विद्यासुन्दरको उपलब्धिः १९६ किलोमिटर सडक कालोपत्रेदेखि १७ वटा पार्क निर्माणसम्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2021 | 11:55:30 AM मा प्रकाशित

laxmi  sunrise bank

महानगरपालिकाले १ सय ९६ दशमलव १ किलोमिटर सडक कालोपत्रे गरेको जानकारी दिएको छ । २७ औँ महानगर दिवसको अवसरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले यस्तो जानकारी दिएका हुन् ।

१४ दशमलव ६८ किलोमिटर सडक ढलान गरेको र १० दशमलव ७९ किलोमिटर सडकमा ब्लक छाप्ने काम सम्पन्न गरेको मेयर शाक्यले जानकारी दिए । 

‘मेरो कार्यकालमा ४ सय ८९ किलोमिटर सडकमा ढुङ्गा छाप्ने काम सम्पन्न भएको छ भने २ सय २६ दशमलव ४ किलोमिटर सडक मर्मत र १८ दशमलव ३४ किलोमिटर ढल निर्माण गरिएको छ,’ उनले भने, ‘वडा नं. ३, ४, ९, १४, १८ र २६ गरी छ वटा नयाँ वडा कार्यालय निर्माण सम्पन्न भएको । वडा नं. २, ६, १२, १६, २०, २१, २२, २७, २९ र ३१ गरी दश वटा वडा कार्यालयहरु निर्माणाधीन अवस्थामा छन् । वडा नं. ५, ६, ७, १०, ११, १५, २३ र ३२ गरी आठ वटा वडाहरुको स्तरोन्नति गरिएको छ ।’ 

अहिलेसम्म  २७ वटा ऐन, ५ वटा नियम, ४ वटा निर्देशिका, २० वटा कार्यविधि, ३ वटा मापदण्ड र एउटा मार्गदर्शन÷निर्देशन गरी ६० वटा कानुन तर्जुमा गरी जारी गरिएको पनि मेयर शाक्यले जानकारी दिए । 

‘१ लाख ३७ हजार थान मिसिल डिजिटलाइजेसन गरिएको छ,’ उनले भने, ‘४० वटा राजपत्र र एउटा ऐन संग्रह प्रकाशन भएको छ । महानगरपालिकाको केन्द्रीय कार्यालय र सबै वडा कार्यालयहरुमा मेलमिलाप केन्द्र स्थापना गरिएको छ ।’ 

डाक्टरसहित ५ हजार ७७१ जना ज्येष्ठ नागरिकको घरमा गएर निःशुल्क स्वास्थ्य परीक्षण गरिएको र ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा सुरु गरिएको मेयर शाक्यको भनाई छ । 

‘वडा २, ९, ११, २०, २१, २२ र ३० गरी सात वटा वडामा नयाँ स्वास्थ्य क्लिनिक स्थापना गरी महानगरपालिकाको सबै वडाहरुमा स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको छ,’ उनले थपे, ‘विरेन्द्र सैनिक अस्पतालमा १० बेडको निःशुल्क मिर्गौला डाइलासिस सेवा सुरु गरिएको छ ।  कोभिड महामारीको उपचारका लागि ९ वटा सरकारी र सामुदायिक अस्पताललाई करिब ११ करोड ६० लाख रुपैयाँ बराबरका ४६ थान भेन्टिलेटर प्रदान गरिएको छ भने छत्रपाटी निःशुल्क चिकित्सालय र नरदेवी आयुर्वेद अस्पतालयमा कोभिड विशेष अस्पताल र राधास्वामी आइसोलेसन केन्द्र स्थापना गरिएको छ । कोभिड विरुद्धको खोप ३ लाख ७९ हजार ४३ महिला र ३ लाख ८९ हजार ६१७ पुरुष गरी ७ लाख ६८ हजार ६६६ जनालाई दिइसकिएको छ ।’ 

विशेषज्ञ स्वास्थ्य सेवा सुधारका लागि त्रि.वि. शिक्षण अस्पताललाई सिटी स्क्यान मेसिन खरिद, १० वटा भेन्टिलेटर मेसिन उपलब्ध गराइएको, वीरेन्द्र सैनिक अस्पताललाई डाइलासिस मेसिन खरिद, शहीद गंगालाल ह्रदय केन्द्रलाइ अक्सिजन प्लन खरिद सहयोग गरी प्लान्ट सञ्चालनमा अएको, रगतका तत्व छुट्याउने मेसिन किन्न कान्ति बाल अस्पताललाई सहयोग र जलेका विरामीको उपचारमा आवश्यक पर्ने उपकरण खरिदका लागि कीर्तिपुर अस्पताललाई सहयोग, अक्सिजन प्लान्ट स्थापना गर्न मनमोहन अस्पताल, दक्षिणकालीलाई सहयोग गरिएको जानकारी दिनुभयो । उहाँले स्वस्थ्य मिर्गौला, स्वस्थ्य काठमाडौं कार्यक्रमअन्तर्गत मिर्गौला बचाउ अभियान चलाइएको पनि मेयर शाक्यले जानकारी दिए ।

त्यसैगरी उनले वडा ६ बौद्ध रामहिटीमा नयाँ महानगर वारुणयन्त्र भवन निर्माण गरी सञ्चालनमा ल्याइसकेको र वडा नं. ३ महाराजगञ्ज बाँसबारीमा महानगर वारुणयन्त्र भवन निर्माणधिन अवस्थामा रहेको पनि जानकारी दिए ।

‘महानगर भित्रका ९२ वटै सामुदायिक विद्यालयमा एउटै प्रकारको पहेँलो रङ्ग लगाएर भित्तामा चित्र तथा महावाणी लेखन कार्य गरिएको छ,’ उनले भने, ‘महानगरभित्र करिब १७ वटा नयाँ पार्क निर्माण गरिएको छ भने ५३ वटा निर्माण सम्पन्न हुने चरणमा छन् ।’ 

पत्रकार सम्मेलनमा नेपालभाषा एकेडेमीसँगको सहकार्यमा ‘नेपालभाषा ज्ञान कोष’ प्रकाशनको चरणमा पुगेको र काठमाडौंको सम्पदा र जीवनशैली झल्किने कलात्मक चित्रहरूको पुस्तक प्रकाशनमा ल्याइएको पनि जानकारी दिईएको छ । मेयर शाक्यका अनुसार महानगरबाट एक वडा एक नमूना विद्यालय विकास कार्यक्रमअन्तर्गत ३२ वटा सामुदायिक विद्यालयहरुमा कार्यक्रम सञ्चालन भएको छ ।

उनले आफ्नो कार्यकालमा काठमाडौं महानगरपालिकाको आन्तरिक श्रोतबाट महानगरका करिब १२ हजार बरिष्ठ ज्येष्ठ नागरिक बार्षिक १२ हजार रुपैयाँ भत्ता वितरण हुँदै आएको र पूर्ण अपाङ्गहरुलाई मासिक ३ हजार रुपौयाँ उपलब्ध गराईदै आएको पनि जानकारी दिए । 

‘आर्थिक बर्ष २०७५/०७६ देखि ए डिभिजनका फुटबल क्लबलाई बार्षिक १० लाख रुपैयाँ, बी डिभिजनका फुटबल क्लबलाई ३ लाख रुपैयाँ र सी  डिभिजनका फुटबल क्लबहरुलाई बार्षिक २ लाख प्रदान गरिँदै आएको छ,’ उनले भने, ‘सहिदहरु (दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री), नेपाल संवतका प्रवर्तक तथा राष्ट्रिय विभूति शंखधर साख्वाः र मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरको पूर्ण कदको शालिक निर्माण गरिएको छ । तारादेवी स्मृति फाउन्डेसन, नातिकाजी स्मृति प्रतिष्ठान, प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानलाई २० लाखका दरले सहयोग प्रदान गरिएको छ ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved