
ललितपुरको धापाखेल अहिले ‘हाउजिङ हब’ बनेको छ । धापाखेलको नागदह परिसरमा सुविधा सम्पन्न हाउजिङ परियोजनाहरु निर्माण भईरहेका छन् । मानिसहरु सुविधा सम्पन्न तर, कोलाहलबाट टाढा बस्न रुचाउने भएकाले धापाखेल अहिले हाउजिङ डेभलपर्सको रोजाई बनेको छ ।
रियलस्टेटका पायोनियर मानिने कम्पनीहरु सिजी प्रोपर्टीज, क्लासिक रेसिडेन्सी र डाउनटाउन हाउजिङले धापाखेलमा हाउजिङ परियोजना निर्माण थालिसकेका छन् । यी ३ कम्पनीले बनाउन सुरु गरेका परियोजनामा २७१ युनिट घरहरु बन्ने छन् ।
डाउनटाउन रेसिडेन्सी
चर्चित रियलस्टेट व्यवसायी मीनमान श्रेष्ठले धापाखेलमा डाउनटाउन हाउजिङ बनाउन सुरु गरेका छन् । करिब करिब बुकिङ पनि भईसकेको यो बिलासी आवास परियोजनाको नाम ‘डाउनटाउन रेसिडेन्सी’ छ ।
परियोजनाभित्र १ सय बढी लक्जरी बङ्गला रहने छन् । ८५ रोपनी क्षेत्रफलमा साढे ३ देखि १० आनाको प्लटमा बन्ने बिलासी बङ्गलाको मूल्य न्यूनतम ३ करोड २० लाखदेखि सुरु छ ।
परियोजनाभित्र ३ प्रकारका घरहरु बन्नेछन् । सबै घरहरु अढाइ तलाका हुनेछन् ।
परियोजनाभित्र कम्युनिटी हल, हेल्थ क्लब, स्वीमिङ पुल, ग्रिनरी, सुरक्षा गार्ड, कफी सप, इलेक्ट्रिक गाडी चार्जिङ स्टेसन, गाडी धुने ठाउँ, सोलार प्यानल लगायतका सुविधाहरु हुनेछन् । सातदोबाटो रिङरोडबाट यो परियोजना ४.८ किलोमिटर टाढा पर्छ ।
सिजी लेक भ्यू
चौधरी ग्रुप अन्तर्गतको सिजी प्रोपर्टीजले पनि धापाखोलमा ‘सिजी लेक भ्यू’ नामक हाउजिङ परियोजना निर्माण थालेको छ । कुल ७७ रोपनी क्षेत्रफलमा फैलिने यो परियोजना २ चरणमा बन्नेछ ।
पहिलो चरणमा ४८ रोपनी ११ आनामा ८७ युनिट घरहरु बन्नेछन् । दोस्रो चरणमा ३९ रोपनीमा सुविधा सम्पन्न घरहरु बनाईनेछ ।
४ आनादेखि १३ आनासम्म क्षेत्रफलमा बन्ने घरहरु ३ तलाका हुनेछन् ।। घरको न्यूनतम मूल्य ३ करोड ८० लाख रुपैयाँ हुनेछ ।
यो परियोजनाभित्र क्लब हाउस, क्याफे, स्वीमिङ पुल, खेलकुद स्थल, एटिएम लाउञ्ज, कम्युनिटी हल हुनेछन् । रिङरोडबाट ५ किलोमिटर दुरीमा रहेको यो परियोजना ३ वर्षभित्र बनिसक्ने उल्लेख छ ।
क्लासिक रेसिडेन्सी
क्लासिक डेभलपर्सले धापाखेलमै ‘क्लासिक रेसिडेन्सी’ नामक हाउजिङ परियोजना बनाउँदैछ । यो परियोजनाभित्र ८४ युनिट घरहरु बन्ने छन् ।
धापाखेलको कर्मनासा करिडोरमा ३५ रोपनीमा बन्ने परियोजनामा एउटा घर ४ देखि ६ आनाको प्लटमा बन्नेछ ।
एउटा घरको मूल्य ३ करोड ८० लाखबाट सुरु छ । सन् २०२२ को अन्त्य सम्ममा घरहरु बनाई सकेर बुकिङ गरेकाहरुलाई हस्तान्तरण गरिसक्ने लक्ष्य छ ।
परियोजनाभित्र क्लब हाउस, सुपर मार्केट, जिम हल, रुफ टप स्वीमिङ, क्याफे लगायतका सुविधाहरु हुनेछ ।
धापाखेल किन सबैको राजाईमा छ ?
मानिसहरु सुविधा सम्पन्न क्षेत्रमै बस्न रुचाउँछन् । सँगै, उनीहरुलाई शहरी कोलाहल मन पर्दैन । त्यसैले हल्लीखल्ली हुने क्षेत्रबाट थोरै टाढा तर, सुविधाले भरिपूर्ण भएकाले धापाखेल अहिले हाउजिङ डेभलपर्सको रोजाई बनेको छ ।
नाम चलेका स्कुलहरु, सुविधा सम्पन्न अस्पताल नजिकै भएर पनि धापाखेल मानिसहरुले रुचाउने ठाउँ बनेको छ । रुचाईने मात्रै नभई ‘विजनेश प्राफाईल’का व्यक्तिहरुको ‘हट स्पट’ नै बनेको छ ।