नेपालमा बनेको ‘यात्री बाइक’ को मूल्य १९ लाख कसरी ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 28, 2021 | 03:09:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा निर्मित इलेक्ट्रीक मोटरसाइकल ‘यात्री’ सार्वजनिक भएको छ । गत शुक्रबार सार्वजनिक भएको यात्री मोटरसाइकल अहिले मूल्यका कारण आलोचित भईरहेको छ । सामाजिक सञ्जालमा यात्रीको मूल्यलाई लिएर निकै आलोचना भईरहेको छ ।

हुन पनि नेपाली बजारमा चल्तीमा रहेका मोटरसाइकलभन्दा यसको मूल्य निकै महँगो छ । व्यवसायिक रुपमा नै उत्पादन गरेर बजारमा बिक्रि गर्नका लागि यात्रीले सार्वजनिक गरेको ‘पी १’ मोडलको बाइकको मूल्य ४ लाख ९५ हजार र व्यवसायिक रुपमा उत्पादन गर्ने नभई नेपाली इन्जिनियरको क्षमता देखाउन उत्पादन गरिएको ‘पी ०’ को मूल्य १९ लाख ४९ हजार निर्धारण गरिएको छ ।

२०७६ पुसमा पहिलो पटक सार्वजनिक हुँदा चौतर्फी तारिफ बटुलेको यो बाइकको मूल्य त्यतिबेला सार्वजनिक भएको थिएन । 

किन भयो महँगो ?

‘पी १’ को ४ लाख ९५ हजारमा खासै धेरै आलोचना नभएपनि ‘पी ०’ को १९ लाख ४९ हजार भने निकै धेरै महँगो भएको टिप्पणी हुने गरेको छ । तर,  यात्री मोटरसाइकल कम्पनीका सीईओ बत्सल पाण्डे भने यो बाइक ५० वटा मात्रै हुने भएको र यसमा आफूहरुले सबै ‘इफोर्ट’ लगाएकाले महँगो हुन पुगेको बताउँछन् ।

‘हामीले नेपालमा पनि क्वालिटीको बाइक बन्छ भनेर देखाउन यो बाइक बनाएका हौँ’ पाण्डे भन्छन्, ‘हामीले कमर्शीयल रुपमा बजारमा बेच्न बनाएका होइनौँ, यो बाइक हाम्रो क्षमता देखाउन बनाएका हौँ, हामी म्याक्सिमम ५० वटा मात्रै यो मोडलको बाइक बनाउँछौँ ।’

‘यहाँ महँगो भनिन्छ, तर अमेरिकाको जिरो बाइक अलमोस्ट यही फिचरको हो, त्यसको भन्दा हामीले बनाएको बाइक ५ लाख सस्तो छ’ पाण्डे थप्छन्, ‘बिदेशमा बनेका यही लेवलका बाइकसँग हामीले बनाएको बाइक तुलना होस् अनि महँगो रहेछ कि सस्तो रहेछ भन्ने कुरा थाहा हुन्छ ।’

यो बाइक ज्योति ग्रुपका कार्यकारी निर्देशक सौरभ ज्योतिले अर्डर गरिसकेका छन् । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहले पनि अवलोकन गर्ने, टेष्ट ड्राइभ गर्ने र चित्त बुझे खरिद गर्ने बताएका छन् ।

‘यो क्लासिक मोडल हो, प्रिमियम इलेक्ट्रिक बाइक मन पराउनेलाई लक्षित गरेर यो बाइक बनाएका हौँ’ पाण्डे भन्छन्, ‘कमर्शीयल रूपमा बेच्ने हाम्रो प्लान होइन ।’

‘पी–१ व्यवसायिक रुपमा उत्पादन गर्छौ’

नयाँ मोडल पी–१ भने रेगुलर मोडलको रुपमा उत्पादन गर्ने कम्पनीले बताएको छ । आगामी ६ महिनामा अझै सस्तो बाइक सार्वजनिक गरिने सीईओ पाण्डेको भनाई छ । 

ललितपूरको झम्सिखेलमा शोरुम राख्ने कम्पनीको तयारी छ । यो बाइकको अर्डर पनि निकै राम्रो रहेको र बजार माग अनुसार आफूहरुले उत्पादन पनि गरिरहने सीईओ पाण्डे बताउँछन् । 

स्पेयर पार्टस पनि स्वदेशमै उत्पादन

कम्पनीले विदेशबाट पार्टपूर्जा खरिद गरेर ल्याएर यहाँ ‘एलेम्बल’ गरेर बाइक उत्पादन गरेको होइन । अमेरिकाबाट एउटा मेशिन ल्याएर बाइकका सबै स्पेयर पार्टस् यही उत्पादन गरिएको कम्पनीले जनाएको छ ।

‘हामी मात्रै नभई स्पेयर पार्टस पनि यही उत्पादन गर्ने हो’ पाण्डेले भने, ‘स्वदेशी उत्पादनप्रति मानिसहरुको मोह बढाउने हाम्रो अभियान हो, विदेशबाट आएका बाइकहरु मात्रै राम्रा हुन्छन्, स्तरीय हुन्छन् भन्ने आम मानिसको सोच बदल्नुपर्ने छ ।’

ब्याट्रि पनि आफूहरुले यही बनाएको उनको भनाई छ ।

पी–१ का फिचर

यात्रीको नयाँ मोटरसाइकल पी–१ मा रहेको मोटरले १९ हर्सपावर तथा ९० एनएम टर्क जेनेरेट गर्छ । यसको टप स्पीड १०० किलोमिटर प्रतिघण्टा रहेको छ । 

एड्भेञ्चर मोडल पी–१ मा ८ किलोवाट क्षमताको ब्याट्री प्रयोग गएिको छ, जसले फुलचार्ज गर्दा २ सय ३० किलोमिटर माइलेज दिन्छ । यो मोटरसाइकललाई सिङ्गल चार्जमा काठमाडौंदेखि पोखरासम्म पुग्न सकियोस् भन्ने सोचअनुरुप डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले ‘पी–१’ २०२१ भित्र १ हजार युनिट बेच्ने लक्ष्य राखेको छ ।

पी–० का विशेषता

‘पी–०’ ले भने ४८ किलोवाटको पावर दिन्छ भने २ दशमलव ५ सेकेन्डभन्दा कम समयमा ६० किलोमिटर प्रतिघण्टाको रफ्तारमा पुग्न सक्ने पाण्डेको दाबी छ । १ सय ४० किलोमिटर प्रतिघण्टाको रफ्तारमा गुड्न सक्ने यो मोटरसाइकलले ६ सय ५० एनएम दिन्छ । यसलाई चार्ज गर्न २ घण्टाभन्दा कम समय लाग्ने कम्पनीले जनाएको छ । 

यसमा ७  इन्चको टच स्क्रिन छ । जसमा फोरजी सिमकार्ड इन्बिल्ट छ जसमा ठेगाना राखेर जीपीएस नेभिगेसन फलो गरेर ठाउँ पत्ता लगाउन सकिन्छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved