मन्थली विमानस्थल स्तरोन्नतिः म्याद सकिन १ महिना बाँकी, कान्छाराम कन्ट्रक्सनले ग्रावेल मात्रै गर्‍यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 30, 2021 | 10:10:21 AM मा प्रकाशित

laxmi  sunrise bank

रामेछापको जिल्ला सदरमुकाम मन्थलीस्थित आन्तरिक विमानस्थल अहिले स्तरोन्नतिको चरणमा छ । काठमाडौँबाट २२ मिनेटको उडानमा पुग्न सकिने विमानस्थल करिब १ दशकदेखि बन्द प्रायः थियो । बेला बेलामा आकस्मिक उडानबाहेक अरु उडान नहुने रामेछाप विमानस्थलले जहाजको प्रतिक्षा गरेको लामो समय भयो ।

गत एक सिजन काठमाडौँ विमानस्थल मर्मतका क्रममा लुक्लाको उडान मन्थलीबाट गरिएको थियो । तर, अब भने बाह्रै महिना सञ्चालन हुने गरी मन्थली एयरपोर्ट स्तरोन्नतिको पहिलो चरणको काम सकिएको छ । यद्यपी, तोकिएकै मितिमा भने सम्पूर्ण काम नसकिने भएको छ ।

के के हुँदैछ काम ?

मन्थली विमानस्थल स्तरोन्नतिको कामको ठेक्का कान्छाराम कन्ट्रक्सनले पाएको थियो । ९० मिटर धावन मार्ग (रन वे) थप गर्ने र थप ४ वटा साना जहाज पार्किङ गर्न सकिने गरी पार्किङ वे विस्तार गर्ने गरी ठेक्का सम्झौता भएको थियो ।

अहिले ग्रावेल लेयरको काम सकिएको छ भने पीचको काम बाँकी छ । विमानस्थलको परिसर भित्र तारजाली लगाईएकै जग्गाभित्र दुईतिर गरेर जम्मा ९० मिटर धावन मार्ग विस्तार गरेर ६२० मिटरको पुर्याईने छ । १ सय मिटर लम्बाई र ५० मिटर चौडाईको पार्किङ क्षेत्र विस्तार गरी थप ४ वटा जहाज पार्किङ गर्न मिल्ने बनाईने छ ।

यसअघि रन वे १ हजार मिटर लामो बनाउने भनिएपनि त्यसको काम अहिलेको ठेक्कामा समावेश छैन । नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्यसको सम्भाव्यता अध्ययनको काम गरिरहेको छ ।

कहिलेसम्म सकिन्छ काम ?

कान्छाराम कन्ट्रक्सनले ३ करोड ६४ लाख (भ्याट बाहेक)मा यो आयोजना ठेक्कामा लिएको हो । सम्झौता अनुसार माघ १४ गते काम सक्नुपर्नेछ । तर, मुस्किलले एक महिना मात्रै समय बाँकी रहेकाले नेपाली काँग्रेस रामेछापका सभापतिसमेत रहेका पूर्ण बहादुर तामाङ (कान्छाराम)को कान्छाराम कन्ट्रक्सन कम्पनीले समयमै काम नसक्ने निश्चित भएको छ ।

विमानस्थलको धावनमार्ग पीचको काम संवेदनशील र क्यानसहित अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को मापदण्ड अनुसार हुनुपर्ने भएकाले अबको एक महिनामा काम सकिन मुस्किल छ ।

आयोजनाको अनुगमनका लागि क्यानबाट खटिएका इन्जिनियर विनायक भट्टराई पनि माघ १४ सम्म काम सकिनेमा शंका व्यक्त गर्छन् । दोस्रो चरणको काम अबको केही दिनमै सुरु गर्ने र तोकिएकै मितिमा सम्पन्न गर्न कोशिस गर्ने उनको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved