आइतबारबाट ‘कन्सट्रक्सन होलिडे’: चुनावको मुखैमा निर्माणको काम ठप्प

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2022 | 09:56:22 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्माण व्यवसायीहरुले आइतबार (बैशाख ११) बाट निर्माणका काम रोक्ने भएका छन् । मूल्यवृद्धि थामिनसक्नु गरी बढेको भन्दै व्यवसायीहरुले ११ वैशाखदेखि निर्माणका साइट बन्द गर्ने भएका हुन् ।

अत्यावश्यक कामबाहेक कुनै पनि निर्माणको काम नगर्ने नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । महासंघले मूल्यवृद्धि समायोजन नभएसम्मका लागि ‘कन्सट्रक्सन होलिडे’ गर्न लागेको हो । 

महासंघका महासचिव रोशन दाहालले पेट्रोलियम पदार्थ (डिजेल, बिटुमिन, पेट्रोल, ग्याँस), फलामजन्य निर्माण सामग्रीहरु (छड, ग्याबिन तार, पाता, आइरन ब्लेड), सिमेन्ट लगायतका निर्माण सामग्रीहरुको भाउ अप्रत्यासित र अस्वभाविक रुपमा बढेकाले कन्ट्रक्सन होलिडेमा जानु परेको बताएका छन् । उनका अनुसार मूल्यवृद्धि फिर्ता नभएसम्म निर्माण व्यवसायीहरु काम गर्नै नसक्ने अवस्था आएकाले निर्माण साइटहरु बन्द गर्नु परेको हो । 

‘मूल्यवृद्धिका विषयमा हामीले उठाएका मागहरु सम्बोधन गर्न २०६५ सालमा पनि मूल्य समायोजन मार्गदर्शन नं–१ जारी गरी निर्माण कार्य जारी राखेको नजिर हाम्रा सामू छ’ उनले भने, ‘त्यसैलाई टेकेर हामीले यसपटक पनि मूल्य समायोजन मार्गदर्शन नं–२ जारी गर्न पटक–पटकको अनुरोध गर्दै आएका छौँ, तर सम्बोधन भएको छैन, त्यसकारण हामी आन्दोलनमा उत्रिन बाध्य भएका हौँ ।’

मूल्य समायोजन मार्गदर्शनमार्फत वृद्धि भएको मूल्य वृद्धिको क्षतिपूर्ति हुने गरी ठेक्कामा  लागिसकेका आयोजनाहरुको मूल्य समायोजन गर्नुपर्ने माग निर्माण व्यवसायीहरुको छ ।

७७ वटै जिल्लामा धर्ना

महासंघले ‘कन्स्ट्रक्सन होलिडे’ गर्न जिल्ला र प्रदेश निर्माण व्यवसायी संघलाई भनिसकेको छ । 

बैशाख ११ गतेबाट कन्स्ट्रक्सन होलिडे सुरु गर्ने र वैशाख १३ गतेदेखि जिल्लास्थित निर्माण व्यवसायी संघहरुले आ–आफ्नो जिल्लामा रहेका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिन पनि महासंघले भनेको छ । 

७ वटै प्रदेश महासंघहरुले आ–आफ्ना प्रदेशमा रहेका मुख्यमन्त्रीको कार्यालयमा धर्ना दिने छन् । तालिका अनुसार धर्नाको कार्यक्रम प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो १२ बजेसम्म रहने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved