के हो रमजान महिनाको सबैभन्दा पवित्र रात लैलतुल कद्र ? किन छ मुसलमानमा यसको महत्त्व ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 09, 2021 | 01:20:28 AM मा प्रकाशित

laxmi  sunrise bank

इस्लामिक पात्रोको रमजान महिनाको लैलतुल कद्र अर्थात प्राथनाको रात, मुसलमानहरुको लागि सबै भन्दा पवित्र रात। लैलतुल कद्रको रात यहि रात हो भन्ने यकिन छैन तर रमजान महिनाको अन्तिम दश मध्ये एउटा रात हो भन्ने सबै मुसलमानको विश्वास छ।  

रमजान महिनाको २७ औं रात लैलतुल कद्रको रात हो भन्ने कयौं मुसलमानहरुको विश्वास छ भने केहिले अन्तिम दश मध्ये कुनै एक बिजोर रात (अर्थात २१, २३, २५, २७ र २९ औं रात) लैलतुल कद्रको रात हो भन्ने विश्वास गर्छन्। 

यो रात नै लैलतुल कद्रको रात हो भन्नेबारे कसैसँग यसको वास्तविक प्रमाण छैन तर विश्वभरका मुसलमानहरुमा रमजान महिनाको अन्तिम दश रात मध्ये एउटा बिजोड रात लैलतुल कद्र को रात हो भन्नेमा एक मत छ। 

कुरानको सुरह २ बकरह १८५ बाट पनि स्पष्ट हुन्छ कि कद्रको रात रमजान महिनामै पर्छ। फेरी बिभिन्न हदिसहरु (अर्थात पैगम्बर मोहम्मद सलल्लाहू अलैही वसल्ल्मका भनाई समावेश भएका ६ वटा पवित्र पुस्तक-सहिअल बुखारी, सहि मुस्लिम, सुनन् अल निशा, सुनन् अबु दाउद, सुनन अल तिर्मिदी, सुनन् इब्ने माजाह) बाट स्पष्ट हुन्छ कि यो बिशेष रात रमजान महिनाका अन्तिम पाँच बिजोड रातहरु मध्येको एक रात हो। 

अन्तिम दश मध्ये एउटा रात नतोकिनुको उदेश्य यो पनि हुन सक्छ कि आस्थावानहरु यी पाँचवटै रातहरुमा जागेर अल्लाहको भक्ति गरुन। यद्दपी केहि पुस्तकहरुमा यो रात रमजानको सत्ताइसौं रात हो भन्ने संकेत पनि मिल्छ। तर पैगम्बर मोहम्मद सलल्लाहू अलैही वसल्ल्मले यो रातलाई रमजानको अन्तिम दश रातको बिजोड रातमा यो रातलाई खोज्नु भन्ने कुरा हदिस सहि बुखारी र सहि मुस्लिममा उल्लेख छ।  

कुरानमा समेत यो रातको महत्त्वबारे उल्लेख छ। कुरानमा सुरह अल् कद्र (९७:३) मा भनिएको छ, 'कद्रको रात हजार महिनाभन्दा पनि उत्तम छ।'  

अर्थात यस रातमा गरिएको उपासना एक हजार महिनाको उपासनाभन्दा उत्तम रहेको छ। एक हजार महिना ८३ बर्ष ४ महिनाको हुन्छ। यो रातलाई उम्मते मुहम्मदियामाथि अल्लाहको महान उपकारको रुपमा लिईन्छ। 

त्यसैले अधिकांश मुसलमानहरु रमजान महिनाको अन्तिम दश रात अतिरिक्त प्राथना गर्ने, कुरान तथा हदिस पढ्ने, कुरान र हदिसको दायरा भित्र रहेर लेखिएका बिभिन्न पवित्र पुस्तक पढ्ने लगायतका प्राथना गर्ने गर्दछन्।   

लैलतुल कद्र को रातलाई पहिलो पटक पैगम्बर मोहम्मद सलल्लाहू अलैही वसल्ल्मसँग कुरान पुगेको रातको रुपमा मानिन्छ। इस्लामिक शिक्षाअनुसार पैगम्बर मोहम्मद सलल्लाहू अलैही वसल्ल्म प्रत्येक बर्ष यस महिना हिरा नामको गुफामा प्राथना गर्नुहुन्थ्यो। यो गुफा साउदी अरबको मक्का शहर भन्दा बाहिर एउटा पहाडमा अवस्थित छ।  

गुफामा प्राथना गर्दै गरेको एउटा रातमा फरिस्ता जिब्रियल अलैहीस्लाम (अर्थात अल्लाहका संदेशबाहक) ले भ्रमण गरेर पैगम्बर मोहम्मद सलल्लाहू अलैही वसल्ल्मलाई कुरानको पहिलो आयात अर्थात कुरानको पहिलो श्लोक सुनाए भन्ने मुसलमानहरुको बिश्वास छ। 

उक्त रात पश्चात २३ बर्षको अवधि लगाएर फरिस्ता जिब्रियल अलैहीस्लामले पैगम्बर मोहम्मद सलल्लाहू अलैही वसल्ल्म समक्ष पूर्ण कुरान पुर्याए। हरेक बर्ष यहि रातको सम्झनामा विश्वभरका करोडौं मुसलमानहरु सामुहिक प्राथनामा भाग लिनलाई मस्जिद पुग्ने गर्दछन्। यतिमात्र नभई प्यालेस्टाइनमा अवस्थित (इस्लाम शिक्षाअनुसारको मक्का, मदिना पश्चात तेस्रो पवित्र स्थल) अल अक्सा मस्जिदमा दशौँ हजार मुसलमानहरु कयौं प्रतिबन्धका बावजुद  लैलतुल कद्र को बेला प्राथनाको लागि जाने गर्दछ्न्। 

कयौं बर्ष यता इजरायलको सेनाले प्यालेस्टाइनका ३० बर्ष माथिका महिला तथा ५० बर्ष माथिका पुरुषहरुलाई तेस्रो पवित्र स्थलको रुपमा लिईने अल अक्सा मस्जिदमा प्राथनाको लागि जेरुसलेम पुग्नको लागि उनीहरुले कब्जा गरेको वेष्ट बैंकबाट प्रवेश गर्नलाई अनुमती दिंदै आएका छन्। 

त्यस्तै मक्का र मदिनाका मुसलमानहरु तथा त्यहाँ बसोबास गर्दै आएका अन्य देशका मुसलमानहरु हजारौंको संख्यामा मक्काको  ठुलो मस्जिद तथा पैगम्बर मोहम्मद सलल्लाहू अलैही वसल्ल्मको मस्जिद भनेर चिनिने मदिना शहरमा अवस्थित मदिना मस्जिदमा प्राथनाको लागि भेला हुने गर्दछन्। इस्लामिक शिक्षाअनुसार मुसलमानहरुको लागि मक्का तथा मदिनाको मस्जिद दुई ठुला पवित्र मस्जिद हुन्। 

तर यो बर्ष कोरोना भाइरसको महामारीका कारण नेपाल लगायत बिश्व भरका अधिकांश मस्जिदहरु कयौं महिनादेखि बन्द गरिएका छन्।  सम्बन्धित देशको सरकारले कोरोना भाइरस जस्तो खतरनाक महामारी रोक्नको लागि लकडाउन, कर्फ्यु तथा अन्य क्रियाकलापमाथि प्रतिबन्ध लगाएका छन्। 

कोरोनाको महामारी रोक्नलाई गरिएको निषेधाज्ञा तथा लकडाउनका कारण प्रत्येक शुक्रबारको जुमाको नमाज, दिनको पाँच समयको नमाज झैँ लैलतुल कद्र को रातको प्राथनामा पनि प्रतिबन्ध लगाईएको छ। त्यसैले नेपाल लगायत बिश्वभरका अधिकांश मुसलमानहरुले घरबाटै लैलतुल कद्र को रातमा प्राथना गर्ने विश्वास छ। 

तर कोरोना भाइरसबाट कम प्रभावित भएको इरानका १८० भन्दा बढी शहर तथा गाउँमा पछिल्लो सातादेखि प्राथनासभा फेरी सुरु भएका छन्।  कयौं इरानीहरुले बिहिबार राति लैलतुल कद्र को रातलाई सम्झेर मस्जिद पुगेर नमाज, कुरान तथा हदिस तथा कुरान हदिसको दायरा भित्र रहेर लेखिएका पवित्र पुस्तकहरु पढ्ने तथा उपासना गरेका छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved