अटो बजारः अभावकै बीचमा मूल्य बढ्दो, कुन गाडीको भाउ कति पुग्यो ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 15, 2021 | 01:41:06 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसका कारण विश्व भरीकै अर्थतन्त्र धराशायी छ । विश्वको ठूलो अर्थतन्त्र मध्येको एक भएको भारतको अर्थतन्त्र पनि कोरोनाले थिलथिलो बनायो । यसको सोझो प्रभाव नेपालमा पनि परेको छ । 

कोभिडको प्रभाव केही कम भएपछि भारतले उद्योगहरु सञ्चालन गरेपनि भारतमा आश्रित नेपालको अटोमोबाइल्स बजार अझै अपेक्षा अनुसार लयमा फर्किसकेको छैन । महामारीको समयमा सार्वजनिक सवारी नचल्दा नीजि सवारीको आवश्यकता थप महशुस भएर माग बढेपनि माग अनुसार आपुर्ति गर्न नसकिएको अटो व्यवसायीहरु बताउँछन् ।

अभाव हुनुको कारण के ?

एक त भारतको उत्पादनले भारतीय बजार माग पूरा गर्न धौ धौ परिरहेको र अर्को भारतले गाडीको स्ट्याण्डर्ड पनि बढाएका कारण नेपालमा माग अनुसार गाडीको उपलब्धता हुन नसकेको नाडा अटोमोबाइल्स डिलर्स एसोसियसनका सचिव अनुप बराल बताउँछन् ।

भारत स्ट्यान्डर्ड (बीएस) ६ मापदण्ड अनुसार भारतले गाडी उत्पादन गर्न थालेपछि यो उत्पादन अहिलेलाई भारतको बजार माग अनुसार मात्रै हुँदै आएकाले नेपालमा गाडीको अभाव भएको व्यवसायीको भनाई छ । 

‘अहिले अर्डर धेरै बढेको छ तर, हामीले अर्डर लिन सक्ने अवस्था छैन’ बराल भन्छन्, ‘अर्डर लियो ३ महिना ४ महिनासम्म गाडी आईपुग्दैन । नेपालमा कोभिड अगाडीको तुलनामा इन्क्वायरी बढेपनि ४ पांग्रेको बिक्रि भने ज्यादै कम छ ।’

उनी थप्छन्, ‘सबैको पहिलो प्राथमिकता भनेको डोमेस्टिक बजार नै हो, स्थानीय बजारको माग पूरा गरेपछि अन्तराष्ट्रिय बजारमा बस्तु पठाउने हो । भारतको हकमा त्यहाँ पनि उद्योगहरु फूल क्यापासीटीमा चल्न पाएनन् होला । कच्चा पदार्थ दिने पार्टीले आवश्यकता अनुसार कच्चा पदार्थ दिन सकेन होला । यसका पछाडी यी धेरै कुराहरु हुन सक्छन् ।’

‘गाडी पनि महँगा भए’

भारतमा यसअघि बीएस–४ मापदण्डमा गाडी उत्पादन हुन्थे । तर, अहिले बीएस ६ मापदण्ड सुरु भएपछि उत्पादन लागत नै बढेको छ । यसको असर नेपाली बजारमा परेको नेपाली व्यवसायीहरु बताउँछन् ।

कम्पनीमा नै उत्पादन लागत बढी हुने भएकाले भारतीय बजारबाट आयात गरेर नेपालमा गाडी ल्याएर बेच्दा भाउ पनि बढेकोे व्यवसायीको भनाइ छ । भारत मात्रै नभई अन्तराष्ट्रिय बजारमा नै गाडी उत्पादनका कच्चा पदार्थको भाउ बढेकोले उत्पादक कम्पनीले नै तयारी गाडीको भाउ बढाएका छन् । 

भारतमा मूल्य बढिसक्दा पनि नेपालमा मूल्य नबढेको तर, अब अप्रिलबाट आउने गाडीको भने भाउ बढ्ने बरालको भनाई छ ।

‘भारतमा स्टिलको मूल्य ४० प्रतिशतसम्म बढेको छ, सुरक्षाका हिसाबले बीएस ६ कै मोडलका गाडी उत्पादन गर्नुपर्ने भयो’ उनले भने, ‘भाउ बढ्नुमा लजिकल कारण नै छ, अरु छैन ।’

कुन गाडीको मूल्य कति बढ्यो ?

नेपाली बजारमा गाडीको मूल्य कम्तिमा ५० हजार बढेको छ । नेपालमा धेरै बिक्रि हुने मध्येको निशान गाडीको आधिकारीक विक्रेता पायोनियर मोटोकर्पले टर्बो सेग्मेन्टको म्याग्नाइट टर्बो भेरियन्टको मूल्य ५० हजार रुपैयाँ बढाएर २९ लाख ४९ हजार कायम गरेको छ ।

फोर्ड कम्पनीको फ्रि स्टाइल १.२ टाइटानियमको मूल्य ५० हजारले बढेर ३४ लाख ९० हजार पुगेको छ । टाटाले पनि आफ्ना गाडीमा न्यूनतम ५ प्रतिशत मूल्य बढेको बताएको छ ।

नेपालमा सर्वाधिक बिक्रि हुने हुण्डाईका गाडीको भाउ पनि न्युनतम् ६० हजारदेखि २ लाखसम्म बढेको छ । हुण्डाइ गाडीको नेपालस्थित बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका अनुसार क्रेटा गाडीमा २ लाखसम्म मूल्य बढेको छ । ग्राण्ड स्यान्ट्रो र ग्राण्ड आइ–१० नियोसको भाउ ६० हजार र न्यू क्रेटाको भाउ २ लाख रुपैयाँ बढेको छ । स्यान्ट्रो २४ लाख ५६ हजार, ग्राण्ड आइ–१० नियोस ३१ लाख ५६ हजार र न्यू क्रेटा ४७ लाख ५६ हजार रुपैयाँमा बिक्रि भईरहेको छ ।

भीआईपी मानिने टोयोटा गाडीको मूल्य ४ लाख बढेको छ । टोयोटा गाडीको बिक्रेता युनाइटेड ट्रेडर्सले हाइलक्स २८ सय सीसीको ४ लाख र हाइलक्स २४ सय सीसीको पनि ४ लाख रुपैयाँ भाउ बढाएको छ । हाइलक्स २८ सय सीसीको गाडीको मूल्य नेपाली बजारमा १ करोड ९ लाख र हाइलक्स २४ सय सीसीको ९५ लाख पुगेको छ ।

सिजी मोटोक्रपले बिक्रि गर्दै आएको ब्रेजा गाडीको भाउ पनि १ लाख ८० हजार रुपैयाँ बढेको छ । तर, कम्पनीले यसमा उपभोक्तालाई धेरै महँगो अनुभव नहोस् भनेर विभिन्न स्किम दिँदै आएको छ ।

‘खासै धेरै भाउ बढेको भन्न मिल्दैन, भारतमा २५ हजार बढ्यो भने पनि नेपालमा करको कारणले १ लाख २५ हजार बढ्छ’ अनुप बरालले भने ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved