
 2mb (1).gif)
विद्युतीय सवारी सधानमा लाग्दै आएको अन्तःशुल्क खारेज भएपछि अहिले इलेक्ट्रिक कारको भाउ ह्वात्तै घटेको छ । इलेक्ट्रिक कार बिक्रेता कम्पनीहरुले नयाँ मूल्य सार्वजनिक पनि गरिसकेका छन् ।
तर, निजी सवारी नेपालमा आवश्यकता नै भईसकेपनि उपभोक्ताहरु इलेक्ट्रिक सवारीप्रति पूर्ण विश्वस्त हुन भने सकिरहेका छैनन् । यसको कारण हो, चार्जिङ स्टेशन । नेपालमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने भनिएपनि चार्जिङ स्टेशन नहुँदा घरमै चार्ज गर्नुपर्ने बाध्यता छ ।
मल्टि चार्जिङ स्टेशन आवश्यक
नाडा अटोमोबाइल्स डिलर्स एसोसियसनका सचिवसमेत रहेका नारायणी अटो विजनेश प्रा.ली. का प्रवन्ध निर्देशक अनुप बराल पूर्वाधार निर्माण नभई प्राविधिक रुपमा भएको घोषणाले खासै अर्थ नराख्ने बताउँछन् ।
‘चार्जिङ स्टेशन बिना विद्युतीय सवारीको प्रयोग बढ्दैन, त्यसैले प्राविधिक मात्रै नभई पूर्वाधारको पनि निर्माण हुनुपर्छ’ नाडाको प्रचार–प्रसार समितिका सभापतिसमेत रहेका बराल भन्छन्, ‘यो वर्कसप बनाए जस्तो होइन, मल्टि चार्जिङ स्टेशन बन्नुपर्छ । सुजुकीको मात्रै गाडी चार्ज हुने स्टेशन भएर भएन, हुण्डाई, किया लगायत सबै कम्पनीका गाडी चार्ज हुने स्टेशन बन्नुपर्छ ।’
उनले विद्युतीय गाडी लिएर पूर्व पश्चिम जता पनि पुग्न सक्ने वातावरण नबन्दासम्म जति नै प्रोत्साहन गर्छु भनेपनि सम्भव नरहेको बताएका छन् । ठाउँ ठाउँमा चार्जिङ स्टेशन बनाएर चार्ज सकिने संकेत थाहा पाउनासाथ गाडी चार्ज गर्न सकिने व्यवस्था भए मात्रै विद्युतीय सवारीमा सरकारले दिएको अन्तःशुल्क छुटको औचित्य हुने र विद्युतको आन्तरिक खपत पनि बढ्ने उनको भनाई छ ।
कहिले बन्छन् चार्जिङ स्टेशन ?
नेपाल विद्युत प्राधिकरणले पहिलो चरणमा ५० ठाउँमा चार्जिङ स्टेशन बनाउने बताएको थियो । सोही अनुसार अहिले चिनियाँ कम्पनीले चार्जिङ स्टेशनका लागि आवश्यक सामग्रीहरु उत्पादन गरिरहेको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाको भनाई छ ।
सातै प्रदेशका विभिन्न ५० ठाउँमा विद्युतीय सवारी साधनको चार्जिङ स्टेशनको आपूर्ति, जडान, परीक्षण, सञ्चालन र मर्मतसम्भारका लागि बैशाख १ गते ठेक्का सम्झौता भईसकेको छ । प्राधिकरणको विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना र अन्तराष्ट्रिय टेण्डरबाट छनोट भएको वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेड, जियाङ्सु, चीनबीच ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा (करबाहेक) ठेक्का सम्झौता भएको हो ।
एसियाली विकास बैंककोसहयोगमा निर्माण गर्न लागिएको चार्जिङ स्टेशन एक वर्षभित्रमा सक्ने गरी ठेक्का सम्झौता गरिएको छ ।
नेपाल विद्युत प्राधिकरणको विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजनाका आयोजना प्रमुख सागर ज्ञवालीका अनुसार प्राधिकरणले हरेक राजमार्गमा १ सय किलोमिटरको दूरीमा विद्युतीय सवारी साधन चार्जिङ स्टेशन राख्ने तयारी छ । १५० ठाउँमा चार्जिङ स्टेशन राख्न १७५ सम्भावित ठाउँहरु हेरिसकिएको ज्ञवालीले बिजपाटीलाई जानकारी दिएका छन् ।
अहिले ‘म्यापिङ’ को नजिता आउने क्रममा रहेकाले कुन कुन ठाउँमा चार्जिङ स्टेशन बन्छन् भन्ने यकिन भईनसकेको उनको भनाई छ । उद्यपी, सरकारी र अर्ध सरकारी ठाउँलाई पहिलो प्राथमिकतामा राखेर ठाउँ पक्का गरिने बताईएको छ ।
चालु आर्थिक वर्षभित्रै ८ प्रतिशत काम सक्ने लक्ष्य राखिएको भएपनि कोरोना भाइरसका कारण काम गर्न समस्या परेको प्राधिकरणले जनाएको छ । तर, चिनियाँ कम्पनीले पार्टपूर्जा उत्पादन गरिरहेकाले यहाँ ल्याएर जडान मात्रै गर्ने भएकाले चालु आ.व. भित्रै लक्ष्य अनुसारको ८ प्रतिशतको काम सकिने दाबी प्राधिकरणको छ ।
कहाँ कहाँ बन्दैछन् ?
चार्जिङ स्टेशन मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरुमा राखिने छ । काठमाडौं उपत्यकामा ७ वटा चार्जिङ स्टेशन राखिने छ ।
१ नं प्रदेशका झापाको दमक, भद्रपुर, कन्काई, मोरङको विराटनगर र सुनसरीको इटहरीमा गरी ५ वटा चार्जिङ स्टेशन बन्नेछन् । प्रदेश नं. २ को पर्साको विरगंञ्ज, बाराको सिमरा, रौतहटको चन्द्रनिगाहापुर, धनुषाको ढल्केबर तथा जनकपुरधाम, महोत्तरीको बर्दिबास र सप्तरीको राजविराज गरी ७ वटा चार्जिङ स्टेशन स्थापना गरिनेछ ।
बागमती प्रदेशको धादिङको मलेखुमा २, विपी राजमार्गको सिन्धुलीमा २ ठाउँमा, मकवानपुरको हेटौंडामा २ ठाउँमा, चितवनको भरतपुरमा २ तथा मुङलिन/कुरिनटारमा ४ र काभ्रेको बनेपामा एउटा गरी १३ वटा चार्जिङ स्टेशन बन्नेछन् ।
गण्डकी प्रदेशमा नवलपुर, तनहुँको दमौली, स्याङजामा १/१ र कास्कीको पोखरामा ३ ठाउँमा गरी ६ वटा चार्जिङ स्टेशन बन्नेछन् ।
लुम्बिनी प्रदेशमा बाँकेको नेपालगञ्जमा १, दाङको भालुवाङ तथा दाङमा १/१, रुपन्देहीको बुटवलमा १, नवलपरासीको बर्दघाट/सुनवलमा २ गरी ८ वटा चार्जिङ स्टेशन रहने छन् । कर्णाली प्रदेशमा सुर्खेतमा एउटा चार्जिङ सटेशन बन्नेछ । कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी र डडेल्धुरामा १/१ गरी सुदूरपश्चिममा ३ वटा चार्जिङ स्टेशन बन्ने भएका छन् ।
अहिले कति छन् चार्जिङ स्टेशन ?
अहिले नेपाल विद्युत प्राधिकरणको कार्यालय परिसरमा एउटा चार्जिङ छ । यो ‘डेमो’ को रुपमा राखिएको हो । यसबाहेक पूर्वपट्टि बर्दिबास र काठमाडौँबाट पश्चिततर्फ कुरिनटारमा चार्जिङ स्टेशन छ । कुरिनटारको स्टेशन विद्युतीय सवारी बिक्रेता किया मोटर्सले राखेको हो ।