रियलस्टेटको बद्लिँदो ट्रेण्डः अपार्टमेन्ट परिसरमै तारे होटल र सपिङ कम्प्लेक्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2022 | 12:58:22 PM मा प्रकाशित

laxmi  sunrise bank

रियलस्टेटमा देश अनुसार आ–आफ्ना ट्रेण्ड छन् । विश्वका ठूला शहरहरुमा स्थापित भईसकेका ट्रेण्ड क्रमशः अरु देशका शहरहरुमा पनि फैलिन्छन् । 

अपार्टमेन्ट, त्यहीँ परिसरमा स्टार होटल र सोही कम्पाउण्डभित्र सपिङ मल तथा कम्प्लेस सहितको रियलस्टेटको ट्रेण्ड विश्वका ठूला शहरमा स्थापित ट्रेण्ड हो । तर, यो अभ्यास भने नेपालमा बल्ल सुरु भएको छ । 

कहाँ कहाँ हुँदैछ यस्तो फ्यूजन ?

अहिले आईरहेका नयाँ रियलस्टेट परियोजनामा अपार्टमेन्टसँगै स्टार होटल र सपिङ मल पनि सँगै छन् । अपार्टमेन्टमा बस्ने व्यक्तिहरुले नजिकै गएर खाना खान चाहे वा कुनै बस्तु खरिद गर्न चाहे टाढा जानुपर्ने बाध्यता हटाउन यस्ता परियोजनाले निकै सघाउ पुग्ने देखिन्छ ।

कुपण्डोल हाईटस्थित समिट होटल रहेको ठाउँमा अपार्टमेन्ट सहितको पाँच तारे होटल बन्दैछ । कर्मा समूहले महाराजगञ्जको काठमाडौँ भ्याली पब्लिक स्कुल जग्गामा अपार्टमेन्टसहित पाँच तारे होटल बनाउँदैछ । 

चाबहिलको गोपीकृष्ण हल भत्काएर पाँच तारे होटल र सपिङ कम्प्लेक्स निर्माणको काम सुरु भएको छ । मोतिलाल दुगडले बिराटनगरमा सपिङ मल, मल्टिप्लेक्स र पार्क सहितको ५ तारे होटल सञ्चालनमा ल्याउने तयारी गरेका छन् । 

पोखराका व्यवसायी विप्लव पौडेलले कान्तिपथमा बनाएको विशाल भवनमा तलका २ तलामा सपिङ कम्प्लेक्स र माथिका तलामा होटल चलाउँदैछन् । सपिङ कम्प्लेक्सको बुकिङ पनि सुरु भईसकेको छ ।

गोल्यान समूहले ताहचलमा अपार्टमेन्ट सहितको पाँच तारे ‘होटल ह्यात प्लेस’ सञ्चालनमा ल्याइसकेको छ । ठमेलस्थित छायाँ सेन्टरमा पनि पाँच तारे होटल र सपिङ कम्पलेक्स छ । 

यसरी पाँचतारे होटल, अपार्टमेन्ट र सपिङ कम्प्लेक्सको फ्यूजन गरिएका परियोजना निर्माणको क्रम तीव्र रहेको छ । 

कोभिडपछि मौलाएको मोडल

भूकम्पका कारण अपार्टमेन्टको विकास र यहाँ बस्ने मान्छे कम हुँदै गएका थिए । तर, अहिले विस्तारै बढ्दै छन् । कोरोना सुरु हुनु अघिसम्म यस्ता परियोजनामा अपार्टमेन्ट मात्रै थिए । 

तर, अपार्टमेन्टले मात्रै लगानीको प्रतिफल दिन नसक्ने भएपछि ठूला लगानीकर्ताहरु अपार्टमेन्टमा सपिङ कम्पलेक्स र तारे होटल पनि जोड्न कस्सिकएका हुन् । होटल चलाएर त्यहाँबाट नाफा कमाउन कम्तीमा १० वर्ष लाग्ने भएकाले अपार्टमेन्ट बनाएर बिक्री गरी होटल पनि बनाउँदा होटल सुरुदेखि नै ऋण नलिई चलाउन सकिने भएकाले कोरोना पश्चात नेपालमा यो मोडल फस्टाउँदो देखिएको अपार्टमेन्ट डेभलपर्सहरु बताउँछन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved