बाहिरी चक्रपथः १७ वर्षमा जग्गाको भाउले आकाश छोयो, तर काम सुरु नै भएन

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 09, 2022 | 10:34:09 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ उपत्यकामा सवारीको अत्याधिक चाप हुने चक्रपथ (कलंकी–कोटेश्वर २७ किलोमिटर)को विकल्पका रुपमा बाहिरी चक्रपथको अवधारणा आएको २ दशक नाघ्यो । यता, कलंकी–कोटेश्वर रिङ रोडमा सवारीको चाप दिन प्रतिदिन बढिरहेको छ भने, उता बाहिरी चक्रपथ बन्ने कुरा अब कल्पनामै सिमित हुने अवस्थातर्फ उन्मुख भइरहेको छ ।

यो परियोजना १७ वर्षदेखि अलपत्र छ । काठमाडौँ उपत्यका विकास प्राधिकरण (केभीडीए)ले पटक पटक विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) परिवर्तन गर्दै आएको भएपनि यो परियोजना बन्नेमा प्राधिकरणकै अधिकारीहरु विश्वास गर्दैनन् । किनकी, यो परियोजनाको घोषणा भएपछि रेखांकन गरिएका क्षेत्रमा जग्गाको भाउ अचाक्ली बढेको छ ।

हरेक वर्ष बजेट भाषणमार्फत बाहिरी चक्रपथ परियोजनाका लागि बजेट छुट्टिने गरेको भएपनि काम भने सुरु हुन सकेको छैन । प्राधिकरण पुनः यो परियोजनाको डीपीआर परिवर्तन गर्ने ‘मुड’मा छ । यसका लागि सहरी विकास मन्त्रालयसँग प्राधिकरण छलफल गर्ने तयारीमा देखिएको छ ।

जग्गाको भाउ बढेको बढ्यै, परियोजना अनिश्चित

२०५८ सालबाट निर्माणको बहस सुरु भएको बाहिरी चक्रपथ परियोजनाका लागि प्रस्ताव गरिएको रुट अहिले घना बस्ती बसिसकेको छ । जग्गाको भाउ अनुसार मुआब्जा दिन नसक्ने देखेपछि सहरी विकास मन्त्रालय स्वयम् यो परियोजना बन्नेमा ढुक्क छैन । 

यो परियोजनाको प्रस्तावित रेखाङ्कन अनुसार चोभार, भूतखेल, पाँगा, बालकुमारी, मच्छेगाउँ, सतुङ्गल, बलम्बु, बलम्बु चुनिखेल, पुरानो नैकाप, किट्नी भञ्ज्याङ, स्युचाटार किम्सी, डाँडा पैवा, सीतापाइला, इचंगुनारायण रानीवनदेखि पैयाँटासम्म थियो । धर्मस्थली, काभ्रेस्थली, फुटुङ, टोखा, खड्का भद्रकाली, बुढानिलकण्ठ, चपली, चुनीखेल, बालुवा, जगडोल भञ्ज्याङ, गोकर्णेश्वर, सनडोल, घट्टेखोलादेखि नयाँपाटीसम्म काठमाडौँ क्षेत्र पर्थ्यो । 

भक्तपुरपट्टि थली डाँछी, मनोहरा खोला, चाँगुनारायण, दुवाकोट, झौखेल, छालिङ, पकौनेपाटी, खरीपाटी, बागेश्वरी, सुडाल, ताथली, चित्तपोल, भातेढिकुरोसम्म रेखाङ्कन गरिएको छ । भक्तपूर क्षेत्रमा पर्ने अरनिको राजमार्ग, कटुञ्जे, दधिकोट, सिरुटारसम्म भक्तपूरको भूभाग रहने गरी रेखाङ्खन गरिएको थियो ।

ललितपुरतर्फ लुभु, सानागाउँ, हरिसिद्ध, थैव, भरुवारासी, धापाखेल, सुनाकोठी, बुङमती, खोकना, सानो खोकना हुँदै काठमाडौंको चोभार निस्किने गरी डीपीआर तयार पारिएको थियो । 

तर, अहिले यी क्षेत्रमा जग्गाको भाउ आकासिएको छ । चल्तीको भाउ अनुसार मुआब्जा दिँदा कति अर्ब लाग्ने हो भन्ने नै यकिन गर्न काठमाडौँ उपत्यका विकास प्राधिकरण र मन्त्रालयलाई नै हम्मे हम्मे परेको छ ।

यसअघिः
बाहिरी चक्रपथः न बन्छ, न खारेज हुन्छ !

परियोजनाका लागि जग्गा अधिग्रहणको काम समयमै सुरु नहुँदा परियोजना बन्ने वा नबन्ने अनिश्चित भएको छ । जग्गा एकीकरण नहुँदा रेखाङ्कन गरिएका क्षेत्रमा कित्ताकाट सँगै स्थायी संरचना बनेकाले यो परियोजनाको काम तत्काल सुरु हुने अवस्था नदेखिएको प्राधिकरणकै अधिकारीहरुको स्वीकार गर्छन् ।

पूर्व मन्त्री भन्छिन्, ‘जग्गाको भाउ बढाउने बाहेक अर्को काम भएन’

सर्वोच्च अदालतले संसल विघटन बदर गरेपछि काँग्रेसको नेतृत्वमा बनेको सत्ता गठबन्धनमा सहरी विकास मन्त्रालय एमालेबाट विभाजन भएर बनेको नेकपा एकिकृत समाजवादीले पाएको थियो । यो मन्त्रालयको नेतृत्वमा करिब ७ महिना रामकुमारी झाक्री रहिन् । 

उनले नै केही समय अगाडी बाहिरी चक्रपथ परियोजनाको नाममा रेखाङ्कन क्षेत्र अर्थात् प्रस्तावित रुटमा १७ वर्षदेखि जग्गाको भाउ बढाउने बाहेक अर्को उपलब्धि नभएको स्वीकार गरेकी छिन् । उनले प्रस्तावित रुटमा पर्ने जग्गा आना–आनामा कित्ताकाट भएको अर्थात् टुक्रा टुक्रा भएको र हरेक पटक जग्गा टुक्रिँदा भाउ बढिरहेको बताएकी थिइन् ।

‘आयोजनाले जग्गाको भाउ बढाउने काम मात्रै गरेको छ’ झाक्रीले भनेकी थिइन् ।

डीपीआर नै फेर्नुपर्ने निष्कर्षमा ‘केभीडीए’

काठमाडौँ उपत्यका विकास प्राधिकरण पूरानै डीपीआर अनुसार यो परियोजना बनाउन नसकिने निष्कर्षमा करिब करिब पुगिसकेको छ । डीपीआर परिवर्तन गर्नुपर्ने र नयाँ डीपीआर बनाउन अध्ययन हुनुपर्ने प्राधिकरण स्रोतको भनाई छ ।

८० करोड रुपैयाँ लागतमा तयार भएको डीपीआर काम नलाग्ने भएकाले अब नयाँ डीपीआर नबनाई नहुने प्राधिकरणको बुझाई छ ।

डीपीआर अनुसार बाहिरी चक्रपथ कुल ७२ किलोमिटर लामो बन्ने भनिएको छ । योमध्ये काठमाडौँमा ३५.८ कि.मी., भक्तपुरमा २१.५ कि.मी. र ललितपुरमा १५.८० कि.मी. पर्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved