्रतिशत सकिएको छ ।

समयमै काम नसक्दा पनि ठेकेदारले बुझाउने रोयल्टी वापतको रकम पाईरहेको भन्दै महानगर समयमै काम सक्न दबाब दिने ‘मुड’मा देखिँदैन । ठेकेदार कम्पनीले हालसम्म ७ करोड ७७ लाख ५३ हजार ३३२ रुपैयाँ महानगरलाई बुझाएको छ । 

‘हरेक आर्थिक वर्षको पहिलो महिना (साउन) मा ठेकेदारले रोयल्टी बुझाउनुपर्ने सम्झौता थियो, उहाँहरुले सम्झौता अनुसार रोयल्टी बुझाईरहनु भएको छ’ महानगर स्रोत भन्छ, ‘समयमै निर्माण सम्पन्न भईदिए त राम्रो हुन्थ्यो, तर निर्माण नसकिएपनि हामीले पाउने रोयल्टी रोकिएको छैन, पाउँदै आएका छौँ ।’

यद्यपी, महानगरको यातायात समितिका अध्यक्ष धर्म रिमाल भने समस्या रहेको स्वीकार गर्छन् । काठमाडौँ महानगरभित्र चल्ने ८६ कम्पनीका ८ हजार बढी सवारीसाधनले बसपार्क नपाएको उनको भनाई छ । 

स्वतन्त्र इन्जिनियर नियुक्त गर्न विद्या सुन्दर असफल 

सार्वजनिक निजी साझेदारीअन्तर्गत ११ हजार ८९० वर्ग मिटरमा टावर बन्दैछ । अण्डरग्राउण्ड २ तल्लासहित १४ तल्लाको उक्त टावर निर्माणको काम जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले गरिरहेको छ ।

साढे ३ अर्ब लागतमा बन्दै गरेको टावर महानगरले कम्पनीलाई ३० वर्षका लागि ‘लिज’मा दिएको हो । ५ वर्षमा निर्माण सम्पन्न गर्ने र २५ वर्ष कम्पनीले चलाएर महानगरलाई हस्तान्तरण गर्ने सम्झौता छ । सम्झौताअनुसार २०७३ साउन मसान्तदेखि ५ वर्षभित्र टावर बनिसक्नुपर्थ्यो । 

सम्झौतामा महानगरले स्वतन्त्र इन्जिनियर र प्राविधिक समिति खटाएर अनुगमन गर्न सक्ने उल्लेख गरिएपनि काठमाडौँका मेयर विद्यासुन्दर शाक्यले हालसम्म स्वतन्त्र इन्जिनियर नियुक्त गर्न सकेका छैनन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved