चन्द्रप्रसाद ढकालको कम्पनीले मौलाकालीमा केबुलकार बनाउदै, सर्वसाधारणका लागि समेत शेयर

रासस

रासस

Jan 20, 2022 | 10:30:02 AM मा प्रकाशित

laxmi  sunrise bank

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल मौलाकालिका मन्दिर जानका लागि केबुलकार निर्माण सुरु गरिएको छ । सम्पूर्ण प्रक्रिया सकेर केबुलकार निर्माणका लागि कन्स्ट्रक्सनको काम सुरु भएको हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको मौलाकाली केबुलकार कम्पनीले आगामी एक वर्षभित्र मौलाकालिका मन्दिरमा केबुलकार सञ्चालनमा ल्याउने गरी निर्माणको काम सुरु गरेको हो । “मौलाकाली केबुलकार सञ्चालनका लागि औपचारिक अनुमतिका सबै काम सकिएको छ”, ढकालले भने , “अब हामी फिल्डमा कन्स्ट्रक्सनको काममा जुटेका छौँ ।” केबुलकार निर्माणको काम सुरु भइसकेको उल्लेख गर्दै उनले बढीमा एक वर्षभित्र केबुलकार सञ्चालनमा ल्याउने बताए ।

“केबुलकारसँगै निर्माण हुने होटलका लागि केही समय लाग्न सक्छ तर आगामी पुस महिनाभित्र केबुलकार सञ्चालनमा ल्याइसक्छौँ”, ढकालले भने , “अब आउने माघे सङ्क्रान्तिमा केबुलकार चढेर मौलाकालिका माताको दर्शन गर्न पाइन्छ ।” ढकालको कम्पनीले गैँडाकोटमा केबुलकारसँगै होटलसमेत सञ्चालनमा ल्याउनेछ ।

मौलाकाली केबुलकार कम्पनीले करिब रु साढे एक अर्बको लागतमा आयोजना अगाडि बढाएको हो । निर्माण सम्पन्नपछि सर्वसाधारणका लागि समेत शेयर निस्कासन गर्ने योजना रहेको उनले बताए । “केबुलकार निर्माणका लागि सबै फर्मालिटी सकिसकेका छौँ, फर्मालिटीका लागि धेरै समय लाग्ने गर्दथ्यो”, ढकालले भने , “होटलसहितको सम्पूर्ण संरचना तयार गर्नका लागि भने बढीमा दुई वर्ष लाग्ने हाम्रो अनुमान छ ।”

टपस्टेशनमा कन्स्ट्रक्सन निर्माणका लागि नापजाँचको काम भइरहेको छ । मन्दिर नजिकै रहेको हेलिप्याडमा केबुलकारको टपस्टेशन निर्माण हुनेछ भने मौलाकालिका फेदीमा बटम स्टेशन हुने ढकालले जानकारी दिए । केबुलकारले एकतर्फि लम्बाई एक हजार २०० मिटर लामो हुनेछ । केबुलकारमा १२ वटा डब्बा राखेर यात्रु ओसारिने उनले बताए । केबुलकार सञ्चालनमा आएपछि भक्तजन १० मिनेटको यात्रामा मौलाकालिका मन्दिर पुग्ने ढकालको भनाइ छ । अहिले मन्दिर पुग्न करिब एक हजार ८८२ खुड्किलो उक्लिँदा ४५ मिनेट समय लाग्ने गरेको छ ।

केबुलकार सञ्चालनमा आएपछि यहाँको पर्यटकीय क्षेत्रमा हरेकतर्फबाट टेवा पुग्ने उनको भनाइ छ । “यहाँ केबुलकार सञ्चालनमा आएपछि गैँडाकोट र नवलपुरलाई मात्रै नभइ छिमेकी जिल्लालाई समेत हरेक तरिकाबाट फाइदा पुग्छ”, ढकालले भने , “पर्यटन, कृषि, व्यवसाय, होटल रेस्टुराँ, रोजगारी सिर्जजनासहित धेरै तरिकाले स्थानीयलाई फाइदा पुग्छ ।”

केबुलकार निर्माणका लागि स्थानीयले ४९ प्रतिशतसम्म रकम राख्न सक्नेगरी सहमति भएर काम अगाडि बढेको गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले बताए । ऐतिहासिक धार्मिकस्थलका रुपमा रहेको मौलाकालिका मन्दिरमा लामो समयदेखि केबुलकार सञ्चालनको माग उठेकाले स्थानीय सहभागिता व्यवसायी ढकाललाई निर्माणको जिम्मा दिइएको पौडेलको भनाइ छ ।

धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका निवर्तमान अध्यक्ष विष्णुहरि रिमालले मौलाकालिका मन्दिरको इतिहास करिब ५०० वर्ष पुरानो भएको बताए । पाल्पाली राजा मणि मुकुन्दसेन देवघाट स्नानका लागि जाँदा यहाँ मौला गाडिएको ठाउँमा पूजा गरेर जाने गरेको इतिहास भएको रिमालको भनाइ छ । पूर्वपश्चिम महेन्द्र राजमार्गको नारायणी नदीको पुलबाट करिब चार किलोमिटर उत्तरतर्फ समुद्र सतहदेखि ५६१ मिटर उचाइमा मौलाकालिका भगवतीको मन्दिर छ ।

विगतमा वर्षको दुई पटक मन्दिरमा पूजाआजा हुने गरिएको भए पनि अहिले दैनिकरुपमा मन्दिरमा पूजाआजा हुने गरेको छ । “पहिले चैते दसैँ र बडा दसैँमा मन्दिरमा पूजाआज हुने गर्दथ्यो, ४२ सालपछि मन्दिरमा दैनिकरुपमा पूजा हुँदै आएको छ”, रिमालले भने।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved