
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले आज नागढुंगा–नौबिसे सुरुङमार्गको अनुगमन गरेका छन् । मन्त्री ज्वाला शुक्रबार विहान ७ बजे प्राविधिक टोली लिएर नागढुङ्गा सुरुङ्गमार्गको निर्माणमा भएको प्रगति र अवस्थाबारे स्थलगत अवलोकनमा पुगेका थिए ।
अनुगमनका क्रममा मन्त्री ज्वालाले तोकिएकै मितिमा सम्पन्न गर्ने गरी का गर्न निर्देशन दिएका छन् ।
मुख्य टनेल ६ सय मिटर र रेस्क्यु टनेल २ सय मिटर खन्न बाँकी छ । उक्त सुरुङमार्गको मुख्य टनेल आउँदो दशैँ आसपास ‘ब्रेक थ्रो’ गर्ने लक्ष्य लिइएको छ ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते नागढुंगा–नौबिसे सुरुङमार्गको शिलान्यास गरेका थिए । शिलान्यास भएको करिब १४ महिनापछि मात्रै सुरुङ खन्न सुरु गरिएको थियो ।
सुरुङमार्गको कुल लम्बाइ २.६८ किलोमिटर हुनेछ । साढे नौ र चार मिटरका दुईवटा सुरुङ निर्माण गर्ने आयोजनाको लक्ष्य छ । यो आयोजना निर्माणमा जापानी सहयोग नियोग जाइकाले साढे १६ अर्ब ऋण र नेपाल सरकारको करिब ६ अर्ब गरी कुल साढे २२ अर्ब रूपैयाँ लागत लाग्नेछ ।