विद्युतीय गाडीः क्षमता जाँच्न उकालोमा चलाइन्छ, विभाग भन्छ, ‘अब उपकरण किन्छौँ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2021 | 09:08:43 AM मा प्रकाशित

laxmi  sunrise bank

विद्युतीय सवारीसाधन जाँच्ने उपकरण खरिदको प्रक्रिया अघि बढेको छ । यातायात व्यवस्था विभाग अन्तर्गतको सवारी जाँचपास केन्द्रले विद्युतीय सवारीसाधन जाँच्ने उपकरण किन्ने भएको हो । विद्युतीय सवारी साधनलाई सरकारले प्रोत्साहनको नीति लिएपछि बिक्रेता र क्रेताहरु यस्ता सवारीमा आकर्षित भएसँगै केन्द्रले विद्युतीय सवारी जाँच्ने उपकरण ल्याउन लागेको हो ।

दुई पाङ्ग्रे र चार पाङ्ग्रे विद्युतीय सवारीको जाँच गर्न उपकरण ल्याउन लागिएको केन्द्रका प्रमुख रामचन्द्र पौडेल बताउँछन् । उपकरणमार्फत विद्युतीय सवारी साधनको क्षमता जाँच गरिनेछ । अधिकतम र न्यूनतम गति, उकालो तान्न सक्ने क्षमता र गुड्न सुरु भएपछिको पावर जाँच गर्न सकिने उपकरणहरु खरिद गर्न लागिएको केन्द्रले जनाएको छ । 

कहिलेसम्म आइपुग्छन् ?

त्यस्ता उपकरण खरिदका लागि केन्द्रले ठेक्का सम्झौता गरिसकेको छ । आगामी वैशाखसम्ममा उपकरण नेपाल ल्याईपुर्याउने योजनामा आफूहरु रहेको केन्द्रका प्रमुख पौडेल बताउँछन् । बैशाखसम्म ल्याईपुर्याउने र आगामी आर्थिक वर्षको सुरु (साउन) देखि सञ्चालन गर्ने केन्द्रको लक्ष्य छ । 

अहिले विद्युतीय सवारीको जाँच म्यानुअल रुपमा हुँदै आएको छ । यसलाई प्रविधिमै राखेर परीक्षण गर्नुपर्ने आवश्यकता महशुस गरेर उपकरण ल्याउन लागिएको यातायात व्यवस्था विभाग बताउँछ । 

‘अहिले आँखाले हेरेको भरमा जाँच हुँदै आएको छ, अब उपकरण ल्याएर परीक्षण गरिने भएपछि नेपालमा आयात भएका विद्युतीय सवारी साधनहरु हाम्रो सडक अनुसारका छन् कि छैनन् भन्ने थाहा हुन्छ’ केन्द्र स्रोतले भन्यो ।

भन्सारबाट आएका विद्युतीय गाडी हाम्रा सडकमा गुडाउन मिल्छ वा हुन्छ भनेर केन्द्रले प्रमाणित गरेपछि मात्रै विभागमा दर्ता हुने गरी व्यवस्था मिलाउन लागिएको छ । 

अहिले कसरी हुन्छ जाँच ?

अहिले विद्युतीय सवारीको जाँच आँखाले हेरेर गरिन्छ । उकालो कतिसम्म तान्न सक्छ भनेर काठमाडौँका विभिन्न उकालो सडक भएका ठाउँमा लगेर चलाएर परीक्षण गरिँदै आएको छ । यसले वास्तविक क्षमता थाहा नहुने देखेर केन्द्रले उपकरण ल्याउन लागेको हो ।

विद्युतीय सवारी साधन बिक्रेताहरुले पनि उपकरण आवश्यक रहेको बताउँदै आएका छन् । 

‘सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने भनेको छ, तर जाँच गर्ने मेशिन छैन’ एक जना बिक्रेताले भने, ‘अहिलेको मोर्डन युगमा पनि गाडीको परीक्षण उकालोमा चलाएर गर्नु परेको छ, यो दुर्भाग्य हो ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved