काठमाडौँमा ट्याक्सीको विजोक

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 26, 2021 | 12:36:03 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँमा ट्याक्सी चालकहरुको पीडा खपिनसक्नुको छ । उपत्यकामा सार्वजनिक सवारी सरह नै ट्याक्सीहरु गुड्छन् । उपत्यकामा चल्ने धेरैजसो ट्याक्सीहरुको मुख्य ‘टार्गेट’ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र ठमेल क्षेत्र पर्दछ । 

बाह्य पर्यटकहरु सम्बन्धित ट्राभल कम्पनीको प्याकेज अनुसार आउने भएकाले ट्याक्सी वालाहरुले बोक्न पाउने कुरै भएन । त्यसैले उनीहरुका मुख्य ग्राहक आन्तरिक पर्यटकहरु हुन् । तर, कोरोना भाइरसका कारण विमानस्थल हुँदै ओहोर दोहोर गर्ने यात्रुहरु घट्दा विमानस्थल परिसरमा यात्रु कुरेर बसेका ट्याक्सीहरुले मुस्किलले एकाध ग्राहक भेट्छन् ।

उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाज र अन्य ट्याक्सी सम्बन्ध संघसंस्थामा ५ हजार बढी ट्याक्सीहरु आवद्ध छन् । यीमध्ये ८० प्रतिशत आफैँ चालक र आफैँ साहु छन् । उनीहरुसँग २० हजार बढी जनसंख्या आश्रित छन् । तर, कोभिडका कारण लामो समय ट्याक्सी नचल्दा र अहिले ग्राहक नहुँदा आफूहरु मर्कामा परेको ट्याक्सी चालक दिलिप कुमार श्रेष्ठको गुनासो छ ।

विमानस्थलमा विजोक

‘बिहान झिसमिसेमै ट्याक्सी लिएर एयपोर्ट तिर निस्कन्छु, तर दिउँसो १२ बजेसम्म पनि एउटा टिप लाग्दैन’ श्रेष्ठ भन्छन्, ‘१२ बज्दा पेटमा एक कप चियाबाहेक अरु केही परेको हुँदैन, खाना खान होटल जाउ भने कमाई छैन, कोठा जाउ भने बालाजु बोहोराटार पुगुन्जेलसम्म एउटा टिप लागिहाल्छ कि भन्ने आश पनि हुन्छ । कयौँ दिन त आशैआशमा पनि बितेका छन् ।’

विमानस्थलको आन्तरिक टर्मिनल नजिकै खचाखच ट्याक्सीहरु देखिन्छन् । विभिन्न ठाउँबाट काठमाडौँ आउने यात्रुहरु ट्याक्सी चढ्नभन्दा ५ मिनेट हिडेर विमानस्थल गेटमा आउने र त्यहाँबाट सार्वजनिक सवारी चढेर गन्तव्यमा पुग्ने गरेका छन् । तर, अहिले विमानस्थलमा ‘बाइक सर्भिस’ को नाममा मोटरसाइकलहरु पनि यात्रु पर्खेर बस्ने गरेका छन् । 

‘मानौँ जनकपूरबाट प्लेनमा एउटा मान्छे काठमाडौँ आयो, उ ट्याक्सी पार्किङ वे बाटै हिड्दै आउने हो, ट्याक्सी खोजिरहेको पनि हुन्छ । तर, ट्याक्सी खोज्दै गर्दा त्यही भएको मोटरसाइकलवालाले बाइक सर्भिस सर भन्दिन्छ । त्यो मान्छे ट्याक्सीको सट्टा बाइकमा चढेर जान्छ’ विमानस्थल परिसरमा भेटिएका एक जना ट्याक्सी चालकले भने ।

बाइक सर्भिसले नागरिकलाई सुविधा हुने भएपनि आफूहरुको रोजिरोटी खोसिने चिन्ता थपिएको ती चालकले गुनासो गरे ।

‘किस्ता तिर्नै धौ धौँ’

एयरपोर्टमा यात्रु कुरेर बस्ने ट्याक्सीको संख्या १५ सयभन्दा बढी छ । ठमेलमा हजार बढी ट्याक्सी भौतारिरहेका हुन्छन् । विभिन्न अस्पतालको गेट नजिक पालैपालो यात्रु बोक्ने गरी चालकहरुले पालो प्रणाली पनि सुरु गरेका छन् ।

तर, मुस्किलले दैनिक १५ सयदेखि २ हजार रुपैयाँ कमाई हुँदा परिवार पाल्न र ट्याक्सीको किस्ता तिर्नै धौ धौ भएको ट्याक्सी चालक राजकुमार लिम्बुको गुनासो छ । 

‘२ हजार कमाई हुँदा ७/८ सयको तेल नै जान्छ, काठमाडौँको जाम यही हो’ लिम्बु भन्छन्, ‘कोरोनाले असर पारेको भनेर सार्वजनिक यातायातको क्षेत्रलाई पनि सहुलियत ऋण जस्ता कुराहरु आएको सुनियो, तर ट्याक्सीको विषयमा कहीँ कतै केही सुनुवाई भएन । गरिखाने अवस्था नहुँदा विकल्प के अपनाउने भनेर सोच्नै सकेको छैन ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved