एचआईडिसीएलको २ करोड ३२ लाख कित्ता शेयर आजदेखि लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2022 | 08:34:49 AM मा प्रकाशित

laxmi  sunrise bank

हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले आज भदौ २० गतेदेखि संस्थापक शेयर फेरी लिलाममा ल्याएको छ ।  कम्पनीले यस अघि पटक पटक लिलाममा ल्याउदा बिक्रि नभएको २ करोड ३२ लाख ४ हजार ४ सय ९५ कित्ता संस्थापक शेयर लिलाममा ल्याएको हो। 

 यस लिलामीको शेयरमा असोज ४ गतेसम्म आवेदन दिन सकिने छ । यस शेयरमा जो कोहि लगानीकर्ताले आवेदन दिन पाउने भएपनि यो कम्पनीको संस्थापक् शेयर हो ।   कम्पनीको संस्थापक शेयर HIDCLP सिम्बलबाट र साधारण शेयर HIDCL सिम्बलबाट कारोबार हुने छ । 

कम्पनीका अनुसार बोलकबोल प्रकृयाद्वारा बिक्री गरिएको शेयर खरिद गर्ने शेयरधनीहरु समूह “क” को उप-समूह “क-२” अन्तर्गतको “अन्य संस्थापक” उप-समूहमा रहनेछन्। उक्त शेयर बाँडफाँट भई नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण भएपश्चात् “HIDCLP" सङ्केतमा कारोबार गर्न योग्य हुने छ र प्रबन्धपत्रको दफा ६ को खण्ड (छ) मा भएको व्यवस्था अनुसार नेपाल स्टक एक्सचेञ्ज मार्फत सो शेयर खरिद गर्ने शेयरधनीहरु समेत समूह “क” को उप-समूह “क-२” अन्तर्गतको “अन्य संस्थापक” उप-समूहमा नै रहनेछन्।

 उक्त शेयरमा आवेदन दिंदा नागरिकता प्रमाणपत्रको प्रतिलिपि र संस्थाले आवेदन दिने हकमा आवेदनको साथमा कम्पनी दर्ताको प्रमाणपत्रको प्रतिलिपि, प्यान नं. (PANNo.) र शेयर खरिद गर्ने सम्बन्धी माइन्यूट संलग्न गर्नु पर्नेछ । गुड फर चेक दिने लगानीकर्ताले चेक क्लियारिंग शुल्क पनि बुझाउनु पर्ने छ । आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि आवेदन दिनु पर्ने छ अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर लिलाम प्रक्रियाको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

आवेदन फारम ग्लोबल आइएमई क्यापीटल , नक्साल तथा ग्लोबल आइएमई बैंक लिमिटेडको शाखा कार्यालयहरू क्रमशः विर्तामोड , हनुमानदास रोड, - विराटनगर, जनकपुर, आर्दशनगर-वीरगंज , हेटौडा , नारायणगढ , न्यूरोड-पोखरा, बुटवल-मिलनचोक, बाग्लुङ्ग, नेपालगंज-त्रिभुवन चोक ,  सुर्खेत, घोराही, दाङ, धनगढी र महेन्द्रनगर शाखाबाट लिन तथा बुझाउन सकिने छ ।

कम्पनीले यस अघि साउन १५ गतेदेखि साउन २९ गतेसम्म २ करोड ७८ लाख ९ हजार ४ सय ८०  कित्ता संस्थापक शेयर लिलाममा ल्याएको थियो ।  तर उक्त लिलामीको शेयरमा केवल ४६ लाख ४ हजार ९ सय ८५ कित्ता शेयरको लागि आवेदन परेको थियो । उक्त लिलामीको कट अफ मूल्य १०० रुपैयाँ नै कायम भएको छ ।  अर्थात् १०० रुपैयाँमा आवेदन दिने सबैले शेयर पाएका छन्।  लिलामीको शेयरमा न्युनतम १०० रुपैयाँ कबुल गर्नु पर्ने ब्यबस्था रहेकोमा १०० रुपैयाँ र सो भन्दा माथि कबुल गर्ने सबैले शेयर पाएका छन् । 
 
कम्पनीले हकप्रद निष्काशन गर्दा संस्थापक तर्फको ३ करोड ३० लाख कित्ता शेयर बिक्रि भएको थिएँन । लिलामी गर्दा पनि ति संस्थापक शेयरको लागि आवेदन परेको थिएन।

कम्पनीले १:१ को अनुपातमा शत प्रतिशत हकप्रद निष्काशन गरेको थियो। कम्पनीमा अर्थ मन्त्रालयको २० प्रतिशत, उर्जा मन्त्रालयको १० प्रतिशत, कानुन मन्त्रालयको १० प्रतिशत, महालेखा नियन्त्रक कार्यालयको १० प्रतिशत, कर्मचारी संचय कोषको १० प्रतिशत, राष्ट्रिय बीमा संस्थानको १० प्रतिशत, नागरिक लगनी कोषको १० प्रतिशत र सर्बसाधारणको २० प्रतिशत शेयर लगानी रहेको छ । तर कर्मचारी संचय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बीमा कोषले  हकप्रद नलिएका हुन् । यी ३ संस्थासंग कम्पनीको कुल ३० प्रतिशत शेयर स्वामित्व रहेको छ । उनीहरुले खरिद गर्न अस्विकार गरेपछि ३ करोड ३० लाख कित्ता शेयर बिक्रि नभएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved