तीनकुने पार्क बनाउछु भनेका विद्यासुन्दर शिलान्यास नै नगरी बिदा हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2021 | 11:10:47 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकाले मंसिर २९ गते २७ औँ महानगर दिवस मनायो । तर, २०७४ सालको स्थानीय तहको निर्वाचन ताका तीनकुनेमा पार्क काम १ सय दिनभित्रै सुरु गर्ने दाबी गरेको मेयर विद्या सुन्दर शाक्यले आफ्नो साढे ४ वर्षे कार्यकाल बिताईसक्दा पनि अझै काम सुरु गर्न सकेका छैनन् ।

शाक्यले आफूले १ सय दिनमा गर्ने कामका १०१ सूचीमा ‘तीनकुनेमा अत्याधुनिक पार्कको निर्माण शुरु गर्ने’ भनेर लेखेका थिए । तर, बल्ल आर्थिक वर्ष २०७६/०७७ मा बजेट ल्याउँदा यस विषय समेटियो । अर्को आर्थिक वर्ष २०७७/०७८ को बजेटमा पनि उनले यो विषय समावेश गराए । तर, तीनकुने चउरको एउटा सिन्को पनि भाँचिएन ।

आफ्ना उपलब्धि सार्वजनिक गर्दै केही दिनअघि मेयर शाक्यले तीनकुनमा बुद्ध पार्क बनाउने आफ्नो योजना पूरा गर्न नसकेको स्वीकार पनि गरिसकेका छन् ।

के हो विवाद ?

तीनकुने चउर ४६ वर्षदेखि अलपत्र छ । त्यहाँ अत्याधुनिक बुद्ध पार्क बनाउन भनेर डिजाइन बनाइएको उहिल्यै हो । तर, मुआब्जाको विवाद भने टुंगिने संकेत नै देखिएको छ ।

गत वर्ष नै मेयर शाक्यले मुआब्जामा देखिएको विवाद सुल्झाउन आफूले महानगरको तर्फबाट एक जना अधिकारी नै खटाएको दाबी गरेका थिए । ती अधिकारीले काम गरिरहेको र आर्थिक वर्ष २०७७/०७८ भित्रै मुआब्जा विवाद सकेर निर्माणको काम सुरु गर्ने दाबी मेयर शाक्यको थियो । तर, विवाद सुल्झिनुको सट्टा झन बल्झिएको छ । जग्गाधनीले चल्तीको मुल्यअनुसार मुआब्जा पाउनुपर्ने अडान छोडेका छैनन् । 

तत्कालीन नेपाल सरकारले २०३२ साल जेठ १४ गते जग्गाप्राप्ति ऐन अनुसार तीनकुनेको जग्गा अधिग्रह गरेपछि धेरै जग्गाधनीले पहिले नै मुआब्जा पाइसकेका छन् । तर, करिब २२ रोपनी जग्गाको मुआब्जा दिन बाँकी रहेको र उनीहरुले हाल चनलचल्तीको मूल्य अनुसार मुआब्जा पाउनुपर्ने माग गर्दा पहिला लिएकाहरुले पनि हालको मूल्य अनुसारको मुआब्जा दाबी गरेको महानगरको भनाई छ ।

अहिले करिब १४ रोपनी जति जग्गाको मुआब्जा चनलचल्तीको भाउ अनुसार दिँदा पहिला मुआब्जा बुझेकाहरुले पनि अहिलेको भाउ अनुसार हामीलाई पनि थप मुआब्जा चाहिन्छ भनेका छन् । यस विषयमा सम्बोधन हुने गरी महानगरले बजेट ल्याउने भनिएपनि डीपीआरको लागि मात्रै बजेट ल्याएको छ । 

अब बैशाखसम्ममा स्थानीय तहको निर्वाचन गरिसक्नुपर्ने बाध्यतात्मक अवस्था छ । विद्यासुन्दरको कार्यकाल अब मुस्किलले ५ महिना छ । यो अवधिमा उनले तीनकुने पार्कको शिलान्यास गर्ने सम्भावना छैन

११ रोपनीको पैसा नै फिर्ता

विवाद रहेको ३५ रोपनीमध्ये २१ रोपनीको मुअब्जा दिईसकिएको महानगरको दाबी छ । पछिल्लो समय सरकारले पठाएको १५ करोडमध्ये १० करोड ८० लाख वितरण भएको र बाँकी रकम फिर्ता भएको थियो । 

२०३२ साल जेठ १४ गते जग्गा प्राप्ति ऐन अनुसार उक्त ठाउँको जग्गा अधिग्रहण गरेपनि २०५९ असार ३२ मा मात्रै मुआब्जाको रकम तोकिएको थियो । त्यतिबेला प्रतिरोपनी ५१ लाख २० हजार रकम तोकेर निकासा गरिएको थियो । 

मुआब्जा वितरणका लागि १५ करोड निकासा भए अनुसार २०६४ माघ १४ देखि २०६६ माघ मसान्तसम्म २१ रोपनी ११ आना २ पैसाको मुआब्जा वितरण भएको छ । बाँकी जग्गा धनीले मुआब्जा बुझ्न नमानेपछि २०७० साउन २४ गते महानगरपालिकाले बाँकी रकम फिर्ता पठाएको थियो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved