
नागढुङ्गास्थित निर्माणाधिन सुरुङमार्गको टनेल निर्माणको काम अहिले जारी छ । मुख्य टनेल जोड्न अझै ६०० मिटर बाँकी छ भने रेस्क्यु टनेल जोडिन २०० मिटर बाँकी छ ।
नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले आगामी दशैंँसम्ममा मुख्य टनेल जोडिसक्ने बताएको छ । टनेल जोडिए पनि सडकको अन्य पुर्वाधार, लाईटनिङलगायतको धेरै काम बाँकी हुन्छ ।
धेरै निर्माणको काम गर्न बाँकी रहेकै बेला आज स्थलगत अनुगमनमा पुगेका भौतिक पूर्वाधार तथा यातायात्र मन्त्री प्रकाश ज्वालाले एक वर्ष भित्रमा गाडी चलाउने गरी काम अघि बढाउने बताए ।
मन्त्री ज्वालाले भने “एक वर्षभित्र गाडी चल्नसक्ने गरी कामलाई अझै तिब्र बनाउने काममा हामी लाग्नेछौँ, केही मुआव्जा वा आपूर्ती प्रक्रियामा समस्या होलान् आयोजना प्रमुखलगायतसँग छलफल गरेर छिटै समाधान गछौँ ।”
उनले छिटोभन्दा छिटो आयोजना सम्पन्न गरेर सेवा दिन सरकार आतुर रहेको पनि बताए । तर त्यही अनुगमनका क्रममा आयोजनाका कन्सल्ट्यान्टतर्फका इन्जिनियर रमेश कोइरालाले एक वर्षमा गाडी चल्ने गरी काम नसकिने बताए । उनले भने, “दुई वर्ष कट्दैन भनेपछि मन्त्री ज्यूले भनेको एक वर्ष ठिकै हो ।” उनले कम्तिमा पनि सडक सञ्चालन गर्न डेढ वर्ष लाग्ने बताए ।
उक्त आयोजना अहिले एक वर्ष म्याद थप गरेर काम भइरहेको छ । आउँदो दशैँ आसपासमा टनेल जोडेर ब्रेक थ्रो गर्ने कोइरालाले बताएका छन् । त्यसपछि अन्य पूर्वाधारको काम थालिने छ ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते नागढुंगा–नौबिसे सुरुङमार्गको शिलान्यास गरेका थिए । शिलान्यास भएको करिब १४ महिनापछि मात्रै सुरुङ खन्न सुरु गरिएको थियो ।
सुरुङमार्गको कुल लम्बाइ २.६८ किलोमिटर हुनेछ । साढे नौ र चार मिटरका दुईवटा सुरुङ निर्माण भइरहेको छ ।
यो आयोजना निर्माणमा जापानी सहयोग नियोग जाइकाले साढे १६ अर्ब ऋण र नेपाल सरकारको करिब ६ अर्ब गरी कुल साढे २२ अर्ब रूपैयाँ लागत लाग्ने जनाइएको छ ।