'निर्माण उद्योगको समस्या समाधान गर्न राज्य उदासीन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2024 | 08:53:05 PM मा प्रकाशित

निर्माण व्यवसायीहरूले निर्माण उद्योगको समस्या समाधानका लागि राज्य गम्भीर नभएको आरोप लगाएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका एशोसिएट सदस्य समन्वय समितिको बाह्रौं साधारण भेलामा व्यवसायीहरूले निर्माण उद्योगमा चुनौतिका चाङ रहेपनि समस्या समाधानमा राज्य उदासिन भएको बताएका हुन् । 

भेलालाई सम्बोधन गर्दै महासंघका अध्यक्ष एवं भेलाका प्रमुख अतिथि रवि सिंहले महासंघ सँग विगतमा गरेका सहमति लागू नगर्नु राज्यको लाचारी भएको टिप्पणी गरे । आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्नु अघि राज्यले निर्माण व्यवसायीहरूसँग कुनै सर सल्लाह नगरेको बताउँदै अध्यक्ष सिंहले निर्माण उद्योग चलायमान नभएकै कारण अर्थतन्त्रमा निरन्तर समस्या आइरहेको दाबी गरे ।

देशभरका सबै तह र तप्काका निर्माण व्यवसायीहरू एकजुट भएमा निर्माण उद्योगको समस्या समाधान गर्ने दिशामा राज्यलाई सशक्त दबाब दिन सकिने अध्यक्ष सिंहले बताए । प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङले निर्माण व्यवसायीहरूलाई कर्मचारीतन्त्रबाट पूरै असहयोग भइरहेको भन्दै निर्माण उद्योगको महत्व कसैले बुझ्न नसकेको बताए । निर्माण व्यवसायीहरूको हक हितको रक्षार्थ महासंघले दबाबमुलक कार्यक्रम गर्नुपर्ने सुझाव उनले दिए ।

महासंघका सल्लाहकार एवं पूर्व अध्यक्ष रमेश शर्माले राज्यले निर्माण व्यवसायीहरूको अरबौं भुक्तानी नदिँदा व्यवसायीहरूले विगतमा पाएका सहुलियत समेत अहिले नपाउनु ठूलो अन्याय भएको प्रतिक्रिया व्यक्त गर्नुभयो । महासंघका सल्लाहकार एवं पूर्व अध्यक्ष यक्षध्वज कार्कीले निर्माण व्यवसायीहरूको एकता आजको मुख्य आवश्यकता भएको बताए ।  महासंघका अर्का सल्लाहकार एवं पूर्व अध्यक्ष जयराम लामिछानेले निर्माण उद्योग अत्यन्त कठीन मोडमा पुगेको बताउँदै क्रियाशील निर्माण व्यवसायीहरूलाई नटिकाई अरु निर्माण व्यवसायीहरूको संख्या बढाउँदै लैजानु अनुचित भएको तर्क गरे । महासंघका निवर्तमान अध्यक्ष विष्णुभाइ श्रेष्ठले ठेक्का सम्झौता विपरीत जाने निर्माण व्यवसायीलाई कार्वाही हुँदा कर्मचारीले भने उन्मुक्ती पाउनु प्राकृतिक न्यायको सिद्धान्त विपरित भएको धारणा राखे । 

भेलाको सभाध्यक्ष समेत रहेका महासंघ एशोसिएट सदस्य समन्वय समितिका संयोजक रामजी पन्त ‘मुकेश’ ले आर्थिक वर्ष २०८१÷८२ को बजेटबाट निर्माण उद्योगमा देखिएको समस्या समाधान हुन नसक्ने बताए । भुक्तानी, मूल्य समायोजन, निर्माण व्यवसायीलाई दिनुपर्ने सहुलियत, विगतका सहमतिको पालना लगायतका कुनै पनि मुख्य विषय बजेटले सम्बोधन नगर्दा निर्माण व्यवसायीहरू निराश भएको उनले बताए । महासंघका महासचिव रोशन दाहालले सबै खालका निर्माण व्यवसायीहरूका समस्या समाधान गर्न महासंघको वर्तमान नेतृत्व प्रतिबद्ध रहेको बताए । 

सुदूरपश्चिम निर्माण व्यवसायी महासंघका अध्यक्ष लक्ष्मण स्वार, नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठनका महासचिव मंगल शाही लगायतले सबै निर्माण व्यवसायीहरू एकजुट भएर अघि बढ्नुपर्ने बताए  । भेलामा एशोसिएट समन्वय समितिको तर्फबाट सचिव नवराज श्रेष्ठ र कोषाध्यक्ष लक्ष्मी बस्नेत कार्कीबाट प्रस्तुत वार्षिक प्रतिवेदन पारित भएको थियो । महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी.) ले नेपालको निर्माण उद्योग र निर्माण व्यवसायीहरूको भूमिका तथा महासंघका कानून सल्लाहकार वरिष्ठ अधिवक्ता टंकप्रसाद दुलालले विद्यमान सार्वजनिक खरिद ऐन तथा नियमावलीका विविध पाटोबारे प्रकाश पार्नु भएको थियो ।

धन्यवाद ज्ञापन गर्दै एशोसिएट समन्वय समितिका सहसंयोजक एन.सी शेर्पाले भेलाले पारित गरेका प्रस्तावहरू कार्यान्वयनका लागि तत्काल पहल गरिने बताए । 

सोही अवसरमा एशोसिएट समन्वय समितिले नेपालका लागि किर्गिज गणतन्त्रको अवैतनिक राजदूत नियुक्त महासंघका पूर्व अध्यक्ष एवं सल्लाहकार रमेश शर्मालाई सम्मान गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved