नेपाली पुँजीबजारमा कोरोनाको प्रभाव, चुनौति र अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2020 | 07:05:52 PM मा प्रकाशित

laxmi  sunrise bank

पोस्कर बस्नेत

विश्व इतिहासमा शताब्दी यताकै सबैभन्दा ठूलो माहामारीको रुपमा देखा परेको कोभिड–१९ रोगले विश्व समुदायलाई आक्रान्त, तरङ्गित र आतकिंत तुल्याइरहेको अवस्था छ । चिनको हुवान शहरबाट शुरु भएको यस महामारी विश्वका सम्पूर्ण देशभरी फैलदा लाखौँ मानिसहरुले आफ्नो ज्यान गुमाइसकेका छन् भने लाखौँ संङ्क्रमित भई उपचारको क्रममा रहेका छन् । कोभिड–१९ ले विश्वका सबै ठूला तथा साना अर्थव्यवस्था भएका मुलुकहरुलाई प्रत्यक्ष गम्भिर प्रभाव पुर्याएको अवस्था छ ।

विश्वव्यापी रुपमा महा–संकटको अवस्था सृजना गर्दै गरेको यो रोग निवारण कहिले र कसरी होला भन्ने भय, डर, चिन्ता र अन्यौल विश्व भरीनै व्याप्त रहेको पाईन्छ र विश्व स्वास्थ्य सेवामा काम गर्दै आईरहेको विश्व स्वास्थ्य संगठन साथै यस संग सम्बन्धित अन्य अनुसन्धानहरुले समेत सो कुराको प्रक्षेपण गर्न नसकिरहेको अवस्था छ । विश्व स्वास्थ्य संगठन, अन्र्तराष्ट्रिय मुद्रा कोष, विश्व बैंक, एशियाली विकास बैंक, संयुक्क्त राष्ट्र संघ र विभिन्न अन्तराष्ट्रिय निकायहरुले जारी गरीरहेका विज्ञप्ति र प्रतिवेदनलाई अध्ययन गर्ने हो भने पनि भविश्यको क्षतिको अनुमान र प्रभाव पार्न सक्ने आर्थिक सामाजिक असर यस्तै होला भन्न सक्ने अवस्था छैन् । जसले गर्दा विश्वका सम्पूर्ण मुलुकहरुक ासामाजिक, सांस्कृतिक र मानव समुदायको क्षेत्रमा यसको प्रभाव देखिने नै छ । यसको साथ साथै प्रमुख रुपमा सबै मुलुकका अर्थव्यवस्थाका क्षेत्रहरुमा दीर्घकालिन गहिरो प्रभाव देखिने प्रायः निश्चत रहेको छ ।

कोभिड–१९ रोगको संङ्क्रमण विश्वमा फैलिन प्रारम्भ भए लगतै विश्वका अन्य मुलुकहरुमा जस्तै नेपालमा पनि विगत २ महिना भन्दा बढि समयदेखी यो रोगको संङ्क्रमणको जोखिम न्यूनिकरण गर्ने एक उपायको रुपमा लकडाउनलाई अवलम्बन गरीदै आइएको छ । लकडाउनले गर्दा लामो समयदेखी मुलुकको विकास निर्माण र प्रत्येक्ष तथा अप्रत्येक्ष आर्थिक गतिविधिहरु सुस्त हुनु र प्रायः ठप्प जस्तो हुनुले नेपाल जस्तो सानो तथा रेमिटेन्स र आयतमा निर्भर अर्थव्यवस्था भएको मुलुकलाई गम्भिर आर्थिक संकट पर्ने देखिन्छ । यस्तो परिस्थितिबाट अर्थव्यवस्थालाई उकास्न समयमै देश भित्रकै स्रोत तथा साधनहरुलाई प्रभावकारी ढंगले परिचालन गर्दै भोलिका बर्षहरुमा मुलुकको अर्थव्यवस्थालाई सुदृढ बनाउदै लानुपर्ने आवश्यकता देखिन्छ ।

विश्वमाठूला तथा साना अर्थव्यवस्थाहरुमा कोभिड–१९ को लामो समयसम्मको निरन्तर प्रभावले गर्दा सिथिल रहने अवस्थामा नेपाल जस्तो परनिर्भर अर्थव्यवस्थालाई अन्य मुलुकहरुबाट पनि आवश्यक साथ सहयोगमा कमी हुने बाध्यातमक परिस्थितिमा यसबाट उत्पन्न हुने अनगिन्ती आर्थिक आवश्यकता रचुनौतिहरु भोलिका बर्षहरुमा मुलुकले सामना गर्नुपर्ने देखिन्छ । तर, हरेक संकट रचुनौतिहरुका साथ अवसरहरु समेत सृजनाभइरहेका हुन्छन् र त्यस्ता अवसरहरुलाई पहिचान गरी देश भित्रकै स्रोत तथा साधनहरुलाई प्रभावकारी ढंगले परिचालन गर्दै आर्थिक गतिविधिहरुलाई थप क्रियाशील बनाउदै लैजानु पर्छ भन्ने कुरामा कुनै दुई मत नहोला ।

विश्वास गरौ कि एक दिन विश्व कोभिड–१९ रोगको माहामारीबाट मुक्त हुने नै छ तर त्यस पश्चात पनि यसबाट उत्पन्न भएका प्रभावहरु धेरै बर्षहरुसम्म रहिरहने छन्् । यसै पृष्ठभूमिलाई आधार मान्दै त्यस्ता प्रभावहरुलाई न्युनिकरण गर्न नेपाली पुँजी बजारले भविष्यमा कस्ता किसिमका चुनौतिहरु समाना गर्दै राम्रा अवसरहरुको निर्माण गर्न सक्छ र सुस्ताउदै गरेको नेपाली अर्थव्यवस्थालाई उकास्न के–कस्ता योगदानहरु गर्न सक्छ भन्नेकुरालाई केन्द्रमा राखेर यस लेखमाएक विश्लेषण गर्ने प्रयास गरीएको छ ।

कोभिड–१९ माहामारील ेनेपालमा प्रभावित हुन सक्ने क्षेत्रहरु:

नेपाल एक विश्वका ठूला अर्थतन्त्र भएका दुई छिमेकी देशहरुको बिचमा रहेको सानो अर्थतन्त्र भएको राष्ट्र हो र नेपालयी दुई देशहरुको अर्थतन्त्रसंग प्रत्येक्ष सम्बन्ध राख्दछ भन्दा फरक नपर्ला । यसका बावजुद विश्वका अन्य मुलुकहरुले जस्तै नेपालको अर्थतन्त्रले पनि विश्वव्यापीकरणको सिद्घान्तलाई अनुशरण गर्दै उदार अर्थनितिमा अगाडी बढीरहेको पाईन्छ यसका साथै वैदेशिक लगानी भित्र्याउने र वैदेशिक रोजगारीमा समेत नेपालीहरुको ठूलो उपस्थिति रहेको पाईन्छ र विश्वका अनेक मुलुकहरुसँग व्यापारीक सम्बन्ध रहदै आएको छ । एकातर्फ नेपाल आफै यस माहामारीको संकटबाट बच्न संघर्ष गरीरहेको छ भने अर्कोतर्फ दुई छिमेकी देशहरु साथै अन्य वैदेशिक रोजगारी र व्यापारीक सम्बन्ध रहेका देशहरुसमेत यस माहामारीको स्थिति बाट गुज्रिरहेका छन् ।

यसै सन्दर्भमा नेपाल भित्रका विभिन्न उत्पादन तथा सेवामुखी क्षेत्रहरु साथै विकास निर्माणका क्षेत्रहरुमा गहिरो प्रभाव पर्ने देखिन्छ र विश्व अर्थतन्त्रमा साथै दुई छिमेकी देशहरुको अर्थतन्त्रमा पार्ने प्रभावहरुका कारण नेपालको जस्तो रेमिटेन्स र आयातमा आधारित अर्थतन्त्रलाई थप जटिलता निम्त्याउने देखिन्छ । नेपाली अर्थतन्त्रका मूख्य चार क्षेत्रहरुः पर्यटन, पूर्वाधार निर्माण, वैदेशिक रोजगार (रेमिटेन्स) र वैदेशिक व्यापार रहेका छन् र यी चारै क्षेत्रहरुमा कोभिड–१९ रोगको माहामारीका कारण प्रत्येक्ष प्रभाव पर्ने देखिन्छ । कोभिड–१९ माहामारीले नेपालमा सबैभन्दा धेरै र प्रत्येक्ष यदि कुनै क्षेत्रलाई प्रभाव पार्दछ भने त्यो क्षेत्र भनेको पर्यटन र वैदेशिक रोजगार (रेमिटेन्स) रहेका छन् । तर नेपालको अर्थतन्त्रको सबैभन्दा ठूलो हिस्सा ओगटेका यी दुई क्षेत्र प्रभावित हुनासाथ स्वभाविक रुपमा अर्थतन्त्रका सम्रग क्षेत्रहरुमा यसको गहिरो प्रभाव देखिने नै छ ।

कोरोना भाइरस संक्रमणको फैलिने स्थिति र यस रोगको प्रकृति हेर्दा विश्वभरीका पर्यटकहरुले भ्रमण तालिका र स्वभावहरुमा परिवर्तन ल्याउने र विश्वका मुलुकहरुले पनि पर्यटकीय तथा भम्रण क्रियाकलापहरुमा आफ्ना नागरिकहरुलाई रोक लगाउने खालको निति अवलम्बन गर्नसक्ने हुनाले नेपालमा विदेशी पर्यटकहरुको आगमन नराम्रो सँगले प्रभावित भई यससँग सम्बन्धित व्यापार व्यवसायहरु खस्किन पुग्नेछन् । साथै, देशमा पर्यटकहरुको आगमन निरन्तर घट्नुले यस क्षेत्रमा भएका स्वदेशी तथा विदेशी लगानीहरु विस्तारै डुब्न सक्ने खतरा बढेर जानेछ र जसले गर्दा यस क्षेत्रमा कार्यरत लाखौं रोजगारीहरु गुम्न गई यसको असर नेपालीहरुको जीवनस्तरमा देखिन थाल्नेछ ।

यो रोगको संक्रमणको प्रभावले विश्व अर्थतन्त्रमा संकट पैदा हुँदै गर्दा निश्चय पनि नेपालबाट वैदेशिक रोजगारीको शिलशिलामा विभिन्न देशहरुमा रहेका लाखौं नेपालीहरुले आफ्ना रोजगारीहरु गुमाउनु पर्ने स्थिति आउन गई झण्डै दुई दशक भन्दा लामो समयदेखी देशको अर्थतन्त्रलाई टेवा दिएको रेमिटेन्सको भरथेग यस रोगको प्रभावले सिथिल हुने देखिन्छ । यसरी देश भित्र तथा बाहिरका नेपाली नागरिकहरुले रोजगारी गुमाउनुले मुलुकको अर्थतन्त्रले भविश्यमा चरम बेरोजगारीको समस्या भोग्नु पर्ने समस्या देखिन्छ ।

कोरोना भाइरसको प्रभावले निर्माणाधीन तथा भविष्यको योजनामा रहेका जलविद्युत, सिंचाई, सडक, हवाई, पर्यटन जस्ता कैयांै साना तथा ठूला आयोजनाहरु रोकिनाले मुलुकको पूर्वाधार निर्माणको गतिविधिमा अवरोध हुन गई स्वदेशी उत्पादन तथा वैदेशिक व्यापारमा ह्रास आउने देखिन्छ । यसरी नेपाली अर्थतन्त्रका मूख्य चार क्षेत्रहरुमा उच्च प्रभाव पर्नासाथ स्वभाविक रुपमा मुलुकका अन्य प्रमुख क्षेत्रहरु जस्तैःशिक्षा, स्वास्थ्य, यातायात, औद्योगिक, कृषि, उत्पादन इत्यादि क्षेत्रहरुमा समेत असर पर्ने देखिन्छ । 

कुनै पनि देशको अर्थतन्त्रको मेरुदण्ड तथा प्रतिविम्बको रुपमा बैंक–वित्तीय तथा पुँजी बजारको क्षेत्रलाई लिने गरीएको पाईन्छ र कोभिड–१९ को प्रभावले नेपालका विभिन्न क्षेत्रहरुलाई ग्रसित पारिरहँदा एकातर्फ देशभित्र तथा बाहिरको पुँजीलाई एकिकृत गरी बैंक–वित्तीय संस्थाहरु मार्फत परिचालन गर्नु एउटा ठूलो चुनौतिको रुपमा देखा पर्नेछ भने अर्कोतर्फ बैंकिङ्ग प्रणालीमा निक्षेप घट्दै जानु र गरीएको लगानी असुलीमा ह्रास आउनाले निष्कृय कर्जामा बृद्घि भई बैंकिङ्ग प्रणाली नै धराशयी हुने स्थिति आउन सक्ने ठूलो चुनौतिको रुपमा रहेको हुन्छ ।

नेपालीपुँजी बजारको वर्तमान अवस्था:

कुनै पनि अर्थतन्त्रको वित्तीय प्रणालीको एउटा अभिन्न अंगको रुपमा रहेको पुँजी बजार जसको माध्यमबाट लगानी योग्य पुँजीलाई एकिकृत गरी प्रभावकारी ढंगले अर्थतन्त्रमा परिचालन गर्न सकिन्छ । नेपाली पुँजी बजारको सुरुवात कम्पनी ऐन अन्र्तगत स्थापना भएको नेपाल बैंकले वि.सं. १९९४ मा सार्वजनिक शेयर निश्काशन भई बजारमा आए संगै भएको पाइन्छ । धितोपत्र सम्बन्धी ऐन २०६३ जारी भएसंगै नेपाली पुँजी बजारको विकासले तिव्रता लिएको पाइन्छ । नेपालको पुँजी बजार विकास, विस्तार र सहभागीमूलक बनाउन बजारको नियमन निकायको रुपमा स्थापित नेपाल धितोपत्र बोर्डले काम गर्दै आइरहेको छ । विश्वका अन्य मुलुकहरुको दाँजोमा नेपाली पुँजी बजारले सोचे अनुरुपको विकास तथा विस्तार गरेको पाइदैन् । त्यसका पछाडी अनेक राजनितिक र सामाजिक घटनाक्रमहरु र कारणहरु बाधाको रुपमा हुन सक्लान तर पछिल्लो समयलाई आधार मान्ने हो भने नेपाली पुँजी बजार विस्तारले एउटा राम्रो गति लिइरहेको पाईन्छ ।

वर्तमान अवस्थामा विभिन्न भौतिक तथा प्रावधिक पूर्वाधारहरु निमार्ण गर्दै नेपाली पुँजी बजार अघि बढीरहेको पाईन्छ र यससँगै नेपाली पुँजी बजारलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउनका लागी निरन्तर विभिन्न ऐन, नीति–नियम र कानुनी व्यवस्थाहरु समेत गरीरहेको पाईन्छ र अन्र्तराष्ट्रिय स्तरको बनाउन प्रयासरत रहेको पाईन्छ । नेपाली पुँजी बजारमा पछिल्लो समय नेपालीहरुको सहभागीमूलक उपस्थितिमा समेत उल्लेख्य बृद्घि भईरहेको छ । नेपाली पुँजी बजार पनि आधुनिक युगमा प्रवेश गरिसकेको अवस्थामा आधुनिक प्रविधिहरुको प्रयोग र परिचालन गर्ने कार्यको थालनी भईसकेको र बजारका सेवाहरुलाई नेपालीहरुको अधिकतम पहुँचमा पर्याउँदै शीघ्र, सरल र सहज बनाउन विभिन्न कार्यहरु भईरहेको पाईन्छ ।

पछिल्ला बर्षहरुमा नेपाली पुँजी बजारमा कम्पनी ऐन अन्तर्गत स्थापित विभिन्न कम्पनीहरुले धितोपत्रको प्राथमिक बजार मार्फत शेयर निष्काशन गरी मुलुकभरीबाट पुँजी एकिकृत गरी परिचालन भईरहेको अवस्थामा सबैभन्दा बढी बैंक तथा वित्तीय कम्पनीहरुबाट भईरहेको पाईन्छ । तर अहिलेसम्म पनि अन्य क्षेत्रहरुलाई पुँजी बजारमा आवद्घ गराउन सकिरहेको अवस्था छैन् । यसरी पँुजी परिचालन गर्न प्रारम्भिक सार्वजनिक निष्कासन, हकप्रद शेयर, बोनस शेयर, ऋिणपत्र निष्कासन जस्ता औजारहरुको प्रयोग बढी मात्रामा भईरहेको पाईन्छ । यसै गरी नेपाली पुँजी बजारमा धितोपत्रको दोस्रो बजारको पनि विकास तथा विस्तार भईरहेको पाईन्छ र यसरी हेर्दा नेपाली पुँजी बजारको विकास तथा विस्तार गर्ने क्रममा नेपाल धितोपत्र बोर्ड, स्टक एक्सचेन्ज, केन्द्रीय निक्षेप कम्पनी, क्रेडिट रेटिङ्ग कम्पनी, मर्चेन्ट बैंकर, धितोपत्र दलाल व्यवसायी, सूचिकृत कम्पनीहरु र लगानीकर्ताहरुको ठूलो भुमिका रहेको पाईन्छ ।

कोभिड–१९ को प्रभावसँगै नेपाली पुँजी बजारका चुनौति र अवसरहरु:

विश्वमा अप्रत्यासित रुपमा देखा परेको कोभिड–१९ संक्रमणको प्रभाव नेपाली अर्थतन्त्रमा देखिनासाथ स्वभाविक रुपमा यसै अर्थतन्त्रको एक अभिन्न अंगको रुपमा रहेको नेपाली पुँजी बजारमा पनि देखिने छ । अपरिपक्क र अनगिन्ती चुनौतिहरुका बिच नेपाली अर्थतन्त्रमा भरखरै बामे सर्दै गरेको नेपाली पुँजी बजारलाई कोभिड–१९ संक्रमणको प्रभावले झनै चुनौति थपिदिएको छ भन्ने विश्लेषण गर्न सकिन्छ । एकातर्फ नेपाली पुँजी बजार विकास तथा विस्तारका आफ्नै उतार चढाव र चुनौतिहरु रहदै आएका छन् भने अर्को तर्फ कोभिड–१९ ले नेपाली अर्थतन्त्रलाई थपिदिएको चुनौतिको सामना र स्थायित्व कायम गर्न अर्थतन्त्रले नेपाली पुँजी बजारसंग प्रभावकारी भुमिकाको अपेक्षा गर्ने नै छ । जुन नेपाली पुँजी बजारलाई एउटा ठूलो चुनौतिको रुपमा भविष्यको बाटोमा देखा पर्नेछ । यस्तो प्रकारको परिस्थितिबाट सृजित चुनौतिहरुको सामना गर्दै चुनौतिहरुलाई एउटा महत्वपूर्ण अवसरको रुपमा बद्लिन नेपाल सरकार र नेपाली पुँजी बजारसँग सम्बद्घ सम्पूर्ण पक्षहरु एक ठाँउमा उभिएर अगाडी बढ्नुको कुनै विकल्प छैन् ।

कोभिड–१९ को प्रभावसँगै नेपाली पुँजी बजारमा देखिने प्रमुख चुनौतिहरुः

१) नेपालको पुँजी बजारको पहुँच देशका केही सिमित वर्ग र क्षेत्रहरुमा मात्र खुम्चिरहेको अवस्थामा कोरोना भाइरसको प्रभाव सँगै राष्ट्रिय स्तरमा पुँजी बजारको विकास र पहुँच विस्तार गर्दै र जनताहरुलाई यस सम्बन्धी साक्षर बनाउँदै लैजानु पर्ने देखिन्छ ।

२) नेपालको अर्थतन्त्रमा कोरोना भाइरसको प्रभावले उत्पन्न हुने बेरोजगारीको समस्या, नेपालीहरुको आय स्तरमा आउने कमी र जीवनस्तरमा देखिने प्रत्यक्ष प्रभावका कारण देश भित्र र बाहिर छरिएर रहेको पुँजीलाई एकिकृत गरी देशको आर्थिक गतिविधिहरुमा परिचालन गर्नुपर्ने चुनौति रहेको छ ।

३) कोरोना भाइरसको प्रभाव नेपालको वित्तीय प्रणालीमा समेत देखिने नै छ जसको कारणले गर्दा बैंक तथा वित्तीय संस्थाहरु धरासायी हुने स्थिति आउन गई एकिकृत पुँजी प्रभावकारी ढंगले परिचालन गर्ने कुरामा ठूलो चुनौति देखिन सक्छ ।

४) कोभिड–१९ को प्रभावले गर्दा नेपालमा स्थापना भएका कम्पनीहरुको आयस्तर घट्न जाने सम्भावना देखिन्छ जसको कारणले गर्दा पुँजी बजार प्रति आम लगानीकर्ताहरुको आकर्षण घट्न गई पुँजी संकलनमा बाधा पर्न सक्ने देखिन्छ ।

५) कोरोना भाइरसका कारण नेपालको प्राथमिक धितोपत्र बजार र दोस्रो बजारमा लगानीकर्ताहरुको सहभागीता घट्न गई पुँजी बजारका सम्पूर्ण गतिविधिहरुमा यसको प्रत्येक्ष असर देखिनाले पुँजी बजारलाई चलयमान र स्थिर बनाई राख्ने चुनौति समेत देखा पर्ने सम्भावना रहेको छ ।

कोभिड–१९ को प्रभावसँगै नेपाली पुँजी बजारमा देखिने चुनौतिहरुका बिच अवसरहरुको खोजीः

कोभिड–१९ को प्रभावसँगै नेपाली पुँजी बजारमा देखिने चुनौतिहरुलाई एउटा महत्वपूर्ण अवसरको रुपमा बदलिन प्रभावकारी र रणनीतिक  योजनाहरुलाई द्रुत गतिमा कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता देखिन्छ । साथै नेपालको पुँजी बजारमा बिगतका बर्षहरुमा देखिएका चुनौति र सम्भावनाहरुलाई मार्ग दर्शनको रुपमा प्रयोग गरी अन्र्तराष्ट्रिय बजारमा हुने र भई आएका कुराहरुलाई ध्यानमा राखी अघि बढिएमा अवश्य पनि यस्तो संकटको समयमा अवसरहरु खोज्न सकिन्छ ।

१) नेपाली पुँजी बजार संग सम्बन्धीत पूर्वाधार विकास संगै यसको पहँुचको दायरा विस्तार गरेर गाँउपालिका स्तरसम्म पुग्न सकिए जनस्तरबाट पुँजीलाई एकिकृत गरी नेपालको ठूला विकास निर्माणका आयोजनाहरुमा पुँजी जुटाउन सकिनेछ ।

२) मुलुकको औद्यौगिक तथा उत्पादन क्षेत्रमा कोभिड–१९ को गम्भीर प्रभाव पर्ने देखिन्छ जसले गर्दा यस क्षेत्रलाई उकास्न थप पुँजी परिचालन गर्नुपर्ने हुन सक्छ र त्यसका लागी पुँजी बजारमा वास्तविक क्षेत्रका कम्पनीहरुलाई सार्वजनिक निष्काशन मार्फत पुँजी बजारमा प्रवेश गराई पुँजी बजारको दायरा थप विस्तार गर्न सकिन्छ ।

३) मुलुकमा अहिले संघीयता कार्यन्वयन भई प्रदेश, नगरपालिका र गाँउपालिकाहरुको संरचना स्थापित भईसकेको अवस्थामा पुँजी बजारमार्फत स्थानीय सरकारी ऋणपत्रहरु जारी गरी स्थानिय स्तरबाट पुँजी संकलन गरी विभिन्न पूर्वाधार विकास निर्माणका आयोजनाहरुमा परिचालन गर्न सकिन्छ । जसले गर्दा मुलुकमा थप रोजगारी समेत सृजना हुन सक्छ ।

४) कोभिड–१९ माहामारीले उत्पन्न गर्ने विषम आर्थिक संकटको समयमा आम लगानीकर्ता नागरिकहरुको पुँजी बजारप्रतिको आकर्षणलाई कमि हुन नदिई थप आकर्षित गराउँदै अर्थतन्त्रको व्यवसायीकरण तथा औद्योगिकीकरणका लागी दीर्घकालीन पुँजी निर्माण गर्न सकिन्छ ।

५) कोरोना भाइरसको माहामारीबाट मुलुकको अर्थतन्त्रलाई टेवा दिनको लागी पुँजी बजारमा गैरआवसीय नेपालीहरुको लगानी भित्र्याउनलाई विशेष कानुनी व्यवस्था गरीनुपर्छ र सुदृढ पुँजी बजारको विकास गर्दै विदेशी लगानीहरुलाई पनि भित्र्याउन सके कृषि, औद्योगिक तथा उत्पादनको क्षेत्रमा दीर्घकालिन पुँजी निर्माणको एउटा महत्वपूर्ण अवसर हुन सक्दथ्यो ।

६) कोरोना भाइरसको माहामारीले विश्वका हरेक मुलुकले आफ्नो स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै विदेशी परनिर्भर हुनु हुदैन् भन्ने पाठ सिकाएको छ । यसै सन्दर्भमा नेपालको दिगो आर्थिक विकासमा अबका दिनमा कृषि उत्पादनले महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ र यस क्षेत्रमा नेपाली पुँजी बजारले विभिन्न वित्तीय उपकरणहरु जस्तै म्युचुअल फण्ड, भेञ्चर क्यापिटल, प्राइभेट इक्विटी फण्ड, कमोडिटी मार्केट, विशिष्टीकृत लगानी कोषमार्फत दीर्घकालिन पुँजी निर्माण गर्न सक्ने अवसरको रुपमा लिन सकिन्छ । साथै यस्ता उपकरणहरु मार्फत रेमिटेन्सको रुपमा भित्रिने पुँजीलाई समेत उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न सकिन्छ र यस्ता आर्थिक गतिविधीहरुले मुलुकको अर्थतन्त्रमा उत्पन्न हुने बेरोजागारीको समस्यालाई पनि केहि हदसम्म निवारण गर्न सकिने अवसरको रुपमा लिन सकिन्छ ।

अन्त्यमा:

नेपाली अर्थतन्त्रले विगतका बर्षहरुमा पनि आफ्नै देश भित्रको प्राकृतिक तथा राजनीतिक कारणहरुले गर्दा यस्ता धेरै संकटहरुको सामना गर्दै आएको इतिहास रहेको छ तर कोरोना भाईरसको कारणले छिमेकी तथा विश्वका अन्य देशहरुको अर्थतन्त्र नै धरमराएको अवस्था र नेपाली अर्थतन्त्र पनि विश्वको अर्थतन्त्रसंग प्रत्येक्ष सम्बन्ध राख्ने हुनाले नेपाली अर्थतन्त्रल ेएक अलग किसिमको चुनौतिको सामना गर्नुपर्ने देखिन्छ । तर, यस्ता चुनौतिहरुकाबिच मुलुक एउटा राजनीतिक स्थिरताको बाटो अघि बढीसकेको अवस्थामा मुलुकको कृषि, उत्पादन, औद्योगिक, विकास निर्माण, जनशक्ति जस्ता सम्पूर्ण स्रोत तथा साधनहरुको अधिकतम उपभोग गर्दै बैंक तथा वित्तीय, बिमा, पुँजी बजार जस्ता आर्थिक प्रणालीहरुलाई परिचालन गर्दै नेपाली अर्थतन्त्रलाई चलयमान बनाउन सकिन्छ । त्यसबाट देशको अर्थतन्त्रको एक नयाँ युगको शुरुवातमा अघि बढ्न सकिन्छ । 

लेखक एनआईबिएल एस क्यापिटलको खुलामुखी सामुहिक लगानी कोषको स्किम म्यानेजर हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved