लाइसेन्समा नयाँ नियम: चारपांग्रेको ट्रायलमा ७० नम्बर ल्याए लाइसेन्स !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2021 | 08:38:43 PM मा प्रकाशित

laxmi  sunrise bank

चारपांग्रे गाडीको चालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा सहज हुने भएको छ। जेठ १ देखि सामान्य गल्ति भएपनि फेल नहुने व्यवस्था लागू हुनेभएसंगै चारपांग्रे गाडीको लाइसेन्स लिन सहज हुने भएको हो। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागकाअनुसार कार, जिप, भ्यानलगायतका चारपांग्रे गाडीको ट्रायल परीक्षाको मूल्यांकन आधार परिवर्तन गरिएको छ। कुल १०० पूर्णाङ्कमा विभाजन गरिएको ट्रायलमा पास हुनका लागि ७० अंक ल्याएमात्रै पुग्नेछ।

सवारी चालक अनुमति–पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ मा अनुमतिपत्रको ‘क’ वर्गका दुईपांग्रे मोटरसाइकल, स्कुटर तथा मोपेड (ङ वर्गका समेत) र ‘ख’ वर्गका चारपांग्रे कार, जिप, डेलिभरी भ्यानलगायतमा प्रयोगात्मक परीक्षा अर्थात् ट्रायलमा ७० अंक ल्याएमात्रै पास हुने व्यवस्था गरिएको हो।

नयाँ निर्देशिकामा लिखित परीक्षाको लागि ५ सय वस्तुगत बहुउत्तरको प्रश्न संग्रह प्रकाशन गर्ने र उक्त संग्रहबाट मात्र सम्बन्धित कार्यालयले लिखित परीक्षाको प्रश्नपत्र तयार गर्नुपर्ने व्यवस्था गरिएको छ। जसअनुसार अबदेखि लिखित परीक्षा ३० मिनेटको हुनेछ। जसमा परीक्षार्थीले ८० अंक ल्याए उत्तीर्ण हुनेछन्। 

प्रयोगात्मक परीक्षामा प्रयोग हुने सवारीसाधन आफैँले व्यवस्था गर्न पाइने भएको छ। तर यसका लागि निश्चित मापदण्ड तोकिएको छ। जसअनुसार परीक्षामा प्रयोग हुने कार, जिप वा भ्यान पेट्रोल, डिजेल वा ग्यासबाट चल्ने हुनुपर्छ भने गाडी कम्तीमा ७५० सि।सि भएको हुनुपर्नेछ।

गाडीको ह्विल बेस कम्तीमा २३ सय मि।मि भएको, लम्बाइ ३३ सय मि।मि, चौडाइ १४५० मि।मि र उचाइ १४५० मि।मि भएको हुनुपर्छ। गाडीमा म्यानुअल ट्रान्समिसन प्रणाली भएको, सवारीमा हिल होल्ड, हिल एसिस्ट वा समान प्रकृतिको प्रणाली जडान नभएको हुनुपर्नेछ।

ट्रायल अगाडि प्राविधिक निरीक्षकले इन्धन, ब्रेक, ट्रान्समिसन प्रणाली, बत्ती, टायर, पछाडिको दृश्य देखिने रियर भ्यू क्यामेरा जडान नभएको हुनुपर्नेछ। रियर भ्यु क्यामेरा जडान भएको भए परीक्षा अवधिभर अपारदर्शी कागज वा कपडाले छोप्नुपर्ने निर्देशिकामा उल्लेख छ।

चारपांग्रे गाडीको ट्रायलमा पास हुनको लागि ७ वटा चरण पार गर्नुपर्नेछ। घुमाउरो आठ परीक्षण, स्पिड ब्रेकर, घुम्ती अर्थात् यु–टर्न परीक्षण, ट्राफिक लाइट परीक्षण, उकालो परीक्षण, ग्यारेज पार्किङ परीक्षण र व्यवहारगत पक्षको समग्र परीक्षण हुनेछ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved